थ्रेसर मेसिनले किसानलाई धान झार्न सहज

सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेसिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेसिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेसिन लोकप्रिय बन्दै गएको छ ।

थ्रेसरका प्रयोगकर्ता बर्सेनि बढ्दै गएका व्यवसायी विनोद दाहालले बताए । पाँच वर्षअघिसम्म धान झार्ने मेसिन हुन्छभन्दा नपत्याउने किसान अहिले आफैँ प्रयोगकर्ता भएका उनले सुनाए । खेतीको काममा पनि काम गर्ने जनशक्ति कम हँुदै गएका बेला यो मेसिनको प्रयोगले किसानलाई सजिलो र छिटोसमेत भएको उनीहरूको अनुभव छ ।
दुधौली नगरपालिकाको स्थानीयसमेत रहेका व्यवसायी दाहालसँग दुई सिजनको धान झारेको अनुभव छ । ‘दुधौलीमा मात्रै अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बरले थे्रसर मेसिनको प्रयोगकर्ता बढेका छन्,’ उनले भने, ‘थ्रेसर किनेको पहिलो वर्ष ५० जना कृषकको धान झारेको थियो, यो वर्ष एक सय जना कृषकको धान झारिसकेको छु ।’

जग्गा धेरै भएका, काम गर्ने जनशक्ति कम भएका कृषकले बढी थ्रेसर मेसिनको माग गर्ने उनले बताए । उनका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्काउन सकिन्छ । पराल दाइँ गर्नुपर्ने, धान केलाइरहनुपर्ने झन्झट हुँदैन । धानबाली थन्काउन छिटो र सजिलो हुन्छ । धान झार्न मात्र होइन, जोत्न, रोप्न पनि मेशिनको प्रयोग गर्दा काइदा हुने उनको बुझाइ छ ।

यसकोे व्यवसायसमेत फस्टाएको उनले बताए । ‘३ लाख ५० हजारमा किनेको थ्रेसर मेसिनले धानबालीको सिजनमा घण्टाको तीन हजार कमाउँछ,’ उनले भने, ‘उधारोमा काम गर्दिनँ, नगद मिलेन भने धानै लिन्छु ।’ आधुनिक प्रविधिको विकाससँगै विकसित भएको कृषि प्रविधिको प्रयोगले खेती गर्नदेखि बाली थन्क्याउनसमेत सहज भएको दुधौली नगरपालिका–३ खुट्टेपानीका किसान लालबहादुर बोगटीले बताए ।

गाउँगाउँमा भित्रिएको मेसिनले खेती गर्न सजिलो बनाएको उनले सुनाए । ‘पैसा भएपछि खेती गर्न गाह्रो छैन, रोप्नदेखि उत्पादन भित्र्याउनसम्म,’ उनले भने । गत वर्षदेखि जोत्न ट्रयाक्टर, धान र गहुँबाली थन्क्याउन थ्रेसरको प्रयोग गर्दै आइरहेका छन् उनी । त्यसअघि अर्मपर्म तथा जन लगाएर खेती गर्दै आएका थिए यहाँका किसान । जनले कामको स्तरअनुसार दिनको छ सयदेखि एक हजारसम्म ज्याला लिने गर्दथे ।

आफूले बटयामा कमाउँदै आएको एक बिघाको धानबाली गत सोमबार थ्रेसरले नै झारेको उनले बताए । ‘गाउँमा काम गर्ने खेताला पाउनै मुश्किल पर्छ । पाइहाले पनि ज्याला महँगो भन्छन् । मजदुरी लगाउँदा समय पनि धेरै लाग्छ,’ उनले भने, ‘थ्रेसर लगाउँदा बिनाझन्झट धान ढिकुटीमा भित्र्याउन पाइयो ।’

मजदुरी लगाएर धान झार्न लामो समय लाग्ने तथा जनशक्ति धेरै आवश्यक पर्ने भएकाले मेसिनप्रति सबैको आर्कषण बढेको उनले बताए । थे्रसरले धान झार्न सजिलो भए पनि किसानले अलि महँगो शुल्क तिर्नुपरेको उनले गुनासो गरे । व्यक्तिपिच्छे फरकफरक मूल्य (तीन हजारदेखि चार हजारसम्म) तिर्नुपरेको उनले सुनाए ।

दुधौलीमा जसरी जिल्लाको कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका र मरिण गाउँपालिकाका किसानले पनि कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । बाटो भएका फाँटमा ट्रयाक्टरले जोत्ने र ठूलो थ्रेसर मेसिनले धान झार्ने गर्दछन् ।

कमलामाई नगरपालिका–४ ढुंगंवासका किसान कृष्णबहादुर लामिछानेका अनुसार धान झार्ने मेसिन अघिल्लो वर्षसम्म ठूला धान फाँटमा मात्रै प्रयोग हुन्थे । अहिले ट्रयाक्टर जाने बाटो भएका पाखाभित्ताका खेतमा समेत प्रयोग हुन थालेको छ ।

आफूले पनि एक बिघा खेतमा लगाएको धानबाली झार्न थ्रेसर मेसिनको प्रयोग गरेको किसान लामिछानेले बताए । १ घण्टा २० मिनेटमा ४० मुरी धान झारेर भित्र्याएको उनले सुनाए । कमलामाई नगरपालिका–४ च्याउकोटका भरत थापामगर चार वर्षयता जिल्लाको विभिन्न ठाउँमा गएर थ्रेसर मेशिनले धान झार्ने काम गर्दै आएका छन् । उनले सिजनमा धान झार्न भ्याइनभ्याइ हुने बताए । उनले तीन लाख रुपैयाँमा थ्रेसर मेसिन किनेका हुन् । ‘घण्टाको तीन हजार लिएर धान झार्ने गरेको छु । विशेषगरी कात्तिक र मंसिर महिना बिहान–बेलुकासम्म धान झारेर फुर्सद मिल्दैन,’ उनले भने ।

उनका अनुसार पछिल्लो समय जिल्लाका ५० प्रतिशत कृषक थ्रेसरको प्रयोगकर्ता भएका छन् । बाँकीले परम्परागतरुपमा खेताला लगाएर तथा अर्मपर्म गरेर धान भित्र्याउने गर्दछन् । सिन्धुलीमा सिराह, उदयपुर, सर्लाही, महोत्तरीका व्यवसायीसमेत धान झार्ने, जोत्ने कृषि प्रविधि लिएर आउने गरेका स्थानीय बताउँछन् । जिल्लामा कुन र कति कृषि प्रविधि प्रयोगमा छन् भन्ने यकीन विवरण कुनै निकायसँगै छैन ।

कृषि प्रविधिको विस्तार भएकाले सुगम क्षेत्रमा परम्परागत खेती विस्तारै लोप हुने अवस्थामा छ । ट्रयाक्टर, थ्रेसरजस्ता कृषि प्रविधिले जोत्ने गोरु पहिला जसरी पाइन छाडेको किसान गौरव कार्कीले बताए । उनले भने, ‘कृषि प्रविधिको प्रयोगले काम छिटो, खर्च कम, समयको बचत हुन्छ । खेताला खोज्नुपर्ने झन्झट हुँदैन । यसै कारण सुगम क्षेत्रमा गोरु, हलो लोप हुँदै गएको छ ।’ बाटो नभएका ग्रामीण भेगमा पनि हाते ट्रयाक्टर, तथा हाते थ्रेसरलगायतका कृषि प्रविधिको विस्तार हुँदै गएको छ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले कृषकलाई अनुदानमा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया