कोहलपुरका नगर प्रहरी दीक्षित

बाँके । कोहलपुर नगरपालिकाले भर्ना गरेका नगर प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ । आइतबार नगर प्रहरीको पहिलो समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।

नगरप्रमुख आचार्यले लगनशील, कर्मठ र योग्य कर्मचारीको रूपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरू छनौट गरिएको पनि स्पष्ट पारे ।
आचार्यले भने, ‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौँ’, उनका अनुसार कसैको दबाब र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन । गतिशील कोहलपुर नगरपालिका बनाउने उद्देश्य अनुरूप नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेमा आफू विश्वास रहेको उनले बताए ।

उक्त अवसरमा बोल्दै नगर उपप्रमुख संगीता सुवेदीले संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार नै कोहलपुर नगरपालिकाले प्रहरी ऐनबनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको बताइन् । उनले पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्न दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरूलाई निर्देशन दिएकी छन् । यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले नगर पालिकाले आवासिय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुनायोग्य भएको भन्दै प्रंशसा व्यक्त गरे । उनले प्रशिक्षार्थीहरूले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

तालिमका संयोजक प्रहरी निरीक्षक यामबहादुर मल्लले तालिमसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । सात महिला र १२ पुरुषगरी १९ जना प्रहरी जवानलाई आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकामा थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ । तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान दुर्गा थापा, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान बालमिकी थापा र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान निशा देबकोटा घोषित भएका थिए । उनीहरूलाई नगर प्रमुख आचार्य, उप–प्रमुख सुवेदी र प्रशासकीय अधिकृत ढकालले पुरष्कार वितरण गरेका थिए ।

प्रतिक्रिया