अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको कार्यालयले महिला कृषकहरूका लागि तीन दिने च्याउ खेतीसम्बन्धी तालिम नगरपालिको कार्यालयमा सम्पन्न गरेको छ ।
माघ ४, ५ र ६ गते सञ्चालन भएको तालिममा नगरभरका १० वटै वडाहरूका ३० जना अगुवा महिला कृषकहरूलाई प्रभावकारी तालिम सञ्चालन गरेको महिला तथा बालबालिका शाखा प्रमुख शान्ता आचार्यले बताइन् ।
तालिमको समापन गर्दे नगरप्रमुख झबिलाल थापाले महिलाहरूलाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यका साथ नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । प्रमुख थापाले भने, ‘हामी महिलाहरूको सीप, ज्ञान र अनुभवलाई थप वृद्धि गरी उत्पादन कार्यमा जोड्ने काम गर्दे छौँ, माग र आवश्यकताको आधारमा कृषिको क्षेत्रमा यो वर्ष पनि धेरै कार्यक्रम अगाडि बढाएका छौँ, कृषिमा आत्मनिर्भर भई बिभिन्न बस्तुहरूको पकेट क्षेत्र बनाई उत्पादित बस्तु अरूलाई बेच्ने गरी काम गर्न चाहान्छौँ, बजेट कम भए पनि हामीहरू सबैलाई रोजगारी र उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर लागेका छौँ ।’
नगर उपप्रमुख बालकृष्ण बन्जाडेले कृषकलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउने गरी नगरको टिम नै लागिरहेको बताए । बन्जाडेले भने, ‘कृषकका गुनासो, समस्या आवश्यकताहरू धेरै छन् । सबै एकैपटक समाधान गर्न समस्या होला तैपनि हामी एउटा मिसनबाट अगाडि बढेका छाँै, कृषक र कृषि पेसा हाम्रो नगरको प्रमुख प्राथमिकताको विषय बनेको छ ।’
तालिममा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तुवलाल सापकोटाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरी उत्पादनमा वृद्धि गरी महिलाहरू आत्मनिर्भर बन्नुपर्ने बताए ।
तालिमको सहजीकरण योजना तथा कार्यक्रम शाखाप्रमुख हरिशचन्द्र भुसाल, कृषि शाखाको प्रमुख रामबहादुर थापा, शान्ता आचार्य लगायतले गरेको महिला शाखाले जानकारी दिएको छ ।
तालिममा सहभागीहरूको सक्रीय सहभागीताले कृषी क्षेत्रमा थप टेवा पुग्ने देखिएको प्रशिक्षक तथा कृषि शाखाका प्रमुख रामबहादरु थापाले बताए । थापाले भने, ‘महिला दिदीबहिनीहरूमा जुन उत्साह छ, त्यसमा नगरपालिकाको सधँै साथ छ, यसले आर्थिक वृद्धि र उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’
तालिममा नयँ प्रविधि सहितको सिकाइले थप ज्ञानसमेत हासिल गर्न सफल भएको प्रशिक्षार्थी महिला कृषक भूमिकास्थान नगरपालिका–८ निवासी सरस्वता पाण्डेले बताइन् । कृषक पाण्डेले भनिन्, ‘नगरले हामीहरूलाई यस्तो तालिम समय समयमा दियो भने हौसला र ज्ञान दुवै हुनेछ, यो तालिमबाट थप ऊर्जा मिलेको छ ।’
तालिम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता महिला विकाश शाखा प्रमुख शान्ता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया