सुर्य गल्फमा भुवन शीर्ष स्थानमा

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्ष स्थानमा उक्लिएका छन् । १–अन्डर ६७ को स्कोरमा समग्रमा १०–अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन् । दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ ।

भुवनले रबि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाँकी रहदा ९ स्ट्रोकले पछि पारेका छन् । शुक्रले १–अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए । रबिले ९–ओभर ७७ को खराब प्रदर्शन गरे ।

दुवैजना समग्रमा १–अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन् । धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १–ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् ।

धनले ३–अन्डर ६५, दिनेशले २–अन्डर ६६ र कृष्णमानले इभन–पार ६८ मा खेल सकाए। ३–ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३–ओभर २ सय ७ सहित सातौ स्थानमा छन् । रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४–ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे ।

३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए। तर तेस्रो दिन १–अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकलो अग्रता बनाए । दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए । यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक–एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो । उनले ९–ओभर ७७ को अत्यन्त खराब खेल खेले । दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४–ओभर ३८ मा पुरा गरे । यसपछि पनि सम्हालिन सकेनन् ।

१० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक–एक सट खेर फाले । १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५–ओभर ३९ मा सकाए ।

शुक्र बहादुर राईले १–अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा पुरा गरे । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे । १३ औ होलको बर्डीले १–ओभर ३५ मा ब्याक नाइनको खेल सकाए ।

एमेच्योरतर्फ समग्रमा ११–ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन् । बिहीबार उनले ५–ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन् । कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन् । उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया