आयुर्वेद : एक विश्लेषण भाग–२

मोहनप्रसाद सापकोटा

कश्यप संहिता प्राचीन आयुर्वेद ग्रन्थ हो । हुन त यो प्राचीन ग्रन्थ पूर्ण छैन तर जेजति पाइएको छ त्यो अनुपम छ । कश्यप ऋषिको चिकित्सा ज्ञानका बारेमा केही कुरा गर्नुअघि उनको महत्ता केलाउनुपर्ने हुन्छ । जेजति जीव पृथ्वीमा छन् ती सबै कश्यपका सन्तान हुन् । उनीसँग कुनै पनि रोगको अचूक औषधि थियो । तक्षक नाग (आगो उकल्ने अति शक्तिशाली र अती विषालु सर्प विशेष) ले डढाएर कालो ठुटो बनाएको रुख र मान्छेलाई पुनः जस्ताको तस्तै बनाउन सक्थे उनी भनी पुराणहरू भन्दछन् । राजा परीक्षितसँग सम्बन्धित कथामा यी प्रसंग धेरै पुराणहरूमा उल्लेख भएका पाइन्छन् ।


पैसाको अभाव भई तक्षक नागले राजालाई मार्दैछ रे भन्ने कुरा सुनी उनलाई जोगाउन र पैसा कमाउन हिँडेका कश्यप तक्षकबाटै पैसा लिई बाटैबाट फर्केका थिए । उनको यो गल्तीले गर्दा राजाको मृत्युपछि उनलाई समाजले तिरस्कार गरेको थियो । जब उनले यो कुरा थाहा पाए तब प्रायश्चित र आत्मालोचना गर्दै उनले वैद्य–ज्ञानमा अझ निखारता लेराएका थिए ।

लसुन र आयुर्वेद

आफ्नी आमालाई सौताको दासत्वबाट मुक्त गर्न सर्पको माग बमोजिम स्वर्ग गई इन्द्रसँग अमृत खोसेर पृथ्वीमा लेराउँदा खसेका अमृतका थोपाबाट लसुनको उत्पत्ति भएको हो । पृथ्वीमा हुने अमिलो, पिरो आदि पाँच रसमध्ये लसुनमा अमिलो बाहेक पाँच रस हुन्छन् । ‘रस उन’ अर्थात् एक रस कम भएकाले लसुनलाई संस्कृत भाषामा ‘रसोन’ पनि भनिन्छ । सामान्यतः शास्त्रले तोकेका कर्म गर्ने द्विजले लसुन नखानु भनी स्मृति आदि शास्त्रमा लेखिएको छ । लसुनको जरा पिरो, पात तीतो, डाँठ टर्रो, डाँठको टुप्पो नुनिलो र गेडा गुलियो हुन्छ । लसुनले बल र वीर्य बढाउँदछ । यसले च्यातिएको वा काटिएको मासु नसा आदि चाँडै जोड्दछ । पचाउन कठिन हुन्छ । घाँटी सफा गर्दछ । यसले मुटुका रोग, पुरानो जरो, कोखाको शूल, कब्जियत, गानुगोला, अरुची, खोकी, सुजन, अल्काई, दम, खोकी र कफ आदि नाश गर्दछ । मदिरा, मासु र अमिलो खान रुचाउनेले लसुन खाने गर्नू । लसुन खाने गर्नेले धेरै कसरत गर्न, धेरैबेर घाममा सेकिएर काम गर्न, रिसाउन, धेरै पानी पिउन, धेरै दूध पिउन र सखर वा चिनी वा मिश्री धेरै खान हुँदैन, हानी गर्दछ ।

लसुन र शास्त्र

लसुन आयुर्वेदमा अमृत समान मानिउको तर धर्मकर्ममा अभक्ष्य (खान नहुने) भनी लेखिएको एक द्रव्य हो । यसका विषयमा पाइएका दुई कथा प्रसंग शेयर गर्ने अनुमति चाहन्छु । (क) समुद्र मन्थन गर्दा निस्किएको अमृतलाई देवताको रुप लिएर पिउने राहुको टाउको भगवान् विष्णुबाट काटियो । त्यसबेला घाँटीसम्म पुगेको अमृतको दुई थोपा पृथ्वीका चुहियो र त्यसबाट प्याज र लसुन उम्रिए । अमृतबाट उत्पन्न भएका कारण यी दुई गुणमा अमृतसमान हुन्छन् तर राक्षसको शरीरबाट उत्पन्न भएकाले धर्मकर्ममा अपवित्र मानिन्छन् ।

(ख) समुद्र मन्थन गर्दा निस्किएको अमृत गरुडले खोसेर स्वर्गतिर लिएर गए । लैजाँदा थाकेका गरुड कतै आराम गर्न बसे । त्यसबेला अमृतक थोपा भुइँमा झरे । त्यो झरेको थोपा मानिसको जंगलमा गरिएको दिसामा पर्न गयो । कारणवश त्यो देशमा लामो सायसम्म अनिकाल भयो । त्यही जंगल हुँदै ऋषिहरूको एक समूह कतै जाँदै थियो । त्यस समूहमा रहेका एक ऋषि दुब्ला, वृद्ध र रोगी थिए । सँगसँगै हिँड्न नसकेका कारण उनी जंगलमा छल्लिए । बाटो देखेनन् जंगलमै अलमलिए । खँडेरीका कारण बनका सबै रुखपात सुकेका थिए । उनले खान केही पाइन्छ कि भनी यताउती खोज्दा हरियो बुट्यान देखे, उनले ६ महिनासम्म त्यसैको हरियो पात खाए । ६ महिनासम्म त्यसैको सुकेको पात खाए र एक महिनासम्म त्यसैको कन्द खाएर बसे ।

खँडेरी सकियो । कालान्तरमा सबै ऋषि एकै ठाउँमा जम्मा भए । निर्धो, बूढो र रोगी ऋषि तन्नेरी भएर आएको देखि अरूहरूले त्यसको कारण सोधे । जति सोधे पनि उनले कारण बताएनन् । अनि बाँकी ऋषिहरूले रिसाउँदै ‘यिनले जे खाएका थिए, त्यो आजका दिनदेखि गनाउने र द्विजका लागि अपवित्र होस्’ भनी श्राप दिए ।

चन्दन र धूपी

परम्परागरूपमा चलेका अनेकौँ कुराहरू शरीरसँग वा मानिसको स्वास्थ्यसँग सम्बन्धित रहेको पाइएको छ । हामीलाई मूल कारण थाहा हुँदैन त्यसैले छाड्दै गयौं । म चन्दन र धूपीको नित्य प्रयोगका बारेमा केही जानकारी गराउने प्रयास गर्दछु । गाउँमा छँदा अरूले पूजा गर्दा पनि चन्दन लगाउन पाइएन भने हजुरबुबा गाली गर्नुहुन्थ्यो । उहाँमा यसले गर्ने फाइदाको ज्ञान पक्कै हुँदो हो तर बताउनु भएन, नलगाउँदा गाली मात्र गर्नुहुन्थ्यो । चन्दनको धार्मिक र पैत्रिक कार्यमा प्रयोग गर्ने प्रचलन अति नै प्राचीन देखिन्छ । म धार्मिक प्रसंगतिर नलागी व्यावहारिक विषयका बारेमा आयुर्वेदका केही कुरा राख्न चाहन्छु ।

चन्दनको धेरै लाभ बताइएको छ । रक्तपित्त, बेहोसी हुने रोग, मुख गनाउने समस्या आदिजस्ता अनेकौँ रोग यसले हटाउँदछ । तर, यो धेरै खान हुँदैन बेफाइदा गर्दछ । मात्रामा तलमाथि नहोस् भन्नका लागि एउटा नियम बनाइयो र नित्य पूजा गर्दा यसलाई घोटेर देवीदेवतालाई चन्दन लगाउने प्रचलन चलाइयो । अनि त्यसरी चन्दन लगाइएका देवीदेवतालाई हरेक दिन नुहाइदिएपछि नुहाइएको जल (निर्मल) तीन आचमन खाने नियम बनाइयो । यसैगरी अबिर र केसरीका पनि फाइदा छन् र तिनको सेवन मात्रा पनि चन्दनको जस्तै जस्तै छ । नित्य औषधिका रूपमा चन्दन, अबिर र केसरीको उचित मात्रा शरीरभित्र गइराखोस् र यसको सुगन्धले शरीर पनि सुगन्धित भइरहोस् भनेर निर्मल जल सेवन गर्ने र शरीरमा छर्कने प्रचलन चलाइयो । निधारमा चन्दन आदि लगाउने चलन चलाइयो ।

अर्को चलन थियो धूपी र घिउको धूप हाल्ने । धूपीका फाइदा पनि धेरै नै बताइएका छन् । यसको सबभन्दा ठूलो फाइदामा यसले किरा मार्दछ भनिएको छ । आँखाले देखिने वा नदेखिने किराले मानिसलाई दुःख नदेखोस् भनेर नै ती किरा नाश गर्न साँझबिहान धूप बाल्ने चलन चलाइएको देखिन्छ । तर, आजभोलीका धूप ? लाभभन्दा बढी हानी गर्दछ, मैले यही अनुभव गरिरहेको छु ।

आलो धूपीको धुवाँ बढी नै किरानाशक हुँदो रहेछ । हिमाली भेगमा बस्ने शेर्पाहरू नित्य घरनजिकै पर्खालहुँदी धूपी बालेर देवताको पूजा गर्ने चलन थियो, पुराना तस्बिर हेरेर थाहा पाएँ । कारण मनसँग मात्र सम्बन्धित नभई शरीरसँग पनि सम्बन्धित रहेछ ।

गुर्जो छ ?

यसका विभिन्न रोगमा विभिन्न प्रयोग विधि बताइएका छन् । अहिलेको महामारीमा यसको साधारण प्रयोग विधि सेयर गर्न चाहेँ । औंलाका टुप्पाजति दुई टुक्रा गुर्जोलाई मजाले पिसी दुई गिलास पानीमा थोरै आँचमा उमाल्नुहोस् । जब एक वा दुई ठूलो चिया चम्चा जति बाँकी रहन्छ तब त्यो रस चिया छान्ने जालीले छानी महसँग फिटेर नित्य बिहान खाली पेटमा खाने गर्नुहोस् । सुगरका बिरामीले पनि यसरी र यति खान हुन्छ भनिएको छ । यही विधिले अलि धेरै रस बनाएर सफा तरिकाले भण्डारण गरी दिनहुँ खान पनि सकिन्छ । धुलो औषधी छ भने १० ग्रामभन्दा बढी नखानुहोस् । रोगलाई नहेप्नुहोस् । सामाजिक सञ्जाल हेरेर गुर्जोको जथाभावी प्रयोग नगर्नुहोस् । धेरै खाए चाँडै निको हुन्छ भन्ने भ्रम दिमागबाट हटाउनु होस् । यसैले ढाल्दछ ।

आयुर्वेदमा धूमपान

सुर्तिको धूमपानलाई अहिलेसम्म कतै कुनै फाइदाका लागि प्रयोग गर्ने कुरा बताइएको पाइएको छैन । तर ओखतीको धूमपानलाई प्रायः सबै आयुर्वेदका पुस्तकमा विस्तृत चर्चा गरिएको छ । आजभोली हुक्का तान्ने प्रचलन यत्रतत्र पाइन्छ । यो प्रचलनमा आयुर्वेदको ओखती र विधि मिसाउन सकिएको भए एउटा नौलो क्रन्ति नै हुने थियो ।

धूमपानका लागि रोग अनुसारका ओखती बताइएका छन् । त्यो पिउने विधि र प्रयोग गरिने नली आदि साधनका बारेमा धेरै कुरा बताइएका छन् । आयुर्वेदले विधिपूर्वक गरिने ओखतीको धूमपानलाई उपचारकै एक अंगका रूपमा व्याख्या गरेको छ ।

परम्परागत रूपमा तमाखु खान नेपालमा चलेका हुक्का, नली आदि आयुर्वेदकै विधिअनुसार बनाइएका रहेछन् । मेरा हजुरबुबा र बुबाले तमाखु खाने नलीको दुबैतिर धातुले मोरिएको हुन्थ्यो । अझै पनि यस्तो नलीले तमाखु तानिरहेका पुस्ता कतैकतै देख्न पाइन्छ । म नली फुट्छ भनेर धातुले मोरी बलियो बनाइएको होला भनी सोच्दथेँ । मलाई यही कुरा नै बताइएको थियो । तर, यो मात्रै कारण होइन रहेछ । यसरी नलीको मुखमा जोरिएको धातुले धुवाँ प्रशोधनसमेत गर्दो रहेछ ।

मसला

आयुर्वेदले दैनिक प्रयोग गर्ने मसलाको सम्मिश्रण तयार गर्ने विधि पनि उल्लेख गरेको छ । यस्तो सम्मिश्रणमा ‘वेसवार’ नामक सम्मिश्रणलाई उत्तम सम्मिश्रण भनी बताइएको छ । यी मसलाको अरू मात्राको सम्मिश्रणको प्रयोजन विशेष अवस्थामा बताइएको छ । वेसवार भन्नाले हिङ, अदुवा (वा सुठो), मरीच, जिरा, हलेदो (वा वेसार) र धनियाँ क्रमशः दोब्बर मात्रामा हाली बनाइएको मसलालाई बुझाउँदछ । प्रयोजन विशेषमा बाहेक आफूखुसी गरिने यी मसलाको नित्य प्रयोगलाई त्यति लाभदायक मानिएको छैन ।

अर्क–उपचार

लेखिएका ग्रन्थ हजारौं वर्ष अघिका माने पनि लाखौं वर्ष अघिका माने पनि यी विश्वका अरू कुनै पनि ग्रन्थभन्दा ज्ञानवर्धक र खँदिला छन् । अप्रासंगिक जस्ता लाग्ने, अपत्यारिला कुराहरू पनि छन् । सबै समुद्रमा सिपी हुँदैन र सबै सिपीमा मोती पनि हुँदैन । हाम्रा ग्रन्थका कुरालाई पनि यसरी नै हेरिनु पर्दछ ।

मिथुनजन्य सृष्टि प्रारम्भ भएपछि मैथुनजन्य समस्या पनि त्यति बेलैदेखि सुरु भएको पाइन्छ । उपनिषद, स्मृति, पुराण र आयुर्वेदका पुस्तकमा यो समस्याका विषयमा विभिन्न दृष्टिकोणबाट गहन विचारहरू लेखिएका छन् । रोग लाग्ने कारण, लक्षण र उपचारका विधि पनि धेरथोर बताइएका छन् । उपचारका विभिन्न विधिमध्ये एउटा विधि हो अर्क–उपचार । अर्कको सामान्य अर्थ आयुर्वेदिक मदिरा हुन्छ । यो बनाउने विधि, प्रयोजन र हालिने ओखती अनुसार फरकफरक हुन्छ ।

‘अश्वगन्धाको अर्कमा दूध र घिउ हालेर ऋतुस्नान गरेपछि (चौथो दिन) बिहान पिउनाले स्त्री गर्भधारण गर्न सक्षम हुन्छे । काँजी (साँधिएको दही वा मोही) मा बाह्रमासे पूmल पिसेर पुरानो सखर मिसाई परसरेको दिनदेखि तीन दिनसम्म चार/चार तोला खानाले गर्भ रहँदैन ।’ सुक्खा खोकी लाग्ने, नाकमुख र घाँटी सुक्ने समस्या छ ?

६/सात वटा तेजपातलाई राम्ररी पखालेर ठिकैका टुक्रा पारी एउटा कचौरामा राख्नू । राम्ररी केलाएर पखाली गोलो पारेर काटिएका पातला ४०/५० वटा अदुवाका चाना अर्को कचौरामा राख्नू । सात/आठ वटा सिंगा ल्वाङ एउटा प्लेटमा राख्नू । अब एउटा फराकिलो भाँडामा एक–सबा एक लिटर पानी हालेर तताउन बसाल्नू । पानी उम्लन उम्लन खोजेपछि त्यसमा तेजपात हाल्नू । तेजपात एकछिन उम्लेपछि त्यसमा अदुवाका चाना हाल्नू । यसपछि आँच धेरै भएर फिँज उम्लेर बाहिर आउन सक्दछ । आगोको राप घटाउनू । जब तेजपात पिँधमा गएर बस्न थाल्दछ तब ल्वाङ हाल्नू । ल्वाङ हालेको थोरै समयपछि त्यो पानी झिकेर सेलाउन दिनू । अनि छानेर एउटा सफा सिसाको भाँडामा राख्नू । मधुमेह छैन भने त्यो रसमा पाँच/६ चम्चा मह हालेर घोल्नू । अनि उचित ठाउँमा ओखती राखे जसरी भण्डारण गर्नू । बिहान बिहान उमालेर मनतातो भएको आधा गिलास पानीमा उक्त ओखती ठूलो मान्छे भए ठूलो चियाचम्चाको दुई चञ्चा र सानो मान्छे भए एक चञ्चा हालेर खालिपेटमा खाने खुवाउने गर्नू । दुई÷तीन दिनपछि के हुन्छ ? आफैँ थाहा पाउनु हुनेछ ।

सखर र आयुर्वेद

व्यवहारमा कुनै कुरा नभए फूल चढाएर र कुनै तरल पदार्थ नभए जल चढाएर काम लिइन्छ । धार्मिक वा पैत्रिक कार्यमा यो लचकता पौराणिक कालदेखि नै पाइन्छ । पूजासामग्री नहुँदा बालुवाका काल्पनिक सामग्रीले पूजा गरिएका प्रसंगसमेत पाइन्छन् । आयुर्वेदमा भने अपवादमा बाहेक यस्तो लचकता दिइएको छैन । अनुवादकहरूले दिएको अर्थका कारण लचकता जस्तो देखिएको भने पाइन्छ । म उखुबाट बन्ने केही पदार्थका कुरा राख्न चाहन्छु ।

उखुको रसबाट बनाइने गुलिया पदार्थमध्ये पहिलो पदार्थ खुँदो हो । संस्कृतमा यसका लागि दुई वटा शब्द प्रयोग भएका छन् फाणित र मत्स्यण्डी । अधिकांश स्थानमा यसलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिएको छ जुन गलत छ । अन्त फरक नपरे पनि ओखतीका कुरा आउँदा यसले फरक पार्दछ । वास्तवमा पानीको अंश धेरै भएको अवस्थाको खुँदोलाई फाणित र पानीको अंश कम भएको खुँदोलाई मत्स्यण्डी भनिएको छ । यसपछि बन्ने सखरको अर्थ त झनै भद्रगोल बनेको पाइन्छ । गुड, शर्करा र सिता आदि शब्दलाई समेत सखर अर्थ लगाएर प्रयोग भएका छन् । सखरलाई बुझाउने शब्द गुड मात्र हो ।

अप्रशोधित रातो वा खैरो वा सेतो चिनीलाई खण्ड (खाँड) नाम दिइएको छ । यसको परिभाषा दिँदा ‘वैज्ञानिक विधिले प्रशोधन नगरिएको’ जस्ता वाक्यांश हालिएका छन्, यो गलत छ । किन कि यो शब्द हजारौं वर्षअघि पनि यही अर्थमा प्रयोग हुने गर्दथ्यो । त्यसबेला चिनी बनाउने र प्रशोधन गर्ने विधि के थिए, त्यो भने फेला पार्न सकेको छैन । यसपछि बन्ने पदार्थ चिनीलाई संस्कृतमा शर्करा र सिता नाम दिइएको छ । ‘बालुवाजस्तै दाना हुने सेतो खाँडलाई शर्करा भनिन्छ’ भनी परिभाषा दिइएको छ । अर्थात् चिनी विज्ञानको विकास भएपछि मात्र प्रशोधन गरिएर दानादार बनाइएको हो भन्ने गरी बताइएका सबै कुरा शतप्रतिशत गलत छन् । हजारौं वर्षअघि उखुको रसबाट दुई थरी खुँदो, सखर, कच्चा चिनी, चिनी र मिस्री बनाइन्थे । उखुबाट मात्र होइन फूलको रस, मह, सखरखण्ड आदिबाट पनि यी सबै पदार्थ बनाइन्थे ।

आयुर्वेद : नरमूत्र

यम नरमूत्रको कुरा चल्नासाथ भारतका भूतपूर्व प्रधानमन्त्री मोरारजी देशाइँलाई सम्झन पुग्दछु । उनले आफ्नै मूत्र नियमित सेवन गर्ने गरेको कुरा स्वीकारेका थिए । नरमूत्रका सम्बन्धमा धेरै कुरा संकलनमा परेको छैन, त्यसैले तन्कन पनि सक्दिनँ । थोरै भेटिएका कुरा जानकारी दिन चाहेँ ।

नरमूत्रमा मुख्यतः चार गुण हुन्छ ।

(क) यसले गरविष अर्थात् कृत्रिम विषको असर नाश गर्दछ ।

(ख) यसले सबैखालका रक्तविकार ठिक गर्दछ ।

(ग) यसले पामा रोग ठिक गर्दछ । पामा भनेको धेरै पीप बगिरहने, धेरै पोल्ने र चिलाउने, ससाना बिमिरा आउने लुतो विशेष वा भैंसे लुतो विशेष हो । यसलाई १८ थरीका कुष्ठरोगमध्येको एक मानिन्छ ।

(घ) यो रसायन गुणको हुन्छ । बुढ्यौली आउन नदिने वा बूढालाई तन्नेरी गराउने ओखतीलाई वा गुणलाई अथवा जुन औषधीले शरीरको बुढ्यौली (७० वर्षपछि) मा हुने रोग र (सबै उमेरका) जरो आदि रोगलाई निको पार्दछ त्यसलाई वा त्यस्तो गुणलाई ‘रसायन’ भनिन्छ ।

अनुभवमा आयुर्वेद

यत्राविधि आयुर्वेदका पुस्तक अनुवाद गरिरहेको छु भन्न नै लाज लाग्दछ । दाँत (बंगारा) दुखेर हैरान भएँ । टाढा वा नजिकका अस्पताल धाउने वातावरण पनि छैन, त्यसैले नजिकैको एउटा औषधि पसलेलाई गएर व्यथा सुनाएँ । चिसो खान नि हुन्न, तातो खान नि हुन्न केही चपाउँदा चपाउँदै त्यो दाँतले चपाउन पुगे मर्लान्त हुनेगरी दुख्दछ भनेँ । उनले भने, ‘तपाइँको दाँतको इनामेल गएछ । ल यो मञ्जन र यो ब्रसले दाँत माझ्नू । धेरै दुःखे यो नदुख्ने ओखती खानु’ । म हस् भन्दै उसले भिडाएका मञ्जन, ब्रस र ब्रुफिनका १० चक्की लिएर हिँडे । हिँड्दाहिँड्दै उ मलाई खालीपेटमा ओखती नखानुसमेत भन्दै थियो ।

बिहान त दाँत माझि नै सकेको थिएँ । घर आएँ खाना खाएपछि हत्त न पत्त फेरी नयाँ मञ्जन र ब्रसले दाँत माझे । अहँ कम भएन । बाध्य भएर एक चक्की ओखती खाएँ । ओखतीको असर रहेसम्म दुख्न कम भयो वा दुखेन वा दुखेको थाहा पाइनँ । तर, जब ओखतीको असर सकियो फेरी जस्तातस्तै भयो ।

फेरी गएँ उसले ल्वाङके तेल दिएर पठायो । आएँ र कपासमा भिजाएर टाँसे । ठिक भएको हो कि हो कि जस्तो मात्र भयो तर ठिक भएन । खाना खाएपछि दाँत दुखेर हैरान भइरहेको थियो । यसो आराम गरिरहेको थिएँ । ‘धत् उल्लू आयुर्वेदका यत्रा पुस्तक अगिल्तिर बसेर ओखती खोज्दै हिँड्छस्, तँलाई लाज लाग्दैन ?’ मनले गाली गर्न थाल्यो । त्यसपछि हत्त न पत्त उठेर ल्यापटप अगाडि आएँ । अनुवादका क्रममा रहेका पुस्तकमा उपचारको पालो आइसकेको थिएन । तैपनि एकाध घण्टा पाना पल्टाएर आफ्नो रोगको पहिचान र ओखती खोज्न थालेँ ।

मलाई लागेको रोगका बारेमा यस्तो लेखिएको् रहेछ ‘चिसो, तातो, नरम वा कडा जुनसुकै पदार्थको सम्पर्कमा आएर दाँत खपिनसक्ने गरी दुख्दछ र नआउँदा दुख्दैन भने त्यो ‘दन्तहर्ष’ नामको रोग हो । आफूलाई त्यस्तै भइरहेको थियो । रोग पत्ता लगाएँ अनि थालेँ ओखती खोज्न । अनि यस्तो लेखिएको भेटेँ ‘दन्तहर्ष हुँदा दाँत आफैँले भए पनि हल्लाएर फुकाली पाल्नु जस्तो पीडा हुन्छ । तर, यस्तो गल्ती कहिल्यै नगर्नू । यो रोगमा दाँतको जरालाई केही भएको हुँदैन । घिउ, तेल वा बोसो आधा गिलास मनतातो पानीमा दुई÷तीन थोपा मिसाएर दिनको चार÷पाँचपटक कुल्ला गर्ने गर्नू । एकदुई दिनमै ठिक हुन्छ । त्यसपछि (यो लेख लेख्नु अघि) जुरुक्क उठेँ र घिउपानीले मुख कुल्ला गरेँ । अहिलेसम्म दाँत दुखेको छैन ।

अन्त्यमा

यो अहिले आयुर्वेदका कुरा जुन पुस्तकबाट अनुवाद गर्दै जानकारी दिइरहेको छु । त्यो पुस्तक हरेक दृष्टिकोणले लाभदायक पाएको छु । धेरै अनुवाद गर्न बाँकी छ । जीवनचर्या, रोग, ओखती आदिका विषयमा त यसमा गहन जानकारी दिइएका छन् नै नेपालजस्तो कृषिप्रधान देशमा उत्पादन हुने पदार्थ लामोसमयसम्म नबिग्रने गरी आसव, अरिष्ट आदि कसरी बनाउने भन्ने विधि पनि यसमा छन् ।

सडकमा आफ्ना उत्पादन फालेर होइन यसमा बताइएका विधिले भण्डारण गर्न सकिए त्यो कृषक, समाज, देश र विश्वका लागि नै फाइदाजनक हुनेछ भन्ने विश्वास छ । ज्ञान सीमित व्यक्तिमा थन्किनाले हामी हरपल परनिर्भर हुँदै गएका हौँ । हाम्रा आफ्नै कारणले रोग उत्पादन गरी जीवनको अधिकांश समय त्यही रोगको चाकडी गर्नमै बिताउन थालेका छौँ । यो र यस्ता पुस्तकले हामीलाई गल्ती सुधार्न विशेष प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया