गगनहरुले आत्मविश्वास गुमाईसकेका हुन् ?

टिप्पणी

अहिले सत्ताको ‘लुँडो खेल’ मा काग्रेसको बुढो पुस्ता ‘सर्पको मुख’मा परेकै हो । सत्ताको लागि आँ गरेर बसेको काग्रेस एकै झट्कामा पुच्छरमा पुग्यो । भन्नेहरु त भन्छन्—‘दाइको जागिर र भाउजुको व्यवसाय एकै पटक गर्लाम् गुर्लुम भया

काठमाडौं । भनिन्छ राजनीतिमा जे बोलिन्छ त्यो गरिन्न र जे गरिन्छ त्यो बोलिन्न । राजनीति सम्बन्धी यो पुरानो भनाईलाई मान्ने हो भने ‘नेपाली काग्रेस गठबन्धन बनाउने र भत्काउने खेलमा छैन ।’ भन्ने सानेपाको सन्देशले सत्ता ताउलीमा केही न केही पाकिरहेको छ भन्ने देखाउँछ । तर अहिलेको ‘चलखेल’ मा पनि बुढाहरु नै अघि छन, नेपाली काग्रेस भित्रको युवा पङ्ति कतै देखिंदैन ।

काग्रेसका बुढो पुस्ताले त सानो कुरामा ख्याल नगर्दा सत्ता गुमायो तर युवा पुस्ता पनि दर्शक दिर्घामै रमाउने देखियो । भावी प्रधानमन्त्रीको रुपमा मत मागेर काठमाडौं ४ बाट जितेका महामन्त्री गगन थापा किन कतै देखा परेका छैनन् ? पार्टी भित्रको आन्तरिक चुनावमा संसदीय दलको नेतामा पर्याप्त मत पाउन नसके पनि त्यतिकै थन्किएर बस्न मिल्छ ? के संसदीय दलको नेताको नाम ढुंगाको अक्षर हो, जो कहिल्यै मेट्न नसकिने ?

नयाँ पुस्ताका लागि राजनीतिक मैदान तयार हुँदै गर्दा काग्रेस भित्रको युवापुस्ता महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मा अनि प्रदीप पौडेलहरुको ‘सन्त नीति’ उदेक लाग्दो छ ।

गत मंसिर ४ को चुनावी परिणामले युवाहरुका लागि राजनीतिक माहोल तयार गरिदिएको छ । यस्तो बेला किन गगन थापा भावि प्रधानमन्त्रीका चयनका लागि रवि लामिछाने वा राजेन्द्र लिङदेनहरुसंग लविङ गर्न सक्दैनन् ? लौ बुढाहरुका लागि मत मागिदिन सकेनन् रे । तर बुढाहरुले लत्तो छाडिसकेको बेला नयाँ पुस्ताका तर्फबाट आफु प्रधानमन्त्रीको उम्मेदवार भए अन्य पार्टीबाट समर्थन जुटाउन सकिन्छ कि भनेर किन पहल गदैनन् ? बाहिरी वातावरण बने आफ्नै पार्टीको संसदीय दलबाट निर्णय गराउन सकिन्छ भन्ने आत्मविश्वास किन पलाउन सक्दैन युवाहरुमा ?

राजनीति संभावनाको खेल हो तर पहलसम्म पनि नदेखिनु उदेग लाग्दो कुरा हो । के गगनले रवि, राजेन्द्र, सिके राउत वा रेशम चौधरीको पार्टीसंग युवा महामन्त्रीको तर्फबाट कुनै बातचित गरे ? कम्तीमा रवि लामिछानेसंग कुनै संवाद गरेको देखिनु पर्ने हो । के गगनले प्रधानमन्त्रीका लागि आत्मविस्वास गुमाइसेका हुन् ? ‘भावि प्रधानमन्त्री’ हार्न लागेको चुनाव जित्ने ‘अन्तिम फण्डा’ मात्रै होइन भने यो अवसरको सदुपयोग गर्नुपथ्र्यो र पर्छ ।

अहिले सत्ताको ‘लुँडो खेल’ मा काग्रेसको बुढो पुस्ता ‘सर्पको मुख’मा परेकै हो । सत्ताको लागि आँ गरेर बसेको काग्रेस एकै झट्कामा पुच्छरमा पुग्यो । भन्नेहरु त भन्छन्—‘दाइको जागिर र भाउजुको व्यवसाय एकै पटक गर्लाम् गुर्लुम भयो ।’ बुढाहरु त यति अल्छी र अन्धविश्वासी भए कि ज्योतिषीको भर मात्रै होइन ‘अजिंगरको आहारा दैवले पुर्याउँछ’ भन्ने लयमा वालुवाटारको चौघेराबाट बाहिर निस्केनन् । कतिसम्म भने वालकोटमा जन्ती भित्रिइसके तर वालुवाटार भने ३.३० बजेको ‘जनैसुपारी’ को साइत कुरेर बस्यो । उता विहेवारी सकिवरी बेहुली भित्र्याइसकेपछि मात्रै बुढाहरुले थाहा पाए र तीनचित खाए । युवाहरुलाई त झन पत्तो हुने कुरै भएन, त्यसै बेला परेको साहित्य सम्मेलनमा नगइ नहुने भएकोेले नेपाली काग्रेसका एक जोडी युवा महामन्त्री उतै अलमलिए । त्यो सम्मेलन मात्रै थिएन अहिले बुढाहरुलाई धारे हात लगाउने मौका दिने गतिलो माध्यम पनि भएको छ ।

सत्ता गठबन्धनलाई जोगाइ राख्न पनि युवाहरुको कुनै भूमिका देखिएन । कम्तीमा भएको सहमति पालना गर्नुपर्छ भन्ने सन्देश दिन पनि युवापङती चुक्यो । नभत्किनु गठबन्धन भत्किसकेपछि पनि परिणाम आफ्नो पक्षमा पार्न गगनहरुको कुनै भूमिका देखिंदैन । नेतृत्वलाई धारेहात लगाएर मात्रै नेतृत्वमा स्थापित हुन सकिएला र ? के युवाहरु भनेका बुढाहरुले पकाएको जाउलो मात्रै खाएर बस्ने अनाडी हुन् ? होइन भने प्रतिकुलतामै मौका खाज्ने युवाले हो । बुढाहरुले त बेला घर्काए घर्काए, युवाहरुले समयमै पहल किन गर्दैनन् ? निकासका लागि गगनहरु किन बोल्दैनन् ?

प्रतिक्रिया