३५ तोला सुन र १८ लाखसहित डिएसपी केसी पक्राउ

काठमाडौं । सुरक्षाकर्मीको काम शान्ति सुरक्षा र मुलुकमा अमनचयन काम गर्ने हो । तर, अपराधीलाई कानुनी दायरामा ल्याउने सुरक्षाकर्मी आफैं अपराधमा मुछिएपछि त्यसले प्रहरी प्रति सर्वसाधरणको विश्वास गुम्दै गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठग बहादुर केसी ३५ तोला सुन र १८ लाख रुपैंयासहित आइतबार राती पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले केसीलाई बुटवल पुगेर उनको निवासबाटै नियन्त्रणमा लिएको हो ।

बुटवलका व्यापारीले ल्याएको सुन केसी आफैंले नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ गरेको आरोप सीआइबीको छ । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडका विश्वास पात्र मानिने केसीले शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएको आरोप त्यहाँका व्यापारीहरुको छ । जिल्ला प्रहरी कास्कीमा सरुवा भएका केसी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा रहेकै बेला प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको सुराकीका आधारमा सीआइबीले अनुसन्धान अगाडी बढाएको थियो । सीआईबीका केन्द्रीय प्रवक्ता एसपी कमल थापा अनुसार स्थानीय व्यवसायी खिलेन्द्र जिसीले बोकेको झोलामा सुन फेला परेको थियो ।

जिसीसँग डीएसपी केसीले सुन लिई फिर्ता चाहिएमा मोटो रकम दिन धम्क्याउँदै आएको सूचना सीआइबीमा पुगेको थियो । सीआईबीको प्रहरी टोलीले अनुसन्धान गर्दा ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार नगदै फेला परेको जानकारी उसपी थापाले दिए । ‘ प्रारम्भीक सूचनाका आधारमा छानविन गर्दा डीएसपी केसी रंगेहात पक्राउ परे । उनलाई नियन्त्रणमा राखेका छौं,’ एसपी थापाले भने, ‘थप अनुसन्धान जिल्ला प्रहरीमै राखेर हुँदैछ ।’ सीआइबी टोलीलाई भने सुन बुटवलकै किसान विकको भएको भन्ने जानकारी डीएसपी केसीले गराएका छन् ।

केसीले आफूलाई गृह मन्त्री बालकृष्ण खाँणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएको आरोप छ । एक वर्ष अघि तिलोत्तमा नगरपालिका–२ जानकरी नगरमा रहेको अवैध कल सेन्टरसँग पनि केसीले १५ लाख रुपैयाँ माग गरेको आरोप छ । लेनदेनका कुरा नमिलेपछि छापा मारेर झण्डै १ सय ५० कर्मचारी पक्राउ गरेका त्यहाँका व्यापारीहरु बताउँछन् । बुटवलका अन्य केही व्यवसायी पनि केसीबाट पीडित भएको गुनासो गर्दै आएका छन् ।

गत साउत १ गते डीएसपी केसीले तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडा अध्यक्षलाई घचेटेर हानेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी तत्कालीन गृहमन्त्री खाँडकै आडमा जोगिएका थिए ।

सीआईबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीले डिएसपी केसीमाथि विस्तृत छानविन हुने बताए । उनले दसीप्रमाणसहित पक्राउ परेका केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा पत्राचार भईसकेको बताए । केसी विरुद्ध बुटवलका अन्य व्यवसायीले उजुरी दिए त्यसमा पनि छानविन गर्ने जानकारी एआइजी सुवेदीले दिए । सीआइबीले केसीविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धानका लागि पठाईने जनाएको छ । एआइजी सुवेदीले भने, ‘हामीलाई जुन सूचना आयो, त्यसैमाथि अनुसन्धान एवं छानविन गर्दा केसी प्रमाणसहित पक्राउ परे । अब थप विस्तृत छानबिन गर्छौं ।’

प्रतिक्रिया