फ्रान्स सजिलै क्वार्टरफाइनलमा

दोहा । फ्रान्स विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले आइतबार राति खेलिएको प्रिक्वार्टरफाइनल खेलमा पोल्यान्डलाई ३—१ गोलले पराजित ग¥यो । जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने फ्रान्स तेस्रो टोली हो ।

यसअघि अर्जेन्टिना र नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगिसकेका छन् । आइतबार खेलिएको एकतर्फी खेलमा फ्रान्सले प्रारम्भदेखि नै पोल्यान्डलाई दवावमा राखेको थियो । पहिलो हाफमा एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

फ्रान्सको सजिलो जितमा २३ वर्षीय स्टार खेलाडी केलियन एमबाप्पे नायक बने । टोलीको जितमा उनले दुई गोलको योगदान गरे । निर्धारित समयको ४४औं मिनेटमा अनुभवी खेलाडी ओलिभर गिरोडले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

उक्त गोलसँगै गिरोडले कीर्तिमान पनि बनाएका छन् । उनी फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले फ्रान्सका लागि गरेको गोल संख्या ५२ पुगेको छ । यसअघि उक्त कीर्तिमान थिएरी हेनरीको नाममा थियो । हेनरीले फ्रान्सका लागि ५१ गोल गरेका थिए ।

त्यसपछि खेलको ७४औ मिनेटमा एमबाप्पेले फ्रान्सको अग्रतालाई दोब्बर बनाएका थिए । यसैगरी दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले नै अर्को गोल थप्दै फ्रान्सलाई ३—० को अग्रता दिलाएका थिए ।
खेलको अन्तिम समयमा पोल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै पोल्यान्डका अनुभवी खेलाडी रोबर्ट लेवान्डोवस्कीले एक गोल फर्काएका थिए । फ्रान्स दुई पटककको विश्वकप विजेता टोली हो । फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो । फ्रान्स सन् २००६ मा भने उपविजेता बनेको थियो ।

प्रतिक्रिया