इलाममा खनाल र नेम्बाङलाई विरासत जोगाउन मुस्किल

इलाम । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र पूर्वसंवधिान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई आफ्नो विरासत जोगाउन मुस्किल देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार खनाल र नेम्बाङलाई आफ्नो विरासत जोगाउन चुनौती देखिएको छ । ‘हेवीवेट’ नेताका रुपमा चिनिएका खनाल इलाम क्षेत्र नम्बर १ बाट र नेम्बाङ क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका छन् ।

सोमबारबाट सुरु भएको मतगणनामा खनालले एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतलाई सुरुवातदेखि नै पछ्याइरहेका छन् । यो समाचार तयार पार्दासम्म ३७ हजार ४८ गणना सकिएको छ । बस्नेतले १६ हजार पाँच सय ३३ मत प्राप्त गरेका छन् । गठबन्धनको समर्थन पाएका खनालले १३ हजार सात सय ६८ मतका साथ पछ्याईरहेका छन् ।

बस्नेत निर्वाचन जित्नेमा ढुक्क छन् । खनालको ३१ वर्षको विरासत तोड्ने दाउमा बस्नेत छन् । उता खनाल पनि आफ्नो पकड क्षेत्र भएको भनिएको सूर्योदय नगरपालिकाका अधिकाशं वडाहरुको गत गणना गर्न बाँकी रहेकाले अझै आशावादी छन् ।
खनालले जितेमा मात्र आफ्नो विरासत जोगिनेछ । सो क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ ।

खनालको यो संसदीय चुनावी यात्रा लगातार सातौं पटक हो । छैटौं पटक लगातार एमालेबाट उम्मेद्वार बन्दै आएका खनाल पटक भने नयाँ पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
खनालले यसअघिका छवटा चुनावमध्ये पाँच जित र एक हार व्यहोरेका छन् । खनालले २०४८, ०५१ र ०७४ को प्रतिनिधिसभा निर्वाचन एवम् ०६४ र ०७० को संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भई संसदमा प्रतिनिधित्व गरिसेकेका छन् ।

०४८ र ०५१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए । ०५१ मा खनालले भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट नेपाली कांग्रेसका वेनुपराज भट्टराईसँग पराजित भएका थिए ।
०६४ को संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका वेनुपराज प्रसाईलाई अघिल्लो हारको बदला लिदैं विजय हासिल गरे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गर्दै संसदमा चौथो पटक विजयी बनेका थिए ।

त्यस्तै ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्र कट्टेललाई पराजित गर्दै खनाल पाँचौं पटक निर्वाचित भएका थिए ।
उता क्षेत्र नम्बर २ मा पनि नेम्बाङको टक्कर कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कासँग पररिहेको छ । मतगणनाको सुरुमा खड्काले झिनो मतान्तरले अग्रता लिएपनि पछिल्लो पटक नेम्बाङले अग्रता बढाएका थिए । माङसेबुङ, चुलाचुली र फाकफोकथुम गाउँपालिका एवम् माई नगरको ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको मत गन्दा एक हजार सात सय ३४ मतान्तरले अघि रहेका खनाल इलाम नगरपालिकाको मतगणना सुरु भएपछि मतान्तर घट्न थालेको छ ।

अहिले नेम्बाङको मतान्तर एक हजार छ सय १० छ । नेम्बाङले २२ हजार चार सय ७९ मत प्राप्त गरेका छन् । गठबन्धनको समर्थन पाएका खड्काले २० हजार आठ सय ६९ मतका साथ पछ्याईरहेका छन् ।

नेम्बाङ खड्का विरुद्धको मतान्तर बढी रहेकाले जित आफ्नो पक्षमा पर्नेमा ढुक्क छन् । यता खड्का पनि इलाम नगरपालिका कांग्रसेको प्रभाव बलियो रहेकाले जित आफ्नो पक्षमा पर्नेमा बताउँदै आएका छन् ।

नेम्बाङले जितेमा मात्र आफ्नो विरासत जोगिनेछ । सो क्षेत्रमा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए ।

प्रतिक्रिया