के हो नयाँ पार्टीहरूको आर्थिक अवधारणा ?

एनपी रिजाल

सत्तामा पुगेका राजनीतिक पार्टीहरूले आर्थिक विकासका निम्ति काम गर्न नसकेको, मुलुकका भ्रष्ट्राचारको समस्या विकराल भएको, राजनीतिक अस्थिरताको समस्या व्यापक भएर जनता आजित भएको अवस्थामा मुलुकबाट भ्रष्ट्राचारको अन्त्य गर्छौं, आर्थिक विकासका क्रियाकलापलाई मुख्य प्राथमिकतामा राख्छौँ भन्ने नारा अगाडि सारेका हुन् । त्यही प्रश्न रवि लामिछानेको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी माथि पनि उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कुन आर्थिक सिद्धान्तलाई आत्मसात गर्दै आमजनता माझ आर्थिक विकास र सामाजिक रूपान्तरणका मुद्दाहरू राख्नसक्छ । सिंगो देशको नेतृत्व गर्ने अवस्थामा होस् या कुनै एउटा पालिकामा नेतृत्व गर्दाको अवस्था होस् त्यस ठाउँको आर्थिक क्रियाकलापको परिकल्पना गर्दा कुनै एक आर्थिक प्रणालीलाई आधार मान्नुपर्छ ।

नेपालको संघीय शासन प्रणालीमा राजनीतिक पार्टीहरू प्रतिनिधि सभा (केन्द्र), प्रदेशसभा (प्रदेश) र स्थानीय सरकार (गाउँ र नगरपालिका) मा हुने निर्वाचनमा सहभागी हुन्छन् । नगर वा गाउँपालिकाहरूको प्रमुख र उपप्रमुख पदको निर्वाचनमा उम्मेद्वार हुनका लागि पार्टीको मुख्य नेतृत्वकर्ताले निर्णायक भूमिका खेल्ने गरेको छ । स्थानीय कार्यकर्ताको चाहना र पार्टीको सिद्धान्त फेल खान्छ एउटा व्यक्तिको मनोदशा हावी हुन्छ ।

नेपालका ठूला राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी हुन या राष्ट्रिय प्रजातन्त्र पार्टी या दोस्रो जनआन्दोलनपछि चलेको पहिचानको लहरको उपजको रूपमा स्थापना भएका पहिचानवादी राजनीतिक पार्टीदेखि विवेकशील साझा पार्टी हुन या पत्रकार रवि लामिछानेको नेतृत्वमा भर्खर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी, सबै राजनीतिक पार्टीको उद्देश्य देशमा आर्थिक र सामाजिक रूपान्तरणका लागि काम गर्ने नै हो । यी सबै दलले चुनावका दौरान जनतामाझ आफ्ना आर्थिक विकासका योजनाहरू लिएर जान्छन् । चुनावको परिणाम पछि केही दलको पोेल्टामा सत्ताको टिकट हुन्छ भने धेरै राजनीतिक पार्टीका नेतृत्वकर्ताको हात रित्तो हुन्छ ।

राजनीतिक पार्टीहरूले आर्थिक विकासका प्रतिवद्धतापत्र निर्माण गर्दा कुनै न कुनै आर्थिक सिद्धान्तमा टेकेर निर्माण गर्नुपर्छ । आर्थिक सिद्धान्तहरूमा देशलाई पुँजीवादी खुल्ला अर्थतन्त्र भएको प्रणालीमा रूपान्तरण गर्ने या त समाजवादी अर्थतन्त्रमा रूपान्तरण गर्ने हो । तेस्रो विकल्प भनेको पुँजीवादी र समाजवादीको बिचको मिश्रित आर्थिक प्रणाली रोज्ने हो ।

पुँजीवादी आर्थिक विचारधारा भएको राजनीतिक पार्टीले सरकारको काम नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन गर्ने र जनताको सम्पत्तीको सुरक्षा गर्ने नीति लिन्छ र उत्पादनमा निजी क्षेत्रलाई अगाडि सार्छ । उत्पादनसँग सम्बन्धित सम्पूर्ण कार्यहरू उत्पादन, वितरण, विनिमय र स्रोत साधनसँगको पौँचमा निजीक्षेत्रलाई अगाडि सार्ने हो । आफू सत्तामा पुगेपछि निजी क्षेत्रलाई उत्पादनका साधनको जिम्मा दिने, आफू कानुन बनाउने र शासन गर्ने तहमा बस्ने हो । उसले अगाडि सारेको उदार आर्थिक नीतिले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई स्वदेशमा लगानी गर्न उत्प्रेरणाको काम गर्छ र देशका आर्थिक विकासले नयाँ गति लिन्छ ।

शुद्ध समाजवादी आर्थिक प्रणालीलाई मुख्य लक्ष्य राखेर राजनीति गर्ने पार्टीहरूले अगाडि सार्ने आर्थिक विकासका मुद्दाहरूमा उत्पादनका साधनहरूमा सरकारी स्वामित्व ज्यादा हुने र उत्पादन, वितरण र विनिमय प्रणालीमा सरकारको भूमिका उच्च हुन्छ । केही सीमित क्षेत्रमा मात्र निजी क्षेत्रलाई दायित्व दिइएको हुन्छ । समाजवादी आर्थिक सिद्धान्त बोकेका कम्युनिस्ट पार्टीहरूको अन्तिम सिद्धान्त देशलाई वर्गविहीन साम्यवादमा रूपान्तरण गर्ने हो । नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्धको दौरानमा साम्यवादको नारा अगाडि सारेको थियो ।

शान्तिपूर्ण राजनीतिक कालमा पनि केही नेताहरूले साम्यवादी आर्थिक सिद्धान्तको नारामा अडिग रहुँदा पार्टीबाट धेरै नेता अर्को पार्टी स्थापना गर्न थाले । नेपालका कम्युनिस्ट राजनीतिक पार्टीहरू पनि साम्यवादी आर्थिक प्रणाली तर्फको दिशामा रुचि राख्दैनन् । नेपाली कांग्रेसका नेता बिपी कोइरालाले पनि समाजवादी आर्थिक नीति लिँदै पार्टीको नेतृत्व गरेका थिए । बिपीको देहावसानपछि उनको समाजवादलाई धेरै नेताहरूले आफ्नो राजनीतिक उत्थानको भ¥याङ बनाए । चुनावी दौरानममा बिपीको समाजवादी आर्थिक नीतिको नारा उठान भए । समयान्तरका कारण नयाँ पुस्ताले बिपीको समाजवाद कहिलेकाहीँ सुन्दै आएको भए पुराना लाग्न थालिसकेको छ ।

आर्थिक क्रियाकलापको क्षेत्र व्यापक बन्दै गरेको र विश्वका ठूला अर्थतन्त्र भएका संयुक्त राज्य अमेरिका, रसिया, चीन, जापान आदि देशहरू अन्तरिक्षमा आर्थिक फड्को मार्न लाग्दै गरेको देखिरहेकाहरू युवाहरू वर्तमान सत्तामा पुगेर असफल भएका राजनीतिक पार्टीले विकल्प खोजिरहेका छन् । उनीहरूलाई आफ्नो पक्षमा पार्न नयाँ राजनीतिक पार्टीहरूले स्पष्ट आर्थिक खाका निर्माण गर्नुपर्छ ।

दोस्रो जनआन्दोलनपश्चात र संविधान सभाको दुई वटा चुनावको दौरानमा धेरै पहिचानको नाराका आधारमा आधारित भएर धेरै नेताहरूले मूलधारको राजनीतिक पार्टी (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी) परित्याग थरी नयाँ पार्टी स्थापना गरे । माओवादी पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईले देशमा नयाँ शक्तिको आवश्यक छ भनी नयाँ शक्ति पार्टीको स्थापना पनि गरे । त्यही बिचमा राजनीतिक पृष्ठभूमिभन्दा बाहिरबाट रहेको व्यक्तिहरूले देशमा अब नयाँ राजनीतिक पार्टीको विकल्पको खाँचो छ भनी स्थापना भएका राजनीतिक पार्टीहरूमध्ये विवेकशील र साझा पार्टीहरूमा न त समाजवादी आर्थिक विचार धारा थियो न त पुँजीवादी आर्थिक विचारधाराको दर्विलो पृष्ठभूमि नै थियो ।

उनीहरू वर्तमान सत्तामा पुगेका राजनीतिक पार्टीहरूले आर्थिक विकासका निम्ति काम गर्न नसकेको, मुलुकका भ्रष्ट्राचारको समस्या विकराल भएको, राजनीतिक अस्थिरताको समस्या व्यापक भएर जनता आजित भएको अवस्थामा मुलुकबाट भ्रष्ट्राचारको अन्त्य गर्छौं, आर्थिक विकासका क्रियाकलापलाई मुख्य प्राथमिकतामा राख्छौँ भन्ने नारा अगाडि सारेका हुन् । त्यही प्रश्न रवि लामिछानेको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी माथि पनि उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कुन आर्थिक सिद्धान्तलाई आत्मसात गर्दै आमजनता माझ आर्थिक विकास र सामाजिक रुपान्तरणका मुद्दाहरू राख्नसक्छ । सिंगो देशको नेतृत्व गर्ने अवस्थामा होस् या कुनै एउटा पालिकामा नेतृत्व गर्दाको अवस्था होस् त्यस ठाउँको आर्थिक क्रियाकलापको परिकल्पना गर्दा कुनै एक आर्थिक प्रणालीलाई आधार मान्नुपर्छ ।

नेपालले मिश्रित आर्थिक प्रणालीलाई अंगीकार गरेको छ । मिश्रित आर्थिक प्रणालीमा आर्थिक क्रियाकलापसँग सम्बन्धित, उपभोग, उत्पादन, विनिमय र वितरण प्रणालीमा निजी र सरकारी क्षेत्र एकआपसमा मिलेर काम गर्छन् । शुद्ध पुँजीवादी र समाजवादी आार्थिक प्रणालीबाट लिएका केही विशेषताहरूको व्यवहारिक सिद्धान्तको नै वर्तमान विश्वको विशेषता हो ।

सत्तामा आसिन राजनीतिक दलहरूको विकल्पको रूपमा उदाएका नयाँ राजनीतिक दलहरूमा निश्चित आर्थिक रूपान्तरणको भिजन आवश्यक छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको वकालत गर्दै आफूलाई जनतामाझ उभ्याइरहेको छ भने विवेकशील साझा पार्टीको नेतृत्वमा रहेका बेला रविन्द्र मिश्रले राजतन्त्रको परिकल्पना गरेका थिए । रविन्द्र मिश्रको राजतन्त्रको प्रस्ताव अगाडि सारेसँगै पार्टीभित्र ठूलो द्वन्द्व चल्यो । त्यही द्वन्द्वको कारण स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीले आमजनतामा छाप छोड्न सकेन भने रविन्द्र मिश्र त आफूले स्थापना गरेको पार्टीबाटै पलायन हुनुप¥यो ।

नेपालमा स्वतन्त्र व्यक्तिहरूले राजनीतिक पार्टी स्थापना गर्नुको पछाडि भारतमा आमआदमी पार्टीले पाएको सफलतालाई नेपाली माटोमा देख्न खोजेको पाइन्छ । वर्तमान चलायमान विश्व आर्थिक संरचनामा राजनीति पार्टीले सत्तामा पुग्नका लागि स्पष्ट आर्थिक नीति लिनु आवश्यक छ । विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव कायम गर्न चीनले बिआरआई अगाडि सारेको छ, संयुक्त राज्य अमेरिकाले एमसिसी अगाडि सारेको छ । छोटो अवधिमा नै आर्थिक विकासमा कायापलट गरेका देशका नेताहरूले पनि कुनै न कुनै लोकप्रिय आर्थिक विकासको नीति अगाडि सारेको पाइन्छ ।

प्रतिक्रिया