जनमत पार्टी ‘किंग मेकर’को भूमिकामा

जनकपुरधाम । मधेश प्रदेशमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फको सम्पुर्ण नतिजा आइसकेको छ । प्रत्यक्षतर्फको नतिजा आएसँगै मधेश प्रदेशमा दुबै गठबन्धनमा आबद्ध दलहरुबीच सरकार बनाउने कसरत पनि सुरु भएको छ ।

कसको नेतृत्वमा सरकार बन्ला भन्ने विषयमा जनस्तरमा समेत चर्चा र खोजखवर सुरु भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सबै क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।


प्रत्यक्षतर्फको सबै क्षेत्रको नतिजा आउँदा सत्ता गठबन्धनमा आबद्ध दलहरुले २८ र एमाले नेतृत्वको गठबन्धनले २४ सिट जितेको छ । सत्ता गठबन्धनमा पाँच दल आबद्ध छन् । पाँच दलिय गठबन्धनका दलमध्ये नेपाली कांग्रेसले १३ सिट जितेको छ ।
यसैगरी सत्ता गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सात, नेकपा माओवादी केन्द्रले चार र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार सिट जितेका छन् । गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले धनुषामा तीन, सर्लाहीमा तीन, रौतहटमा तीन, पर्सामा तीन र सप्तरीमा एक सिट जितेको छ ।


यसैगरी लोसपाले महोतरीमा तीन तथा पर्सा, सर्लाही, सिरहा र बारामा एक÷एक सिट जितेको छ । माओवादी केन्द्रले महोतरी, सर्लाही, रौतहट र पर्सामा एक÷एक सिट जितेको छ । एकीकृत समाजवादीले भने सप्तरी, सिरहा, सर्लाही र रौतहटमा एक÷एक सिट जितेको हो ।


नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा एमाले एक्लैले १५ सिट जितेको छ । जसपाले नौ स्थानमा जित हासिल गरेको छ । एमालेले सिरहामा तीन, धनुषामा चार, बारामा चार र महोत्तरीमा दुई सिट जितेको छ । एमालेले रौतहट र सप्तरीमा पनि एक÷एक सिट जितेको छ ।


जसपाले भने पर्सामा दुई, बारामा दुई तथा रौतहट, सर्लाही, सिरहा, धनुषा र महोत्तरीमा एक÷एक सिट जितेको छ । यी दुई गठबन्धनबाहेक जनमत पार्टीले पनि ६ स्थानमा जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारले समेत ६ स्थान जितेका छन् ।
जनमत पार्टीले सप्तरीमा चार र सिरहामा दुई सिट जितेको छ । स्वतन्त्र उम्मेदवारले भने पर्सा, बारा, महोतरी, रौतहट, सर्लाही र सप्तरीमा एक÷एक सिट जितेका छन् । समानुपातिकतर्फ हालसम्म ३ लाख ६५ हजार ७ सय ७३ मतसहित कांग्रेस पहिलो स्थानमा छ ।


यसैगरी ३ लाख ३२ हजार ६ सय ५५ मतसहित एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जनमत पार्टीले २ लाख ६९ हजार ९५, जसपाले २ लाख ६३ हजार ३ सय ८५, माओवादीले १ लाख ६८ हजार ८ सय, एकीकृत समाजवादीले १ लाख ३ हजार ३ सय ८५ र लोसपाले ९६ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।


अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पाटले क्रमशः १९ र १५ गरि कुल ३४ सिट जितेका थिए । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ गरेर स्पष्ट बहुमत थियो ।


यसअघिको निर्वाचनमा एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी पार्टीको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको छ ।


मधेश प्रदेशमा सरकार वनाउन दुवै गठवन्धनले दावी गरे पनि मतपरिणाम अनुसार, नेकपा एमाले नेतृत्वको गठवन्धन नै अगाडि देखिएको छ । एमाले गठवन्धनमा जसपा सामेल रहे पनि दुई दलमात्रै मिलेर सरकार वनाउन मुश्लिक देखिएको छ ।
एमालेलाई मधेश प्रदेशमा सरकार वनाउनका लागि जनमत पार्टीको सहारा लिनुपर्ने आवश्यक्ता देखिएको छ । प्रत्यक्षतर्फ एमालेले १५ स्थान जितेको र समानुपातिकबाट ८ सिट पाउने भएको छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकबाट ६ सिट प्राप्त गर्ने सम्भावना छ ।


जनमत पार्टीको प्रत्यक्षमा ६ र समानुपातिकमा ७ सिट आउने सम्भावना छ । एमालेको २४, जसपाको १५ र जनमतको १३ गरी उक्त गठबन्धनमा कुल ५२ सभासद हुने देखिएको छ । समानुपातिकतर्फ दुई वटा स्वतन्त्रलाई राखे सरकार बनाउन चाहिने ५३ सिट पुग्ने निश्चित छ । यस्तो अवस्थामा मधेश प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारको बलियो सम्भावना देखिएको छ ।
अर्कोतिर, सत्तारुढ पाँच दलिय गठबन्धनतर्फ कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ सिट पाउने देखिन्छ । प्रत्यक्षतर्फ चार सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा चार सिट पाउने देखिन्छ । प्रत्यक्षमा सात सिट जितेको लोसपाले समानुपातिकमा दुई सिट पाउने सम्भावना छ ।


प्रत्यक्षमा चार सिट जितेको एकीकृत समाजवादीले भने समानुपातिकमा तीन सिट पाउने सम्भावना देखिएको छ । यसरी हिसाव गर्दा कांग्रेसको २२, माओवादीको ८, लोसपाको ९ र एकीकृत समाजवादीको ७ सिट मिलाएर ४६ सिट हुन्छ । यस्तो स्थितिमा सत्ता गठबन्धन दलहरुलाई पनि सरकार वनाउन जनमत पार्टी वा स्वतन्त्रको सहारा आवश्यक पर्ने देखिन्छ ।
सत्तारुढ गठबन्धनकै सरकार बन्नेमा ढुक्क देखिएका नेपाली कांग्रेसका नेता एवं निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले सरकार गठन सम्बन्धमा दलहरुबीच छलफल सुरु भएको बताए । कांग्रेसले सरकारको नेतृत्व गरे मुख्यमन्त्रीका दावेदार रहेका यादवले अर्को चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।


मधेश प्रदेशमा सरकार बनाउन छलफल सुरु भए पनि नेताहरुले केन्द्रमा हुने गठबन्धनकै आधारमा प्रदेशमा सरकार बन्ने बताएका छन् । एमालेकी सभासद शारदा थापाले सरकार बनाउन अहिले छलफल नचलाइएको बताइन् ।
‘समानुपातिकतर्फको सबै परिणाम आएपछि पार्टीको केन्द्रीय निर्देशनअनुसार, सरकारका लागि प्रदेशमा पहल गरिनेछ,’ उनले भनिन्, ‘प्रदेशमा सबैभन्दा ठुलो दल रहेकाले एमालेकै नेतृत्वमा सरकार गठन हुनु स्वभाविक हो ।’ कांग्रेस र एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरिरहे पनि सरकार गठनका लागि गणितीय संख्या ५४ कसरी पु¥याउने भन्ने चुनौति छ ।


मधेश आन्दोलनपछि उदाएका मधेशवादी दललाई मधेशी जनताले पत्याएर सरकार वनाउने अभिमत दिएपनि मधेशवादी दलको कुर्सी लिप्तताका कारण जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी विलुप्त हुने अवस्थामा पुगेका छन् ।
अघिल्लो पटक जनता समाजवादी पार्टी र लोकतानित्रक समाजवादी पार्टीले सरकार चलाए पनि केन्द्रमा मन्त्री पद पाउनैका लागि दुवै दलबीच द्वन्द्व सृजना भएको थियो । यसले जनतामा नकारात्मक असर परेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव हुन् वा लोसपाका अध्यक्ष महन्थ ठाकुर, दुवैले आ— आफ्नै घमण्डका कारण यस पटक निर्वाचनमा भारी हार ब्यहोर्नु परेको छ ।


हुनतः निर्वाचनअघि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा महागठवन्धन बनाएर मधेश कब्जा गर्नका लागि जसपा र लोसपाका अध्यसँग प्रत्यक्ष भेटघाट पनि गरेका थिए । तर, जनमतलाई सानो पार्टी सम्झेर जसपा र लोसपाले गठवन्धन बनाउनबाट अस्विकार गरेका थिए । त्यस्को परिणाम अहिले आएर सरकारमा जानका लागि कांग्रेस र एमालेको मुख ताक्नुवाहेक अरु कुनै विकल्प रहेको छैन, यी दुबै दलसँग ।


मुख्यमन्त्रीमा दावी


जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने भएपछि वीरगञ्जको विरोधबाट बच्न तत्कालीन समयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जबाट लालबाबु राउतलाई मुख्यमन्त्री बनाएका थिए । राउत मुलुकमै सवैभन्दा बढि समयसम्म सरकार चलाउने मुख्यमन्त्री पनि बने ।


अहिलेको अवस्था भने केही फेरिएको छ । मुख्यमन्त्री बनाउनैका लागि कुनै खास ठाउँबाट प्रतिनिधित्व गराउनै पर्छ भन्ने बाध्यात्मक अवस्था अहिले छैन । कांग्रेस नेतृत्वको सरकार बने मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका मधेश प्रदेश सभापति श्रीकृष्ण यादव बलियो दाबेदारका रुपमा देखिएका छन् ।


दोस्रो नम्वरमा कांग्रेसकै मधेश प्रदेशका पुर्वभौतिक पुर्वाधारमन्त्री रामसरोज यादव पनि मुख्यमन्त्रीको दौडमा रहेका छन् । श्रीकृष्ण यादव रौतहटबासी हुन भने रामसरोज यादव धनुषाका हुन् । नेकपा एमाले नेतृत्वमा सरकार बनेमा भने एमालेका केन्द्रिय नेता रामचन्द्र मण्डलको नाम अग्रपंतीमा रहेको छ । नेकपा माओवादी परित्याग गरेर एमाले छिरेका मण्डल धनुषाका हुन् ।


मधेस प्रदेशको चुनावी नतिजा हेर्दा सरकार निर्माणका लागि जनमत पार्टी नै निर्णायक बनेको देखिन्छ । तर, डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रदेश सरकारमा सहभागी हुन मुख्यमन्त्री पदमा दाबी गरेको छ । जनमत पार्टीकाका केन्द्रीय सदस्य विपी साहले एमाले वा कांग्रेसमध्ये जनमतको नेतृत्व स्वीकार गर्ने पार्टीसँग गठबन्धन गर्ने पार्टीको अडान रहेको बताए ।
‘जनमत पार्टी एक्लै चुनाव लडेकाले जनताले दिएको अभिमतको आधारमा मधेशको सवैभन्दा ठुलो पार्टी पनि जनमत नै हो । जनतमले नै सरकारकाको नेतृत्व गर्नुपर्छ,’ उनले भनेका छन् । सरकार बनाउन एमालेले पनि अन्य दलहरूसँग छलफल थालेको छ । प्राप्त जानकारी अनुसार, सरकार निर्माणका लागि एमालेले जनमत पार्टीसँग औपचारिक संवादको तयारी पनि सुरु गरिसकेको छ ।

प्रतिक्रिया