क्रिकेट रंगशालाले सिकाएको पाठ

चार वर्षभित्र सम्पन्न गर्ने लक्षका साथ ०७५ फागुन १६ देखि चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम थालनी गरियो । चार वर्ष पुग्न अब एक महिना बाँकी छ, तर ३० प्रतिशतभन्दा काम भएको छैन । अहिलेसम्म करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको छ, तर थप आर्थिक स्रोतको आभावमा विगत डेड वर्षदेखि काम ठप्प छ । प्यारापिट बनाउनका लागि ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड पनि बिग्रिने क्रममा छन् । लाखौँ रुपैयाँ खर्चिएर लगाइएको दुबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ । रंगशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले ०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए । रंगशाला निर्माणका लागि रामपुर कृषि क्याम्पसको २० बिघा जग्गा भरतपुर महानगरपालिकाले उपलव्ध गराइदिएको थियो । त्यही जग्गामा करिब तीन अर्ब रुपैयाँ खर्च गरेर रंगशाला निर्माणको काम ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले अघि बढाएको हो । तर आमनागरिकबाट अपेक्षित चन्दा संकलन हुन नसक्दा फाउन्डेसनले निर्माणको काम अघि बढाउन सकेन । फाउन्डेसनले डेढ वर्षअघि नै निर्माणको कामबाट हात झिकिसकेको छ । निर्माणको जिम्मेवारी तथा रंगशालाको स्वामित्व चितवन महानगपालिकाले लिएको छ । तर डेढ वर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन ।

सर्वसाधारण जनताको चन्दा, सरकारी सहयोग तथा ऋणसमेत गरी करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको छ । निर्माणका क्रममा लागेको १८ करोड रुपैयाँ ऋण धुर्मुस–सुन्तली फाउन्डेसनले तिर्ने कि ? महानगरपालिकाले तिर्ने ? भन्ने विवादका कारण बाँकी काम अघि बढ्न सकेको छैन । ऋण तिर्न सक्ने हालतमा फाउन्डेसन छँदै छैन, कहाँबाट पैसा ल्याएर तिर्नु ? यता फाउन्डेसनले लगाएको ऋण आफूले तिर्न कानुनी जटिलता रहेको महानगरपालिकाको भनाइ छ । महानगरपालिकाको भनाइ पनि नाजायज होइन, कानुनी प्रक्रिया नमिलाई सरकारी कोष खर्च गर्न संभव छैन । यही समस्या देखाएर अहिलेसम्म भएको लगानी खेर फाल्ने कि, यथाशीघ्र समस्या समाधानको बाटो खोजेर निर्माण सम्पन्न गर्नेतर्फ लाग्ने ? भन्ने मामिलामा संघीय सरकार गम्भीर बन्नुपर्ने जरुरी देखिएको छ । संयोगले यतिबेला चितवनकै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । चितवनबाटै चुनाव जितेका रवी लामिछाने उपप्रधानमन्त्री छन् । चितवनकै विक्रम पाण्डे सहरी विकास मन्त्री छन् । निर्माण थालनी गर्दाको बेलाकी मेयर रेणु दाहाल फेरि पनि मेयर बनेकी छन् । यतिबेला पनि यो गाँठो फुकेन भने अब कहिल्यै फुक्दैन । सर्वसाधारण जनताको पौने एक अर्ब रुपैयाँ चन्दा खेर जान्छ ।

विकासका पूर्वाधार कस्ता ठाउँमा निर्माण गर्ने ? हचुवाको भरमा निर्माणको काम अघि बढाउँदा के कस्तो समस्या आइपर्छ ? भन्ने गतिलो पाठ क्रिकेट रंगशाला निर्माण प्रकरणले सिकाएको छ । पा“च÷सात करोड रुपैयाँको लागतमा गरिब तथा दलित बस्तीका घरहरू निर्माण गर्दा यथेष्ट चन्दा उठेका कारण हास्यकलाकार द्वय धुर्मुस र सुन्तली निकै हौसिएर यो महत्वकांक्षी परियोजना निर्माणको काम आरम्भ गरेका हुन् । तर उनीहरू यो परियोजना निर्माण गर्दा केही कुरामा चुके । सर्वसाधारण जनताका कस्तो कामका लागि चन्दा दिन तयार हुन्छन् ? सर्वसाधारण जनताबाट कतिसम्म चन्दा संकलन हुनसक्ने संभावना छ ? अनुकूल हावापानी र ठूलो जनसंख्या भएका काठमाडौं, पोखराजस्ता ठाउँलाई छाडेर प्रतिकूल हावापानी तथा पातलो जनसंख्या भएको ग्रामीण क्षेत्र रामपुरमा जग्गाबाहेक तीन अर्ब रुपैयाँ खर्च गरेर रंगशाला निर्माण गर्न उचित हुन्छ कि हुन्न ? लगायतका प्रश्नको उत्तर खोज्नेतर्फ नलाग्नु नै धुर्मुस–सन्तलीको ठूलो कमजोरी देखियो । यो असफलताबाट मुलकका तीन वटै तहका सरकारहरूले पाठ सिक्नुपर्छ ।

प्रतिक्रिया