बझाङ । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिकाको रूपमा चिनिने साइपाल गाउँपालिकामा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान रोटरी क्लब अफ नक्सालको आयोजनामा नेपालगञ्ज मेडिकल कलेज र साइपाल गाउँपालिकाको सहकार्य तथा जेम्स अस्पताल पोखरा र युसिएमसी भैरहवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ र मानवीर बोहराले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर साइपाल गाउँपालिकाका स्थानीयहरूको स्वास्थ्य समस्याबारे जानकारी गराएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा शिविर सञ्चालन गर्न सफल भएको साइपाल गाउँपालिकाका इन्जिनियर तिलक विकले बताए ।
विकका अनुसार साइपालका अधिकांश महिलाहरूमा आङ खस्ने लगायतका विभिन्न रोगहरूले ग्रसित भएका कारण समस्या भोग्नुपरेको र स्वास्थ्य सेवा नपाउँदा समस्या हुने गरेकोले गाउँघरमै स्वास्थ्य सेवा दिन सफल भएको बताए ।
त्यस्तै गाउँपालिका अध्यक्ष मानवीर बोहराले भने, हाम्रो गाउँघरमा गरिबी अशक्त र एकल परिवारसँगै आर्थिक स्थिति कमजोर भएको कारण उपचार गर्न नपाएकाहरूले सहजै सेवा लिन पाएकोमा खुसी भएको बताए ।
स्वास्य शिविरमा विशेषज्ञ डाक्टरहरूले सेवा दिने भएपछि त्यहाँका स्थानीयहरू खुसी भएका छन् । स्वास्थ्य शिविर गाउँपालिका अध्यक्ष मानवीर बोहराको अध्यक्षतामा प्रमुख अतिथि रोटरी क्लब नेपालका संस्थापक डाक्टर लुला सर्मा अतिथि रगुरासे कल्याणकारी सेवा परिषद् सल्लाहकार माधव शर्मा अतिथि राष्ट्रपति कार्यालयका स्वकीय सह–सचिव शिव भट्टराई उपाध्यक्ष डोल्मा तामाङ लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविर साइपाल गाउँपालिकाको काडा माध्यमिक विद्यालयमा १० गतेसम्म सञ्चालन हुने भएको छ । साइपाल गाउँपालिकाबाट चैनपुर आउन तीन दिनको पैदल बाटो हिँड्नुपर्ने हुन्छ ।
बझाङ
प्रतिक्रिया