विवेकहिन नेता र अन्धभक्त कार्यकर्ताको ध्यानाकर्षण रहोस्

पार्टीको मत कता गयो ?

नारायण गाउँले

एउटा वडा अध्यक्ष पनि देउवा भन्दा राम्रो व्यक्ति छानिए हुन्थ्यो भन्ने लाग्छ मलाई । तीन करोड़ जनसंख्यामा उनलाई नै प्रधानमन्त्री बनाउन भोट माग्नु र दिनुको औचित्य कसैसँग थिएन । अर्का दाबेदार ओलीलाई त कम्तिमा यो चुनाबमा फेरि प्रधानमन्त्रीको रूपमा भोट माग्ने र दिने औचित्य रत्तीभर थिएन । उनकै बहुमतमा देशको राजनीति सबैभन्दा अस्थिर, भ्रष्ट र दिशाहीन बनेको हो । उनकै नेतृत्वमा संसद सबैभन्दा पंगु बनेको मात्रै नभई अख्तियार, अदालतदेखि राष्ट्रपति कार्यालयसम्म सबै विवादित बने ।

काठमाडौं–१ मा माओवादी र एमाले मिल्दासमेत गत निर्वाचनमा ११ हजार भोट ल्याएका प्रकाशमान सिंहले यस पटक जम्मा ७ हजार मत ल्याए, समाजवादी र माओवादी मत कता गयो ? काठमाडौं–२ मा २६ हजार भन्दा धेरै मत ल्याएर तत्कालीन एमाले नेता माधव नेपाल विजयी भएका थिए । अहिले एमाले उम्मेदवारले १२ हजार मत पनि पाएनन् । १४ हजार मत कता हरायो ? के त्यो माओवादी मत थियो ? त्यो मत अहिले किन ओनसरीले पाइनन् ? माधव नेपालको समाजवादी मत खोइ ?

काठमाडौं ५ मा कांग्रेस र माओवादी मतभन्दा एमाले मत धेरै थियो, प्रदीप पौडेलसँग ईश्वर पोखरेल कसरी पराजित भए ? काठमाडौं–६ मा एमाले र माओवादी मिल्दा समेत १६ हजार बढ़ी मत ल्याएर विजयी भएका भीमसेन दास प्रधान यसपालि माओवादी र समाजवादीसँग मिल्दा पनि तेस्रो भए । आधाभन्दा बढ़ी मत कता गयो ? काठमाडौं–४ मा एमाले र माओवादी मिल्दासमेत गत आम निर्वाचनमा गगन थापाको मत २१ हजार ५ सय थियो । अहिले माओवादीसँग मिल्दा र घण्टीको उम्मेदवार नहुँदासमेत उनको एक मत पनि किन बढ़ेन ?

एमालेको गढ़ मानिने काठमाडौं–७ मा अघिल्लो निर्वाचनमा १८ हजार बढ़ी मत ल्याएर रामवीर मानन्धर विजयी भएका थिए । कांग्रेसले सघाएको राप्रपाले जम्मा १० हजार भोट पाएको थियो । अहिले एमालेको सात हजार भोट पनि आएन । ११ हजार भोट के भयो ? काठमाडौं–८ मा अघिल्लो पल्ट कांग्रेस एक्लैले १२ हजार बढ़ी भोट ल्याएको थियो । यसपालि नेकपा समाजवादी, माओवादी र कांग्रेस मिलेर लड्दा जम्मा ४ हजार भोट आयो । माओवादी र कांग्रेस मत कता गयो ?

काठमाडौं–९ मा माओवादीसँग मिल्दा एमालेका कृष्ण गोपाल श्रेष्ठले २२ हजार मतका साथ जितेका थिए । त्यसमा आधा मत माओवादीको थियो, यसपालि उनले ११ हजार मत ल्याएरै पनि विजयी भए । माओवादी उम्मेदवार कल्पना धमलाले ६ हजार मतमात्रै किन पाइन् ? कांग्रेस, समाजवादी र माओवादी मत कता गयो ? जबकि माओवादीको मात्रै १० हजार बढ़ी मत हुनुपर्ने हो ।

चितवनको कुरा गर्ने हो भने क्षेत्र नम्बर १ मा एमाले र माओवादी मिल्दा गत निर्वाचनमा सुरेन्द्र पाण्डेले ५० हजार बढ़ी मत पाएर विजयी भएका थिए । कांग्रेसको मत ३६ हजार थियो । अहिले कांग्रेस उम्मेदवार विश्व पौडेलले २० हजार मत पनि ल्याउन सकेनन् । कांग्रेसकै १६ हजार मत र माओवादी–समाजवादीको हजारौं मत कता गयो ? त्यहाँ एमालेकै २० हजार बढ़ी मत कता गयो ? कसरी चितवन एमाले र कांग्रेसमुक्त बन्दै गयो ? चितवन–२ मा गत निर्वाचनमा एमाले र माओवादी मिल्दा समेत २७ हजार मत ल्याएको कांग्रेसले अहिले माओवादीसँग मिलेर समेत किन १५ हजार मत कटाउन सकेन ? चितवन–३ मा गत निर्वाचनमा प्रचण्डले ४८ हजार मत ल्याएका थिए । त्यसमध्ये आधा मत त माओवादीको हुँदो हो । त्यही आधा मत ल्याए पनि उसका उम्मेदवारले जित्नुपर्ने हो ।

प्रत्यक्षमा त एउटा दलले अर्को दललाई सिध्याउन घण्टीमा मत हालिदिए अरे, एकछिन पत्याऊँ पनि । तर, संगठनसम्म बनाउन र प्रदेशमा पार्टी दर्ता गर्नसम्म नभ्याएको घण्टी दलले समानुपातिकमा तेस्रो स्थानमा कसरी प्रतिष्पर्धा गर्दै छ ? निर्वाचनअघि पनि ’तँ’ र ’त्यो केटो’ भनेर हेप्दै एउटा सिट पनि नआउने भविष्यवाणी गरेका थिए एमाले अध्यक्ष ओलीले । अब एक–अर्को दल या आफ्नै पार्टीभित्र अन्तर्घात भएर उछिट्टिएको बाछिटा मात्रै हो भनेर घण्टीको व्याख्या हुनेछ ।
कतिले त आफ्ना अग्र्यानिक दल हराउन युरोपियन युनियनले नयाँ दल बनाएको र घरघरै गएर भोट हाल्न लगाएको भनिसके । जनता दलदास मात्रै हुँदैनन् र परिवर्तन चाहन्छन् भन्ने स्वीकार गर्न ठूलो मुटु चाहिन्छ, जुन दलहरूसँग छैन, नेताहरूमा त झन् छैन ।

अघिल्लोपल्ट देउबाले शर्मनाक हारको जिम्मा आफूले लिएनन्, बाम–गठबन्धनलाई दिए । आफू हारेको नभई अरू जितेकाले पछि परेको उनको व्याख्या रह्यो ।

ओलीले झन्डै दुई तिहाई बहुमत ध्वस्त हुनु, पार्टी छिन्नभिन्न हुनु र स्थानीय चुनाबमा कमजोर नतीजा हासिल हुनु सबैको दोष प्रचण्ड र माधव नेपाललाई दिए, आफूले एक सुका दोष लिएनन् । अब माओवादीले घण्टीबाट खेदिनुको दोष कांग्रेस या कुनै अर्को पार्टीलाई दिनेछ र आफूलाई चोखो बनाउनेछ । हिजो एक्लै बहुमत ल्याउने कांग्रेस आज आधा सिटमा मात्रै उठ्न सक्ने बन्दा पनि दोष लिन चाहन्न । अब पचास वर्ष आफ्नै सरकार बन्ने भाषण गर्ने ओलीले आफ्ना सबै जसो सहकर्मीले गुल्टिङ् खाए पनि हामीले जितेकै हो भन्ने नयाँ टुक्का निर्माण गर्नेछन् । र, परजीवी नभई कतै नजित्ने अवस्थामा पुग्दा समेत प्रचण्डले कुन टाउकोमा टाँसिँदा बढ़ी फाइदा हुन्छ भन्नेमा दिव्य ज्ञान बाँड्नेछन् । दलहरूको यो दोषारोपण गर्ने र आफू ऐनाअघि नउभिने संस्कार रहिरहे न नयाँ दलले ठाउँ लिने हुन् ।

मैले आजसम्म देउबाको भिजन र विचार बोकेको कुनै लेख पढेको छैन । अस्पष्ट बोली र शारीरिक दुर्बलता अलग पाटो भयो तर कुनै पनि भाषणमा एक चिम्टी विद्वत्ता, तार्किकता र देश बनाउने रोडम्याप सुनेको छैन । हो, अन्य समकालीन नेता जस्तै उनी अर्को नेतालाई तुच्छ शब्दमा गाली गर्दैनन्, जी जोडेर बोल्छन् र तँ भन्दैनन् । दशमा एक अंक यसले आउला तर बाँकी ९ अंक ? यत्रो विशाल चुनाबमा उनको भाषण सुनेर कति मत कांग्रेस या गठबन्धनमा खसे होलान् ? एउटा पनि नयाँ मत उनको भाषणले तानेजस्तो लाग्दैन । न उनको ‘बड़ी ल्याङ्बेज’ नै उत्साह भर्ने खालको छ । बोल्न नसके पनि सुन्न सक्ने धैर्य त होस् न भन्ने लाग्छ, त्यो पनि उनमा छैन । उनी सामान्य प्रश्नमैं पनि झोक्किन्छन् । उनले राजनैतिक जीवनमा स्वच्छ छवि कायम गरेका छन् भन्ने त झन् छँदै छैन । न अवसर नपाएकाले एकपल्ट हेरौँ भन्ने अवस्था छ । सार्वजनिक कार्यक्रममा ढंगसँग शिष्टतापूर्वक एकछिन बस्न सक्ने स्वास्थ्य र व्यक्तित्व पनि छैन ।

एउटा वडा अध्यक्ष पनि देउवा भन्दा राम्रो व्यक्ति छानिए हुन्थ्यो भन्ने लाग्छ मलाई । तीन करोड़ जनसंख्यामा उनलाई नै प्रधानमन्त्री बनाउन भोट माग्नु र दिनुको औचित्य कसैसँग थिएन । अर्का दाबेदार ओलीलाई त कम्तिमा यो चुनाबमा फेरि प्रधानमन्त्रीको रूपमा भोट माग्ने र दिने औचित्य रत्तीभर थिएन । उनकै बहुमतमा देशको राजनीति सबैभन्दा अस्थिर, भ्रष्ट र दिशाहीन बनेको हो । उनकै नेतृत्वमा संसद सबैभन्दा पंगु बनेको मात्रै नभई अख्तियार, अदालतदेखि राष्ट्रपति कार्यालयसम्म सबै विवादित बने । काम गर्ने आशामा जनताले दिएको बहुमत उनले व्यक्तिगत महत्वाकांक्षा र ईगोको तुष्टिका लागि प्रयोग नगरेको भए अहिले घण्टी बजाएको अनुमान गरिएका जनताले नेकपा भन्ने दललाई नै भोट दिने थिए ।
तुक मिलाएर भाषण गर्न र प्रश्नहरूको ओठे जबाफ दिन उनी सक्षम होलान् । इतिहासका केही पात्र, प्रसंग र सामान्य ज्ञानका विषय उनलाई अरू नेताभन्दा बढ़ी ज्ञान होला तर एउटा नेताका रूपमा नभई नहुने विनयशीलता, जिम्मेदारीपन र राजनैतिक इमान उनमा कत्ति पनि छैन ।

पछिल्ला तीन–चार वर्षका उनका भाषण दोहो¥याएर सुन्नुभो भने त्यहाँ विपक्षीदेखि आफ्नै सहकर्मी नेतालाई होच्याउने, गिद्ध र स्याल जस्ता उपमा दिने, आत्मप्रसंशा गर्ने र आफूबाहेक सारा दोषी रहेको दाबी गर्नेबाहेक थप केही भेटिन्न । उनी अगाडि पनि देशमा भ्रष्टाचार नभएको होइन । तर कारबाही र रोकथाम नभए पनि प्रश्न उठ्दा हामी छानबिन गर्छौं र दोषी देखिए कारबाही हुन्छ भन्नेसम्म सुन्न पाइन्थ्यो । उनले त हाकाहाकी आफै काँध थापेर सफाइ दिने अनौठो र खतरनाक नजीर स्थापित गरे । उनको कार्यकाल पार्टीको झगड़ा, भागबण्डा र एकले अर्कालाई जथाभावी गाली गरेर बित्यो । विघटनका केही महिनामात्रै होइन वर्सैसम्म संसद अवरोध गर्ने र तलबभत्ता बुझ्ने अराष्ट्रिय गतिविधि गरेर फेरि संसदमा पुग्ने औचित्य उनले कसरी स्थापित गर्न सक्थे र ?

कम्तिमा त्यो बेथिति र पाँच वर्ष खेर जानुमा अलिकति गल्तीबोध गरेर अब नदोहो¥याउने अठोट गरेको भए पनि अलग हुन्थ्यो । उनमा रत्तीभर आत्मालोचना छैन । भीम रावल या घनश्यामहरूले पार्टीको होइन, उनका निरंकुश र गैरसंवैधानिक कदमको विरोध गरेका थिए । तर उनले पार्टी भनेको केपी ओली हो भन्ने भाष्य स्थापित गरे । पार्टीविरोधी भनेर घनश्यामले नपाएको टिकट पार्टीलाई सबैभन्दा बढ़ी दुःख दिने दीपक बोहोराले किन पाए भन्ने प्रश्नको के उत्तर होला ?

रोचक त के छ भने उनलाई मिडियाले तपाईं भनेर नलेखेकोमा उनले पत्रकारसम्मेलन नै गरेर संस्कारको पाठ पढ़ाएका थिए । तर उनी आफै प्रतिस्पर्धीलाई तिमी या उनी भनेर सामान्य आदरसम्म प्रयोग गर्दैनन् । रवि लामिछाने उनका लागि ‘यसो पत्रकारिता गरेर खाने केटो’ मात्रै रह्यो । सार्वजनिक मञ्चमा उनीसम्म नभनी त्यो र ऊ भनेर सम्बोधन गर्ने उनको घमण्ड अचम्मको थियो ।

प्रचण्ड भन्ने त अलग अस्तित्व नभएर घोषित रूपमैं माथिका दुईबीच पेण्डुलमको भूमिकामा थिए । आजभोलिको नयाँ घड़ीमा त्यो नभए पनि चल्छ नै । तीन वटा दल दल नभएर प्राइभेट कम्पनी जस्तो भएपछि देशमा ठूलो राजनैतिक भ्याकुम देखिएको थियो । एउटा डरलाग्दो खालीपन ! एउटै धक्कामा त्यो खाली ठाउँ नभरिएला तर सधैँ खाली पनि रहन्न । खाली ठाउँमा राम्रै वस्तु मात्रै भरिन्छ भन्ने त हुँदैन तर खाली रही रहनु दुर्घटनालाई निम्ता दिनुजस्तै हुन्छ । मलाई त अर्को चुनाबको पो खुल्दुली लागिसक्यो ।

(नारायण गाउँलेको फेसबुकबाट)

प्रतिक्रिया