शर्मा र पाठकको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यकको जीवन भोगाइमा केन्द्रित रहेर लेखिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक बजारमा आएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्रमार्फत प्रस्तुत गरेका छन् । मण्डला र मिथिला शैलीबाट कोरिएका चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका ती समुदायका व्यक्तिका पीडा र आवाजलाई सुक्ष्मरूपमा उतारेको छ । दन्तचिकित्सक शर्माले भने, ‘कोरोना महामारीका कारण जारी लकडाउनका समयमा मैले आफूभित्र रहेको चित्रकारिताको प्रतिभालाई पुनः प्रस्फुटित गराएँ । डर, त्रास र दुःखका बीच चित्र मेरो साथी बन्यो । चित्रले मलाई यी आवेगसँग जुध्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बन्यो । मसँगै म सहपाठी डा अर्पणा पाठकले पनि त्यस्तै गर्थिन् ।’

आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा केही समय चित्रकलासँग साथ छुटेको उनको भनाइ थियो । उनले भनिन्, ‘पुस्तकभित्रका चित्र मण्डला र मिथिला शैलीबाट प्रभावित छन् । यसैमा आधारित भएर कोरिएका हुन् ।’ त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको डा शर्माले सुनाइन् । उनले भनिन्, ‘खुलेर समाजमा आउन नसकेका लैङ्गिक तथा यौनिक अल्पसंख्यकका पीडा र दुःखलाई यथार्थरूपमा चित्रकथाका रूपमा पुस्तकले समेटेको छ ।’ कसरी पुस्तक बनाउने तयारी भयो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘हामीले लकडाउनकै समयमा एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे थाहा पायौँ । परिवार र समाजले अस्वीकार गरेका कारण उहाँहरू प्रेम जोगाउन विदेश जानुभयो । समाजले नस्वीकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? ती जोडीले अन्य सामाजिक विभेद र समस्या झेल्नुपर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसंख्यकको नजिक भएको र उहाँहरूकै कथालाई चित्रको रूप दिने निचोडमा पुग्यौँ ।’

चित्रका लागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा, ती आफूहरूले देखेको र सुनेको भन्दा बेग्लै पाइएको डा शर्माको भनाइ थियो । उनले भनिन्, ‘ती पात्रको व्यथा, दुःख र भोगाइ समाजले कल्पनासमेत गर्न नसक्ने खालका थिए, ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् ? यसैले यस पुस्तकका हरेक पाना–पानामात्र नभएर जीवनकथा हुन् । पुस्तकका हरेक चित्र कसैको जीवनकथा सरह छ ।’ नेपालको सन्दर्भमा ‘एलजिबिटिआइक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ । हरेक लैङ्गिक तथा यौनिक अल्पसंख्यक गर्वका साथ र बिनाविभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको रहेको छ ।

प्रतिक्रिया