गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मंगलबार पुनः हुने

बुटवल । विवादका कारण स्थगित भएको गुल्मी जिल्लाको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ ।

गुल्मी जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको हो ।

आइतवार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो ।

स्थगित भएको मतदान केन्द्र बाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् ।

जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया