पुरानाबाट निराश, नयाँसँग आश

आम निर्वाचन–२०७९

काठमाडौं । निरंकुश पञ्चायती व्यवस्थाबाट देशलाई मुक्त पार्न थुप्रै सर्वसाधारणले आफ्नो जीवनको आहुति दिए । सुखद् भविष्यको कल्पना गर्दै हजारौँ नागरिकले चरम यातना सहे । उनीहरूले सहेको यातनाका डोबहरू अझै पनि धेरैको शरीर र मनमस्तिष्कमा ताजै होला । अन्ततः लामो प्रयत्न र संघर्षपछि ०४६ सालमा देशमा प्रजातन्त्रको पुनःस्थापना भयो । चरम गरिबी, अभाव र पछौटेपनमा जीवन बिताइरहेका बहुसंख्यक नागरिकले विकास र समृतिको सपना साकार हुने आशा गरेका थिए ।
देशमा प्रजातन्त्र ल्याउन रगत÷पसिना बगाएका राजनीतिक दलहरूप्रति जनताको निकै ठूलो आशा र भरोसा पनि थियो । तर, समयक्रमसँगै जनताको आशा र भरोसामाथि तुषारापात भयो । जनताको सुख र दुःखमा साथ दिने वाचा गरेका दलका नेताहरू आफैँ राजा बन्ने धाउन्नमा लागे ।

प्रत्येक निर्वाचनमा जनताको विश्वास जितेर सदनदेखि सरकारसम्म पुगेका राजनीतिक दलका नेताहरू आफ्नै मात्र दुनो सोझ्याउनमा ब्यस्त बने । बहुसंख्यक जनताको जीवनस्तरमा कुनै परिवर्तन आएन । नेताहरू भने झन्झन् सम्पन्न बन्दै गए । फेरि एकपटक जनता निराश बने । तर, जनतासँग विकल्प थिएन । आफूले आशा र भरोसा गरेका सबै दल उस्तै भएपछि मतदातामा निर्वाचनप्रति नै वितृष्णा बढ्न थाल्यो । यस्तै निराशाजनक परिस्थितिबीच नेकपा माओवादी सशस्त्र जनयुद्धको नारा उरालेर जंगल पस्यो ।

त्यसपछि त जनता झनै दुईतर्फीमा मारमा परे । एकातिर सशस्त्र जनयुद्धको नाममा माओवादीको त्रास अनि अर्कोतिर जनयुद्ध दबाउने नाममा सर्वसाधारणमाथि सुरक्षाकर्मीको ज्यादती । जनताको जीवन झनै पीडादायी बन्न पुग्यो । यसबीचमा हजारौँ नागरिकले अनाहकमा आफ्नो जीवन गुमाए ।

अन्ततः लामो समयको प्रयास र विभिन्न चरणको छलफलपछि माओवादी शान्ति वार्तामार्फत खुला राजनीतिमा आयो । जनतामा एकपटक फेरि नयाँ आशा पलायो । देश र सर्वहारा जनताको नाममा सशस्त्र जनयुद्धमा होमिएको दल खुला राजनीतिमा आएपछि ‘अब त केही होला’ भन्ने विश्वास जनतामा पलाउनु स्वभाविक पनि थियो ।

त्यसैले ‘बुलेट’ को राजनीति छोडेर माओवादी खुला राजनीतिमा आएपछि भएको पहिलो निर्वाचनमा जनताले ‘ब्लालेट’ मार्फत आफ्नो अपार विश्वास माओवादीको पोल्टामा खन्याए । तर, जनताको विश्वासमाथि घात गर्दै नेकपा माओवादी पनि पुरानै दलहरूको पथमा अग्रसर भयो ।

सत्तामा पुगेपछि माओवादी नेताहरूका लागि पनि देश र सर्वहारा जनता गौण बने । सत्ता र सरकारको स्वाद पाएपछि माओवादी नेताहरू पनि व्यक्तिगत स्वार्थमा लिप्त भए । जनताको विश्वासमाथि फेरि एकपटक घात भयो । सर्वसाधारणका लागि विकास र समृद्धि शब्द एकादेशको कथा बन्न पुग्यो ।

यसबीचमा फेरि एउटा फरक राजनीतिक घटनाक्रम विकसित भयो । वामपन्थी शक्तिहरू मिल्ने भन्दै नेकपा एमाले र नेकपा माओवादी आपसमा गाभिए । सधैँ अभाव, गरिबी र अस्थिरतमा जीवन बिताउन अभ्यस्त भएका आमजनतामा एकपटक फेरि आशाको किरण जाग्यो । जनताले निर्वाचनमा एकीकृत वामपन्थी शक्तिहरूलाई अपार मत दिएर विजयी पनि बनाए ।

तर, त्यो खुसी पनि लामो समय टिक्न सकेन । सत्ता सुख र व्यक्तिगत स्वार्थमा लिप्त वामपन्थी नेताहरू छोटो समयमै एकअर्काको विरोधमा ओर्लिन थाले । जनताले विश्वास गरेर करिब दुईतिहाइ बहुमतको नजिक पु¥याएको दल तीन टुक्रामा विभाजित भयो । जनताका लागि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ हुन पुग्यो ।

यस्तै परिस्थितिबीच देशमा फेरि आमचुनाव हुने भयो । यसपटक (०७९ साल) को आमनिर्वाचनमा भने जनताले पुराना दलहरूलाई गतिलै शिक्षा दिने निर्णय लिए । त्यसैको परिणाम हो, प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा पुराना र स्थापित दलहरूले जिल्लिनुपर्ने अवस्था सिर्जना भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दल घोषणा गर्दा प्रमुख राजनीतिक दलका नेताहरूले उक्त दलप्रति रुखो टिप्पणी गरेका थिए । सत्ता पक्ष र विपक्षी दलले स्वतन्त्र पार्टीले जनताको मत जित्न नसक्ने कटाक्ष पनि गरेका थिए । तर, चुनावी मत परिणामले भने ठुला दलहरूलाई सोच्न बाध्य बनायो ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात सिट हासिल गरिसकेको छ । सो पार्टीले समानुपातिकतर्फ पनि १० लाख मत नघाइसकेको छ । अझै केही मतदान केन्द्रको नतिजा आउन बाँकी नै छ । केही मतदान केन्द्रमा मतदान हुन पनि बाँकी छ । ६ महिनाअघि मात्रै दल घोषणा गरेका लामिछाने नेतृत्वको पार्टीले ठूला दलले सोचेभन्दा धेरै मत ल्याएको छ ।

लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी मात्रै होइन, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि यो निर्वाचनमा राम्रो परिणाम ल्याएको छ । यसअघि नेपाली जनताले मूल पार्टीबाट फुटेर बनेका दलहरूलाई कहिल्यै विश्वास गरेका थिएनन् । बामदेव गौतम हुन् वा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, उनीहरूले विगतमा पार्टी विभाजना गर्दा पनि जनताले साथ दिएका थिएनन् ।

तर, एकीकृत समाजवादीको हकमा भने जनताले ठीक उल्टो निर्णय गरे । एमालेसँग विभाजित भएर बनेको एकीकृत समाजवादीलाई स्थापनाको छोटो समयमै जनताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिटमा विजयी बनाए । समानुपातिकतर्फ पनि एकीकृत समाजवादीले तीन लाखको हाराहारीमा मत पाइसकेको छ । एकीकृत समाजवादीले प्रदेशसभामा पनि १४ सिट जितिसकेको छ । नेकपा एकीकृत समाजवादी पहिलोपटक आमनिर्वाचनमा सहभागी भएको हो ।

यसैगरी केही समयअघि मात्र दर्ता भएको सिके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ एक सिट र प्रदेशसभातर्फ सात सिट जितेको छ । जनमत पार्टीले समानुपातिकतर्फ पनि ३ लाख ८२ हजारभन्दा बढी मत ल्याउन सफल भएको छ ।

मधेस केन्द्रित दलका रूपमा स्थापना भएर केन्द्रीय राजनीतिमा समेत गतिलो पहुँच पु¥याएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबलाई समेत जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले हराए । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राउतले यादबलाई अत्यन्तै फराकिलो अन्तरले हराएका हुन् । पुराना दलप्रति जनताले व्यक्त गरेको निराशाको एउटा गतिलो उदाहरण यो पनि हो ।

अरू त अरू जेलभित्र रहेका रेशम चौधरी आबद्ध नागरिक उन्मुक्ती पार्टीले पनि प्रतिनिधिसभातर्फ तीन सिट र प्रदेशसभातर्फ पाँच सिट जितेको छ । जेलमा रहेका रेशमले चुनावअघि मात्र आफ्नी श्रीमतिको नाममा उक्त पार्टी दर्ता गराएका हुन् । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ पनि २ लाख ५० हजारभन्दा बढी मत ल्याउन सफल भएको छ ।

यसदेखि बाहेक यसपटक प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र उम्मेद्वार पनि विजयी भएका छन् । अझ रमाइलो पक्ष त, ठूला दलका अधिकांश चर्चित नेतालाई नयाँ दलका उम्मेद्वारले नै हराएका छन् । स्पष्ट छ, यसपटकको चुनावमा मतदाताले दललाई हेरेनन् । दलका नेताप्रति उनीहरूको वितृष्णा प्रष्टै देखियो । फलस्वरूप स्वतन्त्र र नयाँ पार्टी अप्रत्यासित रूपमा अगाडि आए । नयाँ पार्टीको पोल्टामा बढी मत खस्न पुग्यो ।

विगतका निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा ठूला दलले ल्याएको मत निकै कम छ । नयाँ दल र स्वतन्त्र उम्मेद्वारका कारण ठूला र पुराना दलको संसदीय अंकगणितसमेत बिथोलिन पुगेको छ । खासगरी सहरी क्षेत्र र शिक्षित मतदाताको बाहुल्य रहेको क्षेत्रमा स्वतन्त्र र नयाँ पार्टीको बढी दबदबा देखिएको छ ।

नयाँ दलको राजनीतिक इतिहास र जग नहुँदानहुँदै पनि मतदाताले उनीहरूलाई अनुमोदन गर्नुले परिवर्तनकारी नेतृत्वको आवश्यक्तालाई पुष्टि गरेको छ । अहिले नयाँ सरकार बनाउने कसरतमा ठूलादलहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । संसदीय अभ्यासमा अंकगणितीय अभ्यास हुने भएकाले जोड घटाउको खेलमा दुई ठूला दलहरू कांग्रेस र एमालेमध्ये कसले बाजी मार्ने त्यो आगामी दिनले बताउनेछ ।

तर, संसदीय जोड÷घटाउमा नयाँ दलहरूबाट निर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने निश्चित छ । चुनावी नतिजाले स्वतन्त्र र नयाँ दलहरू पनि खुसी देखिएका छन् । तर, उनीहरूलाई आगामी राजनीतिक कार्यदिशा पहिल्याउन त्यति सजिलो भने देखिँदैन । पुराना र स्थापित दलका कतिपय चर्चित नेताहरूले चुनावमा पराजय भोगेका छन् । यो नतिजाले पनि ठूलादलहरू सुध्रिन अग्रसर हुनैपर्ने देखिन्छ ।

प्राडा राजेश गौतम नयाँ र स्वतन्त्र दलहरूले अहिले पाएको मतपरिणामलाई दीर्घकालीन रूपमा जोगाउनुपर्ने चुनौती रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको मत परिणामले दलहरूप्रतिको वितृष्णाललाई छताछुल्ल पारेको देखिन्छ । पुराना दलहरू नसुध्रिए आगामी दिनमा परिणाम झनै खराब हुनसक्छ । तर, अहिले मत ल्याएका स्वतन्त्र र नयाँ पार्टीले पनि आफ्नो वर्चस्व लामो समयसम्म जोगाउन ठुलै चुनौतीको सामना गर्नुपर्नेछ ।’

उनले पुराना र स्थापित दलहरू हुँदाहुँदै पनि नयाँ र स्वतन्त्र दललाई मतदाताले रोज्नु दलहरूका लागि सर्वकालीन चुनौती रहेको बताए । उनका अनुसार, पुराना दलले देखाएका आशा पूरा नगरेपछि मतदाताले नयाँलाई चुनेको चुनावी मतपरिणामले देखाउँछ ।

प्रा.गौतम भन्छन्, ‘पुराना दलहरूको राजनीतिक जग बलियो हुँदाहुँदै पनि स्वतन्त्र र नयाँ दलले अनपेक्षित मत ल्याउनुलाई पुरानाले सामान्य रूपमा बुझ्न हुँदैन । अब नागरिक आश्वासनमा होइन, तत्काल परिवर्तनको पक्षमा छन् भन्ने बुझ्नुपर्छ । त्यो परिवर्तनको अपेक्षा नयाँ र स्वतन्त्र दलबाट पनि उत्तिकै छ । त्यसैले उनीहरूमाथि पनि उत्तिकै ठुलो चुनौती छ ।’

यस पटकको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल (काठमाडौं ६), हरि ढकाल (चितवन १), गणेश पराजुली (काठमाडौं ७), विराजभक्त श्रेष्ठ (काठमाडौं ८), रवि लामिछाने (चितवन २), साविता गौतम (काठमाडौं २) र तोसिमा कार्की (ललितपुर ३) विजयी भएका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट अरुनकुमार चौधरी (कैलाली २), गंगाराम चौधरी (कैलाली ३) र रञ्जिता श्रेष्ठ (कैलाली १) विजयी भए । जनमत पार्टीबाट डा.सिके राउत (सप्तरी २) बाट विजयी भए । स्वतन्त्रबाट योगेन्द्र मण्डल (मोरङ ५), अमरेशकुमार सिंह (सर्लाही ४), किरणकुमार साह (रौतहट २), लालवीर चौधरी (बर्दिया २) र प्रभु साह (रौतहट ३) रहेका छन् । लालवीर चौधरी रेशम चौधरीका पिता हुन् ।

यसैगरी एकीकृत समाजवादीबाट मेटमणि चौधरी (दाङ १), राजेन्द्रप्रसाद पाण्डे (धादिङ १), प्रकाश ज्वाला (सल्यान १), धनबहादुर बुढा (सल्यान १), कृष्णकुमार श्रेष्ठ (बारा ४), अम्मरबहादुर थापा (दैलेख १), शेरबहादुर कुँवर (अछाम १), भानुभक्त जोशी (बझाङ १), प्रेमबहादुर आले (डोटी १) र माधवकुमार नेपाल (रौतहट १) रहेका छन् ।

सात दलले कटाए ‘थ्रेस होल्ड’

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको बुधबार राति ९ बजेसम्म तथ्यांकअनुसार, देशभर ९९ लाख ८० हजार १ सय ६३ मत गणना भइसकेको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा सात वटा दलले तीन प्रतिशतको थ्रेस होल्ड कटाएका छन् । हालसम्म नेकपा एमाले सबैभन्दा अगाडि छ । एमालेले २६ लाख ९० हजार ७ सय ८० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४३ हजार ६ सय ६६ मत पाएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्र ११ लाख ४३ हजार १ सय २१ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख ९७ हजार ९ सय ८० मत पाएको छ । यसका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले पनि थ्रेस होल्ड कटाएका छन् ।

राप्रपाले हालसम्म ५ लाख ६९ हजार १ सय ७५ मत पाएको छ । जसपाले ३ लाख ८७ हजार ५ सय ३७ मत ल्याएको छ । जनमत पार्टीले भने ३ लाख ४५ हजार ६ सय ७३ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादी भने विस्तारै तीन प्रतिशतको तगारो पार गर्ने लक्ष्यतर्फ अग्रसर देखिन्छ । एकीकृत समाजवादीले हालसम्म २ लाख ८१ हजार २७ मत पाएको छ ।

आयोगका अनुसार, अहिले समानुपातिकतर्फ उदयपुर क्षेत्र नमबर १ तथा सुनसरी क्षेत्र नम्बर ३ र ४ को मतगणना चलिरहेको छ । अन्य निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाको भने मतगणना सुरु भएको छैन ।

प्रतिक्रिया