पारिश्रमिक घटाउँदै अक्षयकुमार

काठमाडौं । बलिउड आमिर खानको ‘लाल सिंह चड्ढा’ होस् या ठूलो बजेटको ‘शमशेरा’ आशा गरिएका केही बलिउड चलचित्र पछिल्लो समय असफल बने । यसो हुनुमा केहीले कोरोना कहरपछिको प्रभावलाई कारण बताइरहेका छन् । यस्तै, केहीले दक्षिण भारतीय चलचित्रको प्रभावकारी हस्तक्षेपलाई कारण मानेका छन् । कारण जेसुकै भए पनि अभिनेता अक्षयकुमार यी कुरामा विश्वास गर्दैनन् । बरु उनले केही बदल्न सकियो भने बलिउडको बढ्दो घाटालाई कम गर्न सकिन्छ । हालै, हिन्दूस्तान टाइम्सले आयोजना गरेको सम्मेलनमा अभिनेता अक्षयले हिन्दी चलचित्रले बक्स अफिसमा कमजोर कमाइ गरेकोदेखि दर्शकलाई हलसम्म तान्न असफल भएको बारेमा बोले ।

उनले बलिउडले आफूलाई बदल्नु जरुरी रहेको जिकिर गर्दै चलचित्र निर्माण र त्यसपछिको टिकटको मूल्य कम्तीमा ३० देखि ४० प्रतिशतले घटाउनुपर्ने सुझाव दिए । अभिनेता अक्षयकुमारले भने, ‘हामीले कतिपय कुरालाई भत्काउनुपर्छ र पुनर्संरचना गर्नुपर्छ । हामीले सबै कुरा फेरि सुरु गर्नुपर्छ ।’ उनले कलाकारले कम पैसा लिनुपर्ने, टिकटको मूल्य घटाउनुपर्ने र चलचित्र निर्माणमा आवश्यक रकम कम गर्नुपर्नेमा धारणा व्यक्त गरे । सो कार्यक्रममा बोल्दै उनले आफ्नो पारिश्रमिक पनि घटाउने बताए ।

यसअघि उनले सय करोडदेखि १ सय ३५ करोड भारुसम्म पारिश्रमिक लिँदै आएका थिए । उनले भने, ‘यदि दर्शक हलमा फर्किउन् भन्ने चाहन्छौं भने हामीले त्यो गर्नुपर्छ ।’ सन् २०२२ मा अभिनेता अक्षय कुमार अभिनीत चार चलचित्र सम्राट पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे र रामसेतु प्रदर्शनमा आए । यी चारै चलचित्रले बक्स अफिसमा औसतभन्दा कम कमाइ गरेका छन् । यस्तै, उनका बडे मिया छोटे मिया र सुरारई पोत्रु आगामी चलचित्र हुन् ।

प्रतिक्रिया