नेपाली कांग्रेसमा किचलोको संकेत

मंगलबार झापाबाट काठमाडौं विमानस्थल उत्रेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सिधै अर्का महामन्त्री गगन थापाको घरमा पुगे । उपस्थित मिडियाकर्मीसँग महामन्त्री शर्माले भने, ‘मैले चुनावअघि नै अबको प्रधानमन्त्री गगन थापा भनेको हुँ, आज पनि उहाँलाई संसदीयदलको नेताका लागि उम्मेद्वारी दिन आग्रह गरेँ, तपाईं उम्मेद्वार नहुने हो भने म उम्मेद्वार हुन्छु भनेँ ।’ त्यसो त आमनिर्वाचनका क्रममा प्रतिनिधिसभा सदस्यका लागि भोट माग्दा नै कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीको उम्मेद्वार हुने घोषणा गरिसकेका थिए ।

त्यसैगरी आफूलाई भावी प्रधानमन्त्री भन्दै प्रतिनिधिसभा सदस्यका लागि भोट मागेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनाव जिते लगत्तै काठमाडौं आएर सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरिसकेका छन् । अर्का नेता प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीको उम्मेद्वार हुन्छु भन्दै भेटवार्ता अघि बढाएका छन् । कोइराला परिवारका नेताद्वय डा.शशांक कोइराला र डा.शेखर कोइरालाले पनि प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका छन् ।

पार्टी सभापति एवं वर्तमान प्रधानमन्त्री देउवाले त ‘म सातपटकसम्म प्रधानमन्त्री हुन्छु’ भनेर घोषणा गरेको उहिलेदेखि नै हो । जम्मा पाँचपटक प्रधानमन्त्री भएका देउवालाई सातपटक प्रधानमन्त्री बन्ने वाचा पूरा गर्नका लागि पनि अहिले पछि हट्न मिल्ने अवस्था छैन ।

नेपालको संविधान (२०७२) अनुसार प्रधानमन्त्री बन्नका लागि आफ्नै प्रक्रिया छन् । सबैभन्दा ठूलो पार्टी भएका कारण नेपाली कांग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने संभावना ५० प्रतिशत भन्दामाथि छ । तर संसदीय दलको नेता बन्नका लागि इच्छा मात्रै गरेर पुग्दैन । संसदीयदल भित्र हुने चुनाव जित्नुपर्छ । सभापति देउवाले इच्छा राख्दासम्म संस्थापन पक्षका तर्फबाट संसदीयदलको नेता पदमा अर्को उम्मेद्वार बन्न सक्ने अवस्था अत्यन्त कम छ ।

सभापति देउवाको निगाहबाहेक वरिष्ठ नेता पौडेल र नेता प्रकाशमान सिंह संसदीयदलको नेता बन्ने संभावना न्यून छ । संसदीय दलमा संस्थापन पक्षको करिब दुईतिहाई बहुमत छ । त्यसैले इतर पक्षका गगन थापा, तथा कोइरालाद्वयले यथास्थितिमा चुनाव जित्ने संभावना छैन । इतर पक्षको तर्फबाट एक जना मात्रै उम्मेद्वार भएको अवस्थामा र संस्थापन पक्षभित्र विवाद भएको अवस्थामा संसदीयदलभित्रको अंक गणित फेरिन पनि सक्छ । ०५८ सालमा यसरी नै अंक गणित फेरिँदा इतर पक्षका नेता देउवाले संस्थापन पक्षका नेता सुशील कोइरालालाई भारी मतान्तरले पराजित गरी प्रधानमन्त्री बनेका थिए ।

झट्ट हेर्दा संसदीयदलको नेता बनाएर कसलाई प्रधानमन्त्रीका लागि अघि सार्ने ? भन्ने प्रश्न नेपाली कांग्रेसको आन्तरिक मामिला हो कि जस्तो देखिन्छ । तर, अहिले परिस्थिति अली फरक छ । नेपाली कांग्रेससँग आफ्नै बहुमत छैन । बहुमत पु¥याउनका लागि थप तीन÷चार वटा पार्टीको समर्थन जरुरी छ । सहयोगी पार्टीहरूले कसलाई सहज ठान्छन् ? भन्ने ख्याल कांग्रेसले गर्नुपर्छ । दोस्रो कुरा नयाँ पुस्ताका युवा नेताहरूको तुलनामा पुराना पुस्ताका नेताहरू लोकप्रिय छैनन् भन्ने कुरा आमनिर्वाचनको परिणामले पुष्टि गरेको छ । आम मतदातामध्ये पाँच जनालाई प्रश्न गर्ने हो भने तीन जनाले गगन थापा प्रधानमन्त्री होउन् भन्ने चाहेको देखिन्छ ।

कुनै पनि राजनीतिकदल जीवित रहने भनेको नयाँ पुस्ताको आकर्षणले हो । नयाँ पुस्तालाई आकर्षित गर्न नसक्ने पार्टी जीवित रहँदैन । यसको उदाहरणका रूपमा राप्रपाले अहिले हासिल गरेको उपलव्धी हेरे पुग्छ । पाँच महिना अघि मात्रै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उपलव्धी हेरे पुग्छ । नेपाली कांग्रेस पार्टी आफँैले गत आमनिर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको मत र अहिले प्राप्त गरेको मत तुलना गरे पनि हुन्छ । गत आमनिर्वाचनको तुलनामा यो आमनिर्वाचनमा नेपाली कांग्रेसको जनमत करिब आठ प्रतिशत घटेको छ । कांग्रेसका लागि यो ओरालो यात्रा सानो होइन ।

सातपटक प्रधानमन्त्री बन्ने आफ्नो वाचा पूरा गर्न पार्टीको यो ओरालो यात्रालाई निरन्तरता दिने कि ? अब जनताबीच लोकप्रिय नयाँ पुस्तालाई अघि सारेर पार्टीलाई जोगाउने ? भन्ने कुरामा कांग्रेस सभापति देउवा स्पष्ट हुनु जरुरी छ । देउवाले हठ नत्याग्ने हो भने नेपाली कांग्रेसभित्र ठूलै किचलो हुने संकेत देखिइसकेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा सहयात्रा गर्न चाहेका दलहरूले पनि सभापति देउवालाई उचित सुझाव दिन ढिला गर्नु हुन्न । अलोकप्रिय व्यक्तिको नेतृत्वमा जो जो पार्टी सरकारमा सहभागी हुन्छन्, उनीहरूको यात्रा पनि ओरालोतर्फ नै हुन्छ । यो कुराको हेक्का प्रचण्ड र माधव नेपालले पनि राख्नु जरुरी छ ।

प्रतिक्रिया