ठाउँठाउँमा हवाई फायर र आगजनी : प्रहरीको गोली लागेर एकको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव गराउने क्रममा आइतबार अवरोध सिर्जना भएपछि प्रहरीले देशभरका ११ जिल्लाका २४ वटा मतदानस्थलमा गोली चलाएको छ । मतपेटिका खोस्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा स्थानीय सञ्जिव ऐडीको मृत्यु भएको छ ।

ऐडी लगायतको समूहले मत पेटिका खोस्ने र प्रहरीमाथि नै ढुंगामुढा गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार, साँझ भएको झडपमा प्रहरी हवल्दार कृष्ण कँुवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याय र खडक अएडी छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी कार्कीका अनुसार, देशभरका ११ जिल्लाका २४ मतदानस्थलमा अवरोध सिर्जना भएपछि १ सय २९ राउन्ड हवाई फायर गर्नुपरेको थियो । मतदानका क्रममा सिरहाको मिर्चैया बडहरमालामा झडपको स्थिति भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो ।


चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको चितवन प्रहरीले जनाएको छ । उक्त मतदान केन्द्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा आफैँ आएर निर्वाचन बिथोल्न खोजेपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जानकारीे चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले दिए ।

यसैगरी दोलखाका सात ठाउँमा तनाव सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखा प्रहरीले जनाएको छ । दोलकाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलका अनुसार, गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २, कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ र १, जिरी नगरपालिका–९ मा प्रहरीले हवाई फायर गरेको हो ।


डिएसपी पौडेलका अनुसार, दोलखाकै तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाई फायर गरिएको थियो । कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा पनि गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो । हुम्लाकै मान्धारा मावि भकुण्डामा पनि हवाई फायर भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा झडपको स्थिति सिर्जना भएपछि प्रहरीले ७६ राउन्ड हवाई फायर गरेको थियो ।

डोटीको राधाकृष्ण मावि गोपाघाटमा चार राउन्ड फायर गरिएको प्रहरी मुख्यालयले जनाएको छ । मुख्यालयका अनुसार, दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको थियो ।

कतै विष्फोट, कतै मतपेटिका जलाइयो

मतदान हुँदै गर्दा सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विस्फोट भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विस्फोट हुँदा एक बालिका सामान्य घाइते भएकी थिइन् ।


यसैबीच, पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति श्रीजना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा एक व्यक्तिले आगजनी गरेका थिए । ७ सय २० मत खसेको उक्त मत पेटिकामा आगजनी गर्ने स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी बाजुरास्थित स्वामिकार्तिक खापर गाउँपालिकाको मतदान केन्द्रमा पनि मतपत्रमा आगजनी भएको प्रहरीले जनाएको छ । समानुपातिकतर्फको मतपत्रमा आगजनी गरेर भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया