धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कर्मचारीतन्त्रको असहयोगका कारण प्रदेश सरकारले जनतामाँझ सोचेजस्तो परिणाम दिन नसकेको बताएका छन् ।
राजनीतिक नेतृत्वले केही काम गर्न खोज्दा, गर्नभन्दा प्रशासनिक नेतृत्वबाट सहयोग नभएका कारण परिणाम दिन नसकेको उनले बताए ।
शनिबार धनगढीमा आयोजित नेपाल पत्रकार महासंघ कैलाली शाखाकोे १२औँ साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री भट्टले भने, ‘हाम्रो देशको जुन सिष्टम छ, त्यसमा परिवर्तन आउन सकेको छैन,राजनीतिक रुपबाट परिवर्तन गर्यौँ,नयाँ संविधान ल्यायौँ तर यसले जनतालाई सन्तुष्टि दिन सकिरहेको छैन ।’
उनले थपे, ‘हाम्रो काम गर्ने शैली, प्रशासनिक जटिलता, कानूनका जटिलताहरुमा सुधार आउन सकिरहेको छैन, त्यसकारण केही समस्या सिर्जना भएको छ, आज प्रदेश, स्थानीय, ठूला राजनैतिक दलहरु, नेतृत्वमाथि प्रश्न उठ्ने कुरा जो भएको छ यसमा बहस सुरु गर्न जरुरी छ ।’
‘राजनैतिक परिवर्तनले मात्रै देशमा विकास र सुसाशन, भ्रष्टाचार अन्त्य नहुँदो रहेछ भन्ने कुरा देखिएको छ’, मुख्यमन्त्री भट्टले भने, ‘यसमा प्रशासनिक रुपबाट सिष्टममा सुधार आउन जरुरी छ, त्यतापट्टी हाम्रो बहस हुन जरुरी छ ।’
मुख्यमन्त्री भट्टले थपे, ‘आज संघीयताको विषयमा, प्रहरी प्रहरी समायोजनका कुरा, निजामति ऐनको कुरा छ, कर्मचारीको कुरा छ, किन त्यो भइरहेको छैन, कहाँ छ समस्या यो विषयको बहस हुन जरुरी छ ।’ ‘आज संघीयताप्रति जुन कुरा उठिरहेको छ, अहिलेको परिणाम जुन प्रकारले आइरहेको छ’, उनले भने, ‘वर्षौँदेखि संघर्ष गरेर आएका ठूला पार्टीहरुको विकल्प जसरी प्रतिकात्मक रुपबाट जुन परिणाम आएको छ, यहाँ राजनैतिक नेतृत्व कहाँ चुकेको हो, प्रशासनिक नेतृत्व कहाँ चुकेको हो बहसको विषय बन्न जरुरी छ ।’
उनले पत्रकारले सरकारलाई खबदारी गरिरहनुपर्ने बताए । उनले भने, ‘पत्रकारले सरकारलाई रचनात्मक सुझावसहितको खबरदारी गर्न छोड्नु हुँदैन, त्यो सँगसँगै पूर्वाग्रही हुनु हुँदैन यथार्थ कुरा बाहिर ल्याउनु पर्छ ।’ कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश धेरै दुर्गम ठाउँ भएको प्रदेश भएकाले पत्रकारले दुर्गम ठाउँका यथार्त कुरा सरकार, आम नागरिकसम्म पुर्याउन मेहनत गर्नुपर्ने बताए ।
शहरबजार र सदरमुकामका समाचार मात्रै लेखेर नपुग्ने भन्दै उनले गाउँघरमा के भइरहेको छ त्यहाँ सरकारको ध्यान गएको छ कि छैन त्यहाँका समस्याहरु के छन्, नागरिकले के चाहिरहेको छ त्यो कुरा पत्रकारले ल्याइदिँदा सरकार र अन्य सरोकारवालालाई काम गर्न सहज हुने बताए ।
प्रतिक्रिया