कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, संविधान कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको थियो ।

स्वीस राजदूत एलिजावेथले नेपालको संघीय शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताएको नेता निधिको सचिवालयले जनाएको छ । नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए ।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतलगायत क्षेत्रमा थप लगानी भित्र्याउन लगानीमैत्री वातावरणमा जोड दिइन् । नेता निधिले अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिको तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको थप सहयोगका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया