इलामबाट नेम्वाङको लगातार पाँचौ जित, खनालको जितमा ब्रेक

इलाम । पूर्वसंविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई एक सय १४ मत अन्तरले पराजित गरेका हुन् ।

सुरुवातदेखि नै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा नेम्वाङलाई चुनाव जित्न यो पटक निकै चुनौती सामना गर्नुपर्यो । कहिले अग्रता बनाउँदै त, कहिले पछि पर्दै भएपनि नेम्वाङले परिणाम आफ्नो पक्षमा पार्न सफल भए । ६९ हजार ८५ मत खसेकामो नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका थिए ।

उनका निकटतम् प्रतिष्पर्धी खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरे । नेम्वाङको सो क्षेत्रबाट संसदीय चुनावी यात्राको लगातार पाँचौं जित हो । २०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेदवाार बन्दै आएका नेम्वाङले सबै निर्वाचन जित्दै आएका छन् ।

२०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्वाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई नेम्वाङले पराजित गरेका थिए ।

नेम्वाङ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए ।

२०३३ सालमा राजद्रोह मुद्दामा केही समय उनी जेल समेत परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनेका थिए । उनी जनआन्दोलन ०६२–०६३ सँगै पुनर्सथापित संसदका सभामुख बने । दुवै संविधानसभाको अध्यक्षको भूमिका निर्वाह गर्ने पाए । नेम्वाङ चार पटक सभामुख समेत सर्वसम्मत चुनिएका थिए ।

उता पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको भने संसदीय चुनावी यात्रामा ब्रेक लागेको छ । सातौँ पटकको संसदीय चुनावी यात्रामा छैटौँ पटक जितको खोजीमा रहेका खनाल पराजित भएसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको हो । खनाल आफ्नो पूर्व पार्टी नेकपा (एमाले) इलामका अध्यक्ष महेस बस्नेतसँग पराजित भएका छन् ।

एमालेमा रहँदा आफ्नै कार्यकर्ता रहेका बस्नेतसँग खनाल दुई हजार ६ सय ६२ मतान्तरले पराजित भएका हुन् । ५९ हजार १ सय ३६ मत खसेको बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गर्दा खनालले २३ हजार ८८ मत मात्र प्राप्त गरे । खनालले २०४८ पछिका ६ मध्ये पाँचवटा चुनाव सोही क्षेत्रबाट एमालेको तर्फबाट जित्दै आएका थिए । तर, पार्टी परिवर्तनपछि संसद यात्रा टुङ्गिएको छ ।

खनाल पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । खनालले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए ।

उनी २०५६ सालको आम निर्वाचनमा पराजित भएका थिए । यसपटक उनकै पूर्व पार्टीका नेता बस्नेतसँग पराजित हुनुपरेको छ । २०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष बनेका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्दै झलनाथ खनालको विरासत भत्काउन सफल बनेका छन् ।

१७ भदौ २०१७ मा इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा जन्मिएका बस्नेत २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । इतिहासमा स्नातकोत्तर बस्नेत २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे ।

राजनीति र अध्यापनका कारण उनी शान्तिपुर छाडेर इलाम बसाइँ सरेका थिए । प्राध्यापन छाडेपछि २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी एमालेबाट इलाम नगरपालिकाको मेयरमा निर्वाचित भए । त्यस्तै स्थानीय तह पुनर्संचना पश्चात २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट समेत इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रदेशसभामा एमालेले दुई र माओवादीले एक क्षेत्र गुमायो । कांग्रेस र एसलाई फाइदा इलामको प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर १ को समानुपातिक तर्फको मतगणना जारी रहेकाले औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

यसपटकको निर्वाचनमा प्रतिनिधिसभा तर्फ नेकपा (एमाले) लाई फाइदा पुगेको छ भने नेकपा (एकीकृत समाजवादी) लाई क्षति पुगेको छ । प्रदेशसभा तर्फ नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई फाइदा पुगेको भने नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई क्षति पुगेको छ ।

प्रतिनिधिसभा तर्फ अघिल्लो निर्वाचनमा दुवै क्षेत्र जितेको एमालेले यसपटक पनि जोगाउन सफल भएको छ । पार्टी विभाजनपछि गुमाएको एक सिट प्राप्त गर्न एमाले सफल बनेको छ । इलाम १ बाट एमाले जिल्ला अध्यक्ष महेस बस्नेत र २ बाट केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् ।

उता एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका पूर्वप्रधानमन्त्री झलनाथ खानल पराजित भएपछि एकीकृत समाजवादीले आफ्नो क्षेत्र गुमाएको छ । यसरी प्रतिनिधिसभामा एकीकृत समाजवादीले क्षति व्यहोरेको छ । उता प्रदेशसभा तर्फ भने एमालेले अघिल्लो निर्वाचनमा जितेका तीनै क्षेत्र गुमाएर माओवादीले जितेको अर्को एक क्षेत्र मात्र जितेको छ ।

उसले इलाम १ को प्रदेशसभा ‘क’ र ‘ख’ एवं २ को प्रदेशसभा ‘क’ गुमाएको छ । एमालेले गुमाएको इलाम १ को प्रदेशसभा ‘ख’ र २ को प्रदेशसभा ‘क’ बाट कांग्रेसका उम्मेदवाार निर्वाचित भएका छन् । १ को प्रदेशसभा ‘ख’ बाट कांग्रेसका शम्शेर राई र २ को प्रदेशसभा ‘क’ बाट गोविन्द गिरी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रसले कुनैपनि क्षेत्र जितेको थिएन ।

यसपटक भने दुई क्षेत्र आफ्नो बनाउन सफल बनेको छ । त्यस्तै एमालेले गुमाएको एक क्षेत्र भने विभाजनपछि बनेको एकीकृत समाजवादीले लिन सफल भएको छ । एमालेले गुमाएको इलाम १ को प्रदेशसभा ‘क’ बाट एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू निर्वचित भएकी छन् ।

उनी अघिल्लो विर्वाचनमा सोही क्षेत्रबाट एमालेको तर्फबाट निर्वचित भएकी थिइन् । आफूले जितेको सो क्षेत्रसमेत एमालेले गुमाएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र इलाम २ को ‘ख’ मात्र एमालेले जित्न सफल भएको छ ।

यसअघि माओवादी केन्द्रका धिरेन्द्र शर्मा (रमण) ले जितेको सो क्षेत्रमा एमालेका रामबहादुर मगर राना निर्वचित भएका छन् । माओवादीले सोही क्षेत्रसमेत गुमाएको छ । प्रदेश १ मा एमाले पहिलो पार्टी बन्दै, सिट संख्या भने घट्यो प्रदेश १ का पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ५६ मध्ये ५३ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेकपा (एमाले) ठूलो दल बनेको छ ।

उसले २४ सिट जित्दै पहिलो पार्टी बनेको हो । यद्यपि २०७४ सालको चुनावमा बाम गठबन्धन हुँदा प्रत्यक्षतर्फ ३६ सिट जितेको एमालेले यसपटक १२ सिट गुमाएको छ । समानुपातिक तर्फको भने अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र सबै पार्टीको सिट संख्याको निर्धारण हुनेछ ।

अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकबाट १५ सिट जितेको थियो । सो निर्वाचनमा प्रदेशसभामा एमालेको एकल बहुमत थियो । तर, पार्टी विभाजनपछि बहुमत गुमाएको थियो । त्यसैगरी अघिल्लो निर्वाचनमा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १५ सिट जित्दै दोस्रो दल बनेको छ । उसले अघिल्लो निर्वाचनमा समानुपातिकमा १३ सिट जितेको थियो ।

नेकपा (माओवादी केन्द्र) ले ९ सिट जितेर तेस्रो बनेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा ११ सिट जितेको माओवादीले २ सिट गुमाएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकमा ५ सिट जितेको थियो । एकीकृत समाजवादी पार्टीले ३ सिट जितेको छ । तत्कालिन एमालेबाट विभाजन भएर बनेको सो पार्टी पहिलो पटक प्रदेशसभा निर्वाचनमा सहभागी भएको हो ।

पार्टी विभाजन हुँदा प्रत्यक्ष र समानुपातिकका गरी १० जना एकीकृत समाजवादीतिर लागेका थिए । उता जनता समाजवादी पार्टी (जसपा) ले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जितेको १ सिट गुमाएको छ । जसपाले यस पटक कुनैपनि सिट जित्न सकेन । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ भने २ सिट जितेको थियो ।

यसपटक प्रदेश राष्ट्रिय प्रजतान्त्र पार्टी नयाँ दलका रुपका थपिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सिट नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा एक सिट जितेको थियो ।

अघिल्लो निर्वाचनमा समानुपाति तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत १ सिट जितेको थियो । उसले यसपटक पनि १ दशमलव ५ प्रतिशत मत प्राप्त गरी थ्रेसहोल्ड १ सिट जित्नेछ । समानुपातिक तर्फको मतगणना जारी रहेकाले कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने यकिन गर्न सकिएको छैन ।

प्रतिक्रिया