क्षितिजले ल्याए भेडीकम्बल

काठमाडौं । साहित्यकार क्षितिज मगरद्वारा लिखित कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ बजारमा आएको छ । जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्वब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन् । उनले भनिन्, ‘दर्जनौ लडाइँमा हामीसँगै लड्यौं । पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो । अहिले कलम चलाउनुहुन्छ । दुःखी गरिबको पक्षमा कलम चलाइरहनुहोला ।’ नेपाली वर्गसंघर्षमा आफूहरु गुमनाम रहेको उल्लेख गर्दै केसी यस्ता पात्रको पक्षमा समेत कलम चलाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाली वर्ग संघर्षमा हामी गुमनाम छौं । हामीलाई पनि समेट्नुहोला ।’

लेखक नवीन विभासले भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको सुनाए । कथाहरु मगर संस्कृतिले सजिएकोसमेत उनको भनाई थियो । ‘यहाँ जेलबाङको भाषा छ । सिंगै जेलबाङ बोकेको छ। सबै पात्र त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ,’ उनले भने, ‘क्षितिज मगरका कथा मान्छेका कथा हुन ।’

साहित्यकार भावेश भुमरी लेखक क्षितिजले माओवादी जनयुद्धमा केन्द्रित कथा पुस्तकमा रहेको सुनाए । उनले भने, ‘जनयुद्ध अघिका कथाहरु माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ । पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन । त्यहाँभित्रका प्रेमका कुरा छन् । पात्र रोल्पाकै छ । परिवेश त्यतैका । शाही सेनाबाट प्रताडित भएपछि माओवादीमा लागेको कथाहरु छन् । ओहो म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ ।’

कथासंग्रहका भाषासम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरु सशक्त रहेको बताए । उनले ‘कथाहरुमा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन क्यारेक्टर बलियो बनाउनुपर्छ । कथा बनोटका आधारमा सबै सशक्त छन् । यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो ।’ प्रधानले कतै न कतै यसको चर्चा रहेको विचार व्यक्त गरे । उनले थपे, ‘जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रुपमा त यो भेडीकम्बलको प्वाल सशक्त लाग्छ ।’

लेखक क्षितिजले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । युद्धलाई अहिले पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाई थियो । उनले भने, ‘युद्धलाई दुई तरिकाले विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक । अर्को अति नकारात्मक । सत्ता बन्दुक हो । बिना बन्दुक सत्ता चल्दैन । हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् त ।’

प्रमुख अतिथिसमेत रहेका प्रा. केशव सुवेदीले कथाहरु कवितात्मक भएको बताए । ‘किताबमा कथाभन्दा धेरै कविता छ। कवितात्मक छ । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन,’ सुवेदीले भने, ‘रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ ।’

जनयुद्ध विद्रुपीकरण भएको भन्ने भनाईमा भने उनलाई पटक्कै चित्त बुझेनछ । राजनीतिलाई सरापेर कही नपुगिने तर्कसमेत उनले प्रस्तुत गरे । प्रकाशन संस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यस किसिमको साहित्य बजारमा आएको बताए । उनले भने, ‘कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो । विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन शुरु गरेका थियौ ।’ रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका थिए । कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरु (कविता संग्रह), सुनछहरीको ऐनामा (कथासंग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् । १९२ पृष्ठको कथासंग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया