धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य रावलले अन्य निर्वाचित सदस्यहरुलाई शपथ गराएका हुन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य रावललाई शुक्रबार नै शपथ ग्रहण गराएका थिए ।
रावलले सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्म कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता ग्रहण गर्नेछन् । प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएकोमा ६ जनाले मातृभाषा (थारु) भाषामा र अन्यले नेपाली भाषामा शपथ ग्रहण गरेका थिए ।
३२ प्रत्यक्षतर्फ र २१ समानुपातिकतर्फ गरि ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
कैलाली
प्रतिक्रिया