हरेक निर्वाचनमा एउटै लहर तर विश्लेषकहरूको दृष्टिकोण फरक

०६४ साल यताका सबै निर्वाचनहरूमा फरकफरक लहर आएको विश्लेषण धेरैले गरेका छन् । झट्ट हेर्दा त्यस्तो देखिन्छ पनि । किनकी ०६४ सालको निर्वाचनमा माओवादी र मधेसीदलका पक्षमा लहर आएको थियो । ०७० सालको निर्वाचनमा राप्रपाको पक्षमा लहर आएको जस्तो देखियो । ०७४ सालको निर्वाचनमा साझा विवेकशीलको पक्षमा लहर आएको देखिएको थियो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको पक्षमा लहर आएको देखिएको छ ।

यस्तो लहर किन आयो ? भन्ने विश्लेषणमा भने सबैको एक मत देखिँदैन । धेरैको मत छ, ‘पुराना पार्टी तथा पुराना अनुहारप्रति मतदातामा वितृष्णा उत्पन्न भयो ।’ यो विश्लेषणमा थोरै मात्रै सत्यता छ । बास्तवमा कुनै पनि निर्वाचनमा लहर परिवर्तन भएको छैन । सबै निर्वाचनको लहर एउटै छ । त्यो लहर हो, ‘मतदाताले युवाहरूलाई मन पराउनु ।’ हरेक निर्वाचन युवाहरूको पक्षमा देखिएको छ । कसरी देखिएको छ त हरेक निर्वाचन युवाहरूका पक्षमा ? ०६४ सालमा माओवादीले प्रस्तुत गरेका उम्मेद्वारहरू युवा थिए । आज १५ वर्षपछि उनीहरू प्रौढ भए, तर उनीहरू नै सधँै उम्मेद्वार बनिरहे ।

एमाले र नेपाली कांग्रेसको हकमा पनि त्यहि हो । ०४८ सालको निर्वाचनमा कांग्रेस र एमालेका धेरै उम्मेद्वार युवा थिए । यो ३१ वर्षको अवधिमा उनीहरू वृद्ध भए । ती वृद्धहरू जो जो उम्मेद्वार भए अधिकांशले चुनाव हारे । यदि गठबन्धन नहुँदो हो त ०४८ सालदेखिका अनुहारहरूले एउटाले पनि चुनाव जित्ने थिएनन् ।

गत स्थानीय निर्वाचनको मत परिणामलाई हेर्ने हो भने नेपाली कांग्रेसका सबैभन्दा कमजोर निर्वाचन क्षेत्र भनेका मुस्ताङ र काठमाडौं क्षेत्र नं ६ हुन् । यी दुई क्षेत्रमा नेपाली कांग्रेस निकै कमजोर थियो । मुस्ताङमा त एमालेको भन्दा नेपाली कांग्रेसलगायत सत्ता गठवन्धनको भोट आधा कम थियो ।
काठमाडौं क्षेत्र नं ५ मा पनि पाँच दलीय गठबन्धनको भोट भन्दा नेकपा एमालेको भोट बढी थियो । तर आसन्न आमनिर्वाचनमा यी दुवै क्षेत्रमा निकै फराकिलो मत अन्तरका साथ नेपाली कांग्रेसका उम्मेद्वारहरूले बाजी मारे । किनकी काठमाडौं क्षेत्र नं ५ मा निकै थोरै भोट भएको नेपाली कांग्रेसले ४७ वर्षीय युवा नेता प्रदीप पौडेललाई अघि सारेको थियो भने नेकपा एमालेले ६९ वर्षीय वृद्ध नेता ईश्वर पोखरेललाई अघि सारेको थियो ।

रोचक कुरा के छ भने पाँचदलीय सत्ता गठबन्धनबीच काठमाडौंका १० वटा निर्वाचन क्षेत्र भागबन्डा गर्दै गर्दा क्षेत्र नं ५ कसैको रोजाइमा थिएन । गठबन्धनको भोट कम छ, हारिहालिन्छ भनेर कांग्रेस, माओवादी, समाजवादी सबै भागेका थिए । तर सत्ता गठबन्धनका लागि राजधानी काठमाडौंमा यही क्षेत्रले लाज बचाइदियो ।

त्यसो त मुस्ताङमा पनि नेपाली कांग्रेसले पुरानै उम्मेद्वार रोमी गौचनलाई टिकट दिन खोजेको थियो । गत आमनिर्वाचनमा करिब दोब्बर मत अन्तरले पराजित गौचनले आफ्नै छोरा योगेश गौचनलाई अघि बढाउन सुझाव दिनुभयो । नेविसंघको राजनीतिमा लामो समय भिज्नुभएका २९ वर्षीय योगेश गौचन प्रदेशसभाका क्षेत्रमा पनि आफूजस्तै युवाको टिम बनाएर होमिनुभयो । निकै फाकिलो मत अन्तरले एमालेको लालकिल्ला मुस्ताङलाई कांग्रेसका युवा उम्मेद्वारहरूले भत्काइदिए ।

युवा उम्मेद्वार अघि नसार्दा के हविगत हुँदो रहेछ ? भन्ने उदाहरणका रूपमा काठमाडौंकै क्षेत्र नं ६ लाई लिन सकिन्छ । ०७० साल यताका हरेक निर्वाचनको मत परिणम हेर्ने हो भने काठमाडौं क्षेत्र नं ६ लाई नेपाली कांग्रेसको किल्लाभन्दा फरक पर्दैन । तर, यसपटक नेपाली कांग्रेसका ७२ वर्षीय नेता भीमसेनदास प्रधानले करारी हार बेहोर्नु भयो । जबकी नेपाली कांग्रेसले आफूले पाएका ९१ वटा निर्वाचन क्षेत्रमध्ये काठमाडौं क्षेत्र नं ६ लाई सबैभन्दा सुरक्षित क्षेत्र ठानेको थियो ।

काठमाडौं र मुस्ताङ त उदाहरण मात्रै हुन् । बुढा उम्मेद्वार खडा गरेका कारण युवा उम्मेद्वारकै घानमा परेर कांग्र्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले धेरै सिट गुमाएका छन् ।

उदाहरणका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं ७ गुमाउनुको मुख्य कारण ७० वर्षीय श्याम घिमिरेलाई उम्मेद्वार बनाउनु हो । एकीकृत समाजवादीले पाल्पा क्षेत्र नं २ मा सोमप्रसाद पाण्डेलाई उम्मेद्वार बनाएको थियो । तर एमालेका ४४ वर्षीय विद्यार्थी नेता ठाकुर गैरेले भारी मत अन्तरले बाजी मार्नुभयो । जबकी यो क्षेत्रमा सत्ता गठबन्धनको भोट एमालेको भन्दा निकै धेरै रहेको अनुमान गरिएको थियो ।

सुरुमा चितवन जिल्लाको क्षेत्र नं ३ ताकेका रवी लामिछाने अचानक क्षेत्र नं २ मा जानुको रहस्य पनि युवा सेन्टिमेन्ट तान्ने प्रयास नै हो । मओवादी केन्द्रले चितवन क्षेत्र नं ३ मा प्रचण्डको सट्टा ४१ वर्षीय डा. भोजराज अधिकारी अघि सार्नासाथ रवि लामिछाने यो क्षेत्र छाडेर क्षेत्र नं २ मा होमिनुभयो । किनकी चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसले ६८ वर्षीय व्यवसायी उमेश श्रेष्ठलाई अघि सारेको थियो ।

तनहुँ जिल्लाकै उदाहरण हेर्ने हो भने पनि सुरक्षित भनिएको क्षेत्र नं १ मा चुनाव जित्न कांग्रेसका वरिष्ठ नेता ८१ वर्षीय रामचन्द्र पौडेललाई हम्मेहम्मे प¥यो । तर, असुरक्षित भनिएको क्षेत्र नं २ बाट कांग्रेसका युवा नेता शंकर भण्डारीले निकै फराकिलो मत अन्तरले बाजी मार्नुभयो । एमालेको सुरक्षित भनिएको यो क्षेत्रमा नेकपा एमालेले ६८ वर्षीय किरण गुरुङ अगाडि सारेको थियो ।

कसकसको सकियो राजनीति ?

आम निर्वाचतनको मत गणना परिणाम करिब करिब अन्तिम चरणमा पुगेको छ । कैयौँ चर्चित अनुहार तथा प्रभावशाली नेताहरू पराजित भएका छन् । अनुमान नै नगरेका कैयौँले चुनाव जितेका छन् । तर लोकतन्त्रमा एकपटकको पराजय सधँैका लागि पराजय होइन । एकपटकको विजय सधँैका लागि विजय होइन । फेरि चुनाव आउँछ । जनताले फेरि मूल्यांकन गर्छन् । तर केही नेताहरूको पराजय भने राजनीति नै समाप्तीको कारण बन्छ ।

यसपटकको निर्वाचनले कुन कुन नेताहरूलाई राजनीतिबाट किनारा लगाइदिएको छ त ? चुनाव जित्ने कुन कुन नेताहरूका लागि यो चुनाव जीवनकै अन्तिम हो त ? भन्ने चर्चा यतिबेला हरेक चोक, चौतारी र चिया पसलमा सुरु भएको छ । ७० वर्षको उमेर नाघेका र पार्टीको नेतृत्वमा पुग्ने संभावना नभएका नेताहरू जसजसले चुनाव हारेका छन्, उनीहरूको राजनीति अब करिबकरिब समाप्त भएको छ ।

यसरी राजनीति समाप्त हुनेहरूमध्ये धेरैजसो नेपाली कांग्रेसका छन् । उदाहरणका लागि नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको राजनीति अब समाप्त भएको छ । ७४ वर्षीय सिटौला झापा क्षेत्र नं ३ बाट लगातार दोस्रोपटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको छ । पहिलो कुरा त अब नेपाली कांग्रेसभित्र पाँच वर्षका लागि सिटौलाको हैसियत समाप्त भएको छ । पाँच वर्षपछि प्रत्यक्ष चुनाव लड्न उमेरले पनि साथ दिँदैन ।

यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीको पनि राजनीति समाप्त भएको छ । ७१ वर्षीय केसी सोलुखुम्बुबाट लागातार दोस्रोपटक चुनाव हार्नुभएको छ । ०३६ साल यताका सबै आन्दोलनमा केन्द्रीय एक्सन कमिटीको संयोजकको जिम्मेवारी निर्वाह गर्नुभएका केसी शेरबहादुर देउवा सरहको उचाइ भएको नेता मानिनुहुन्छ ।

नेपाली कांग्रेसका नेता ७१ वर्षीय भीमसेनदास प्रधानको पनि राजनीति समाप्त भएको छ । नेपाली कांग्रेसका पूर्व कार्यवहाक सभापति गोपालमान श्रेष्ठको राजनीति पनि करिबकरिब सकिएको छ । ७९ वर्षीय गोपालमान श्रेष्ठ समानुपातिकको कोटामा उम्मेद्वार बन्नुभएको छ । तर, नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका महिला उम्मेद्वारले चुनाव नजितेका कारण गोपालमान श्रेष्ठ समानुपातिक सांसद बन्ने संभावना सकिएको छ । पाँच वर्षका लागि संसद् छिर्ने ढोका बन्द भएका कारण गोपालमान श्रेष्ठले पनि राजनीतिबाट विश्राम लिनुबाहेक अर्को विकल्प छैन ।

यता नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको राजनीति पनि करिबकरिब सकिएको छ । ६९ वर्षीय पोखरेल काठमाडौं क्षेत्र नं ५ बाट पराजित हुनुभएको छ । अब अर्को चुनावसम्म उहाँको उमेर ७४ वर्ष नाघ्ने छ । यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाको राजनीति पनि करिबकरिब सकिएको छ । राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा चुनाव हारेपछि पार्टी विभाजन गरी राप्रपा नेपालको अध्यक्ष बन्नुभएका थापा एमालेको चुनाव चिन्ह लिएर मकबानपुरबाट उम्मेद्वार बन्नुभएको थियो । तर उहाँ तेस्रो पोजिसनमा पुगेर पराजित हुनुभयो भने राप्रपाकै दीपक सिंहले चुनाव जित्नुभयो । राप्रपा नेपालका अध्यक्ष कमल थापा आफू एमालेको चुनाव चिन्ह लिएर उम्मेद्वार बन्नुभएको थियो भने आफ्ना पार्टीका अरू उम्मेद्वारलाई ‘तीर’ चुनाव चिन्हबाट निर्वाचन लडाउनुभएको थियो । राप्रपा नेपालका ५७ जना उम्मेद्वार मध्ये सय मत कटाउने हैसियत धेरै जसोको देखिएन ।

यसपटकको चुनावमा पराजय बेहोरेका अन्य चर्चित उम्मेद्वारहरूमा एमाले महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेत, विशाल भट्टराई, शेरधन राई लेखराज भट्ट, निरु पाल, गंगा चौधरी, अग्नि खरेल, कोमल वली, सर्वेन्द्र खनाल, सुरेन्द्र पाण्डे, नवराज सिलवाल, भानुभक्त ढकाल, लालबाबु पण्डितलगायत छन् । तर उमेर तथा भूमिकाका हिसाबले उनीहरूलाई अबको पाँच वर्षपछि पनि अवसर छ ।
यसैगरी माओवादी केन्द्रका ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाल लगायतका प्रभावशाली नेताहरूले पनि चुनाव हार्नुभएको छ । उहाँहरूका लागि पनि अवसर छ ।

एकीकृत समाजवादीका, विरोध खतिवडा, रामकुमारी झाँक्री, सोमप्रसाद पाण्डे, जगन्नाथ खतिवडा लगायतले पनि चुनाव हार्नुभएको छ । जसमध्ये सोमप्रसाद पाण्डेको राजनीति समाप्त भएको छ । मधेसवादी नेताहरूमध्ये जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका नेता लक्ष्मणलाल कर्ण, हृदयेश त्रिपाठी लगायतले पनि चुनाव हार्नुभएको छ । जसमध्ये ७८ वर्षीय नेता कर्णको राजनीति पनि समाप्त भएको छ । समय सधँै एउटै व्यक्तिको अनुकूल हुँदैन । उमेरले कसैलाई पनि साथ दिँदैन । जो ७० वर्ष नाघिसकेका छन् र यसपटक चुनाव हारेका छन्, उनीहरूका लागि अब सर्वोत्तम विकल्प भनेको राजनीतिक सुताइ हो ।

प्रतिक्रिया