इलाममा एमालेका सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै कांग्रेसका डम्बर खड्का अगाडि

इलाम । इलाममा पूर्वसंविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्न बाँकी रहँदा नेम्वाङ १६ मतले पछि परेका हुन् ।

नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गरेका छन् । उता उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २८ हजार ४ सय ८६ मतका साथ अग्रता बनाएका छन् ।

अघिल्लो दिनसम्म एक हजार सात सय ३४ मतान्तर बनाएको नेम्वाङको अग्रता उल्ट्याएर खड्काले अग्रता लिएका हुन् । अहिले नेम्वाङ र खड्का चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ ।

बाँकी २ वटा वडाको मतगणनामा दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले सहजै आँकलन गर्न सकेका छैनन् । गत स्थानीय तहको निर्वाचन अनुसार वडा नम्बर २ मा एमालेको केही प्रभाव बलियो भएको दाबी गरिएको छ भने बाँकी वडाहरुमा कांग्रेसको प्रभाव बलियो रहेको दावी गरिएको छ ।

प्रतिक्रिया