बझाङ । जिल्लामा रगतको अभाव हुँदा नेपाली सेनार नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था कायमै रहेको छ । शनिबार जिल्ला अस्पताल बझाङमा थलारा गाउँपालिका– ७ घर भएकी एक सुत्केरी महिलालाई वीरभद्रजंग गुल्म पानकोट ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान दिपक सिंह भाटले रगत दिएपछि सुत्केरीको ज्यान जोगिएको छ ।
चार दिनदेखि जिल्ला अस्पताल बझाङमा रगतको मात्रा कमी भएर उठ्न नसक्ने अवस्थामा पुगेकी ३३ वर्षीया सरिता आग्रीलाई रगतको आवश्यकता भएर उनका श्रीमान् धने आग्रीलाई अस्पतालमा कार्यरत कर्मचारीले रगत ल्याउन आग्रह गरेका थिए ।
धनेले पहिलो पटक आफूलाई यस्तो समस्या आएपछि रगत खोज्न कहाँ जाने भन्ने पिर पर्यो । केही थाहा नपाएका आग्रीलाई कहाँ जाने कहाँबाट खोजेर ल्याउने भन्ने चिन्ता छायो ।
आग्रीको सदरमुकाम चैनपुरमा कसैसँग पनि चिनजान नभएकाले रगत खोज्न नसकेर बाटोमा भौतारीँदै हिँडेका उनलाई देखेपछि पत्रकार रमेश सिंहले सोधपुछ गर्दा आफ्नी श्रीमतीलाई रगतको आवश्यकता परेको र रगत नपाए श्रीमती बच्न सक्ने आग्रीले बताए ।
उनले ‘तपाइसँग भए दिनु न’ भनेपछि पत्रकार रमेशले पीडित आग्रीको कुरा काट्न नसकेर आफ्ना साथीहरुलाई रगत दिन आग्रह गरे । तर, धेरै ठाउँमा प्रयास गर्दा असफल भएपछि अन्तिममा रमेशले पानकोट ब्यारेकमा कार्यरत एक जना चिनजानको साथीलाई खबर गरेका थिए ।
साथीले ‘हुन्छ खबर गरौँला’ भनेपछि केही आशा पलाएको पत्रकार रमेशले सुनाए । त्यसलगत्तै वीरभद्रजंग गुल्ममा कार्यरत जवान दिपक सिंह भाटले रगत दिने भन्ने खबर पाएपछि सँगै रहेका धने आग्रीको मुहार खुसीले गदगद भएको पत्रकार रमेशले बताए ।
नेपाली सेनाका जवानले रगत दिएपछि आफ्नो अवस्थामा सुधार आउने आशा गर्दै सुत्केरी आग्रीले भनिन्, ‘मेरो जीवन बचाइदिनुभयो, मेरो जिवनमा तपाईँ भगवान् बनेर आउनुभयो ।’
यो त एउटा उदाहरण मात्र हो । जिल्ला अस्पताल बझाङमा आउने बिरामिलेहरुले अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीले नै रगत दिएर धेरैको ज्यान बचाएका छन् ।
उता जिल्ला अस्पताल बझाङमा ब्लड बैंकको स्थापना भए पनि रगत दिन नमानेका कारणले नै नेपाली सेना र नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था आएको कार्यालय प्रमुख नवराज जोशीले स्वीकार गरे ।
बझाङ
प्रतिक्रिया