नरैनापुरमा नापी र मालपोत कार्यालय स्थापना गरिने

बाँके । जिल्लाको नरैनापुर गाउँपालिकाले गाउँपालिकाबासीका लागि अत्यावश्यक तीन कार्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको गाउँकार्यपालिका बैठकले नरैनापुरमा इलाका प्रशासन कार्यालय, नापी तथा मालपोत कार्यालय स्थापनाका लागि सम्बन्धित निकायमा पहल तथा माग गर्ने निर्णय गरेको हो ।

नरैनापुरको माग इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्ने आवश्यक रहेको निष्कर्षसहित कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाउँपालिकाले गर्ने कार्यपालिकाको निर्णयले निर्णय गरेको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेस गर्ने निर्णय गरेको छ ।


‘नरैनापुरमा हाल यी कार्यालयको सेवा प्रवाहमा सहज पहुँच छैन । नरैननापुरमा संघीयताको मर्म र भावना अनुसार यस्ता कार्यालय आवश्यक छन् । विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार नै हामीले निर्णय गरेका हौँ,’ उनले भने । नरैनापुरबाट हाल जिल्ला सदरमुकाम पुगेर सेवा लिन असहज छ । नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावनाअनुसार गाँउपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक रहेको उनले जोड दिए ।

कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहले गुनासो गरे । उनले विकास निर्माणलगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेको बताएका छन् । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडा–१ का अध्यक्ष इसाक जोलहाका अनुसार कार्यालय स्थापना भए सदरमुकामदेखि ५५ किमीको दुरीमा रहेको सुईया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । नरैनापुर जिल्लाको सबैभन्दा विकट पालिका मानिन्छ ।

प्रतिक्रिया