सुदूरपश्चिममा प्रदेशसभा सदस्यमा कसले कति सिट जिते ?

धनगढी । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा सुदूरपश्चिमका ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

प्रदेशसभा प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा ३० वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको हो । बाजुराका प्रदेशसभाका दुई निर्वाचन क्षेत्रको नतिजा भने बाँकी नै छ ।

प्रदेशसभाका प्रत्यक्षतर्फका ३० निर्वाचन क्षेत्रमा सार्वजनिक भएको नतिजा अनुसार नेपाली कांग्रेसले ११ सिट जितेर पहिलो, नेकपा (माओवादी केन्द्र)ले ८ सिट जितेर दोस्रो, नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेर तेस्रो,नेकपा एमालेले ३ सिट जितेर चौथो, नेकपा (एकीकृत समाजवादी) ले र २ सिट जितेर पाँचौँ दल भएको छ भने एक स्थानमा स्वतन्त्र विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा कैलाली–२ (क)बाट कमलबहादुर शाह,कैलाली–४ (ख)बाट प्रकाशबहादुर बम,कञ्चनपुर–१ (क) बाट दीवानसिंह विष्ट, कञ्चनपुर–२ (ख) बाट बहादुरसिंह थापा, कञ्चनपुर–३ (ख) बाट बेलबहादुर रानामगर, अछाम–१ (क) बाट मेघराज खड्का,अछाम–२ (ख) बाट मानबहादुर रावल, बझाङ (क) बाट पृथ्वीबहादुर सिंह, बैतडी (ख) बाट शिवराज भट्ट,दार्चुला (क)बाट विक्रमसिंह धामी र कैलाली–५ (ख) प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट अछाम–१ (ख) बाट झपटबहादुर साउँद, अछाम–२ (क) बाट अक्कलबहादुर रावल,डोटी (ख) बाट शिवसिंह ओली, डडेल्धुरा (क) बाट खगराज भट्ट, बझाङ (ख) बाट भीमबहादुर भण्डारी, दार्चुला (ख) बाट मानबहादुर धामी, कञ्चनपुर–२ (क) बाट ओमविक्रम भाट र कैलाली–५ (क) बाट रमेशसिंह धामी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ (क) बाट कैलाश चौधरी,कैलाली–१ (ख) बाट लक्ष्मणकिशोर चौधरी, कैलाली–२ (ख) बाट रामेश्वर चौधरी, कैलाली –३ (क) बाट घनश्याम चौधरी र कैलाली–३ (ख) बाट खुशीराम डगौरा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा एमालेबाट कञ्चनपुर–१ (ख) बाट बीरबहादुर थापा, डोटी (क) बाट चक्रबहादुर मल्ल र बैतडी (क) बाट सुरेन्द्रबहादुर पाल विजयी भएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कैलाली–४ (क) बाट दीर्घबहादुर सोडारी र कञ्चनपुर–३ (क) बाट प्रकाशबहादुर रावल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

डडेल्धुरा (ख) बाट स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसले ४, माओवादी केन्द्रले १०,एमालेले १७ र जसपाले १ सिट जितेको थियो ।

सत्ता गठबन्धन प्रत्यक्षमै बहुमत नजिक

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फ नै बहुमत नजिक पुगेको छ । ३२ प्रत्यक्ष र २१ समानुपतिकतर्फबाट गरी ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फका ३२ निर्वाचन क्षेत्र मध्ये ३० क्षेत्रको नतिजा आइसक्दा सत्ता गठबन्धनले २१ सिट जितेको छ ।

सत्ता गठबन्धन दल कांग्रेसले ११,माओवादी केन्द्रले ८ र एकीकृत समाजवादीले २ सिट जितेको छ । बाजुराका दुई क्षेत्रको नतिजा बाँकी छ । त्यहाँ कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रत्यक्षतर्फको नतिजा हेर्दा सत्तारुढ गठबन्धनको सरकार बन्ने देखिन्छ । सरकार गठनका लागि सत्तारुढ गठबन्धनलाई ६ सिटको आवश्यक पर्छ । समानुपातिकमा पनि सत्तारुढ गठबन्धन अगाडि नै छ । यद्धपि समानुपातिक तर्फको नतिजा भने आइसकेको छैन ।

प्रतिक्रिया