अर्घाखाँची । जिल्लाको सदरम्ुकाम सन्धिखर्कमा विपत्सम्बन्धी डेमो प्रदर्शन गरिएको छ । मंगलबार भूकम्प दिवसको अवसरमा जिल्ला सुरक्षा निकायको आयोजनामा टुँडिखेल मैदानमा भूकम्प प्रकोप र आगलागीसम्बन्धी विभिन्न विद्यालयका विद्यार्थी र अन्य सरोकारवालाहरूको उपस्थितिमा डेमो प्रदर्शन गरिएको थियो ।
१९९० माघ २ दिउँसो २ः२४ बजेको समयमा नेपालमा भूकम्प गएको थियो । सोही भूकम्पको सम्झनामा रहेक वर्ष भूकम्पका बारेमा सचेतना गराउन यो दिवस मनाउँदै आइएको छ । ०५५ सालदेखि माघ २ लाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्प एउटा प्राकृतिक प्रकोप हो यसलाई रोक्न कसैले नसके पनि यसबाट हुने सम्भावित जोखिमबाट भने जोगिन सकिन्छ । नेपालमा पटकपटक गएका सानाठूला भूकम्पका कारण धेरै धनजनको क्षति भएको छ । १९९० र ०७२ सालको भूकम्पले देशमा सबैभन्दा धेरै क्षति गर्यो ।
धेरै कुरा विगतका भूकम्पमा जानकारी नहुँदा क्षति भएको सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले भने, ‘सावधानीका धेरै विषयबारे सबै थाहा नहुँदा विगतमा निकै क्षति बेहोर्नुपरेको हो, अब घरघरमा यो विषयमा जानकारी गराउनु आवश्यक छ, यो विषयमा नगरपालिकाले आवश्यक सहयोग गर्न तयार छ ।’
मानव निर्मित अव्यवस्थित भौतिक पूर्वाधार संरचनाका कारण प्रकोपमा परी धेरै धनजनको क्षति हुने गरेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । प्रकोपले आफैँ कसैको क्षति नगर्ने बताउँदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षति हुँदै आएको बताए । ‘भूकम्प आउँदा सबैले सावधानी अपनाउनुपर्छ, भूकम्प आइहाले टेबल तथा खाटमुनि बस्ने काम गर्नु हुँदैन, भौतिक संरचना भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ’, उनले भने ।
भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वतयारी तथा सुरक्षित भवन निर्माण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि दिवसको अवसरमा सन्धिखर्कमा डेमो प्रदर्शन गरिएको सरोकारवालाले बताएका थिए ।
डेमो प्रदर्शनको अवलोकन गरेपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको गौरिशंकर स्कुलमा अध्ययन गर्ने छात्रा सुप्रिया शाहले बताइन् । उनले भनिन्, ‘भूकम्प गइहाले सुरक्षा निकायको भूमिकाको बारेमा जानकार भयो, आगोलागी भएमा दमकललाई बोलाउनुपर्ने रहेछ, नआत्ति उद्दारमा लाग्नुपर्ने रहेछ ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजाललगायत सुरक्षा अंगका प्रमुख नगरप्रमुख उपप्रखुखसहित विभिन्न संघ संस्थाहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया