प्युठान । जिल्लाभरका उद्योगी–व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध सडकमा उत्रिएका छन् ।
उद्योगी व्यवसायीहरूले मंगलबार महेन्द्र माध्यमिक विद्यालय खलगांको गेट अगाडिबाट सुरु गरेको विरोध र्याली नाराबाजीसहित बजार क्षेत्रको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय प्युठानको गेट अगाडि पुगेर कोणसभा गरेका हुन् ।
धर्नामा सहभागी उद्योगी व्यवसायीहरूले ‘बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक’, ‘उद्योग व्यवसाय गर्ने वातावरण कायम गर’, ‘ब्याजदर एकल विन्दुमा कायम गर,’ ‘प्रिमियम दर बढीमा २ प्रतिशत गर’, ‘उद्योग व्यवसाय नीति कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका २०७९ खारेज गर,’ ‘सावा र ब्याज भुक्तानी अवधि बढाउ’ जस्ता नारा लेखेका ब्यानर र प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
उद्योगी व्यवसायीहरूले राखेका माग र मुद्दाको सुनुवाइ नभएको विरोध स्वरुप आन्दोलनमा उत्रिन बाध्य भएको प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नकर्मीले बताए । त्यस्तै विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश सदस्य ज्ञामुराम न्यौपानेले ब्याजदर वृद्धिले निजी क्षेत्र तहसनहस हुने अवस्था आएको बताए ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन ०७९ आडमा बैंकहरुले वृद्धि गरेको ब्याजदरप्रति आफूहरुको कडा आपत्ति रहेको उनीहरुको भनाइ छ । ब्याजदर वृद्धि फिर्ता नभएसम्म् आन्दोलन जारी रहने न्यौपानेले बताए।
धर्नापछि आयोजित कोर्णसभालाई उद्योग वाणिज्य संघ प्युठानका पूर्वअध्यक्षहरु राजकुमार कक्षपती, इमानसिंह भारती, माधवराज भण्डारीले कोणसभालाई सम्बोधन गरेका थिए ।
कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा सम्पन्न कोणसभाको सञ्चालन महासचिव सन्देश आचार्यले गरेका थिए । कार्यक्रममा जिल्लाभरका उद्योगी ब्यापारीहरुको बाक्लो उपस्तिथि थियो ।
प्युठान
प्रतिक्रिया