सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट महिला र दलित शून्य

धनगढी । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक मात्रै महिला विजयी भएकी छन् । प्रतिनिधिसभाका १६ क्षेत्र रहेको प्रदेशमा १५ क्षेत्रको नतिजा आइसक्दा एक जना मात्रै महिला विजयी भएकी छन् । बाजुराको नतिजा आउन बाँकी छ ।

प्रत्यक्षतर्फका चार जना महिला उम्मेद्वारमध्ये एक जना मात्रै विजयी भएकी छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ कैलाली–१ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी भएकी छन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका चौधरीले १८ हजार ८१ मत प्राप्त गरे ।
त्यस्तै नेकपा एमालेले दुई जना, माओवादी केन्द्रले एक र नागरिक उन्मुक्ति पार्टीले एक जनालाई मात्रै प्रत्यक्षतर्फ उम्मेद्वार बनाएका थिए । भने कांग्रेसले र एकीकृत समाजवादीले उम्मेद्वार नै बनाएनन् ।

एमालेबाट उम्मेद्वार बनेकी गौरी ओली डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका उम्मेद्वार प्रेमबहादुर आलेसँग पराजित भइन् । आलेले २७ हजार २ सय १० मत प्राप्त गरी विजयी हुँदा ओलीले २३ हजार ४ मत प्राप्त गरी पराजित भइन् । त्यस्तै एमालेबाटै उम्मेद्वार बनेकी निरुदेवी पाल कञ्चनपुर–३ बाट कांग्रेसका रमेश लेखकसँग पराजित भइन् । लेखकले ३० हजार ५ सय ७५ मत ल्याई विजयी हुँदा एमालेकी पालले १८ हजार ४ सय ८५ मत प्राप्त गरी पराजित भइन् ।

त्यस्तै माओवादी केन्द्रबाट प्रतिनिधिसभामा उम्मेद्वार बनेकी बीना मगर कञ्चनपुर–१ बाट एमालेका उम्मेद्वार तारा लामा तामाङसँग पराजित भइन् । एमालेका तामाङले २४ हजार ९ सय ४३ मत प्राप्त गरी विजयी हुँदा माओवादीकी मगरले १९ हजार ४ सय मत प्राप्त गरी पराजित भइन् ।

प्रमुख राजनीतिक दलहरूले दलितबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेद्वार नै बनाएका थिएनन् । प्रत्यक्षतर्फ दलितको संख्या भने शून्य छ । नतिजा आएका प्रतिनिधिसभाका १५ क्षेत्रमध्ये कांग्रेसले सात, नेकपा (एकीकृत समाजवादी)ले तीन, नागरिक उन्मुक्ति पार्टीले तीन र एमालेले दुई क्षेत्रमा जितेको छ ।

यसैगरी सुदूरपश्चिममा प्रदेशसभाका प्रत्यक्षतर्फ ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । बाजुराका दुई निर्वाचन क्षेत्रको नतिजा आउँन बाँकी छ । नतिजा सार्वजनिक भएको ३० वटै क्षेत्रमा महिला र दलित शून्य छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेबाट उम्मेद्वार भएकी कमलाकुमारी ओली कैलाली–२ (क) बाट पराजित भइन् । सो क्षेत्रबाट कांग्रेसका कमलबहादुर शाह १० हजार ४ सय ३२ मत प्राप्त गरी विजयी भए । नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार रतनबहादुर थापाले ८ हजार ७ सय ७५ मत ल्याएर दोस्रो स्थानमा हुँदा एमालेकी ओली ८ हजार ८२ मत ल्याएर तेस्रो भइन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर–२ (क) बाट उम्मेद्वार रहेकी गीता चौधरी पनि पराजित भइन् । सो क्षेत्रमा माओवादी केन्द्रका ओमविक्रम भाट १० हजार ९ सय ३८ मत ल्याएर विजयी भए भने एमालेका उम्मेद्वार बचनबहादुर सिंह १० हजार ४ सय ६५ मत ल्याएर दोस्रो स्थानमा हुँदा नागरिक उन्मुक्तीकी चौधरीले ५ हजार १ सय ५३ मत ल्याएर तेस्रो भइन् ।

एमाले र माओवादी केन्द्रले एक÷एक जना मात्रै दलितबाट प्रदेशसभामा प्रत्यक्षतर्फका उम्मेदवार बनाएका थिए । एमालेबाट प्रदेशसभाको प्रत्यक्षतर्फको बझाङ (क)बाट उम्मेदवार बनेका अफिलाल ओखेडा कांग्रेसका उम्मेद्वार पृथ्वीबहादुर सिंहसँग पराजित भए । कांग्रेसका सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरि विजयी हुँदा एमाललेका ओखेडाले १३ हजार ३ सय ३६ मत प्राप्त गरी पराजित भए ।

माओवादी केन्द्रबाट वाजुरा (क) बाट कर्णबहादुर विक उम्मेदवार छन् । सो क्षेत्रको नतिजा आउँन भने बाँकी छ । सो क्षेत्रमा माओवादीका विक, एमालेका बलदेव रेग्मी र एकीकृत समाजवादीका नरेश शाही प्रतिष्पर्धामा छन् ।
प्रदेशसभाका प्रत्यक्षतर्फका ३० निर्वाचन क्षेत्रमा सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले ११, नेकपा (माओवादी केन्द्र)ले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, नेकपा एमालेले तीन, नेकपा (एकीकृत समाजवादी) ले दुई क्षेत्रमा र एक क्षेत्रमा स्वतन्त्र विजयी भएका छन् ।

प्रतिक्रिया