प्रदेश १ को मुख्यमन्त्री दाबी पेश गर्ने समय साँझ ५ बजे सकिँदै

काठमाडौं । प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी पेश गर्ने दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी पेश गर्न समयसीमा दिएपछि सत्ता साझेदार दलहरुले आजै मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।

प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मत कार्कीले गर्ने गठबन्धन दलहरूले बताएका छन् । झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन् । अध्यक्ष केपी शर्मा ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।

प्रदेश १ को मुख्यमन्त्री दाबी गरिरहेको नेकपा माओवादी केन्द्र निकट नेताहरुले प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आह्वान गरेका थिए । एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ ।

प्रतिक्रिया