कोहलपुर नगर क्षेत्रमा ठेलागाडा निषेध

बाँके । कोहलपुर नगर प्रहरीले नगर क्षेत्रमा ठेला तथा फुटपाथ पसल सञ्चालनमा निषेध गरेको छ । गएको मंसिर २७ गतेको कार्यपालिकाको बैठकमा नगरक्षेत्रमा अव्यवस्थित तरिकाले ठेला तथा फुटपाथ पसल व्यवसाय सञ्चालन गर्न निषेध गर्ने निर्णय भएसँगै नगर प्रहरीले त्यसको कार्यान्वयनसमेत सुरु गरेको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र ठेलागाडा, सडक तथा फुटपाथ व्यवसायीहरूको व्यवस्थापन गर्न कार्यदल नै गठन गरिएको थियो । वडा–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत बुझाइसकेको छ ।

प्रतिवेदनमा औँल्याइएका सुझावलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै कार्यपालिका बैठकलले तत्कालका लागि ठेला तथा फुटपाथ व्यवसायीहरूलाई व्यवसाय गर्न कोहलपुर उद्योग वाणिज्य संघ परिसरसँगै पछाडि रहेको खाली स्थान छुट्याएको थियो । उद्योग वाणिज्य संघसँगको सहकार्यमा ती व्यवसायीलाई संघको पछाडिको खाली जग्गामा व्यवसाय गर्न दिइएको छ । व्यवसाय सञ्चालनका लागि संघमा सूचीकृत हुनुपर्नेछ । त्यहाँ कपडा, फलपूmल र तरकारी व्यवसायीहरू बस्न सक्नेछन् ।

ती स्थानबाहेक नगर क्षेत्रमा ठेला तथा फुटपाथमा पसल व्यवसाय सञ्चालन गरेको पाइएपछि केही व्यवसायीहरूलाई नगर प्रहरीले कारवाहीको दायरामा ल्याउन सुरु गरेको नगरप्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । पहिलोदिन चार वटा ठेला व्यवसायीलाई कारबाहीको दायरामा ल्याइएको छ ।

‘नगर क्षेत्रमा ठेला घुमाएर–डुलाएर व्यवसाय गर्नेलाई अब निश्चित स्थान तोकिएको छ थापाले भने, ‘त्यो बाहेक अन्य ठाउँमा पसल व्यवसाय सञ्चालन गरेको पाइए कारबाही हुन्छ ।’ नगर क्षेत्रमा अव्यवस्थित तरिकाले ठेला व्यवासाय सञ्चालन गर्दा दुर्घटनाको जोखिम पनि हुने र सहरलाई समेत कुरुप देखाउने भएकाले त्यसलाई व्यवस्थित गर्ने कामलाई कडाइ गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

प्रतिक्रिया