रुकुममा ६४ जना कैदीबन्दीले गरे मतदान

रुकुम पूर्व । अस्थायी मतदान केन्द्रका रुपमा तोकिएको रुकुम पश्चिमको रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् ।

निर्वाचन आयोगले कारागारका कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्था गरेअनुसार कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका हुन् ।

कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ जना कैदीबन्दीहरुको मत खसेको छ । मतदान अधिकृत लक्ष्मण बिकका अनुसार ६६ जना कैदीबन्दीको नामावली रहेको भए पनि ६४ जनाको मात्र मत खसेको हो ।

नामावलीमा नाम समावेश भएकामध्ये दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेको बिकले बताए । कारागारमा रहेका कैदीबन्दीहरुले पालैपालो शान्तपूर्वक मतदान कार्यमा भाग लिएको मतदान अधिकृत बिकले जानकारी दिए । उनले पाँच महिला र ५९ पुरुषले मत खसालेको बताए ।

नामावली अनुसार कारागारमा भएका कैदीबन्दीहरुले मतदान सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

मतदान सम्पन्न भए पनि निर्वाचन आयोगले तोकेको समयअनुसार बेलुका पाँच बजेसम्म मतदान केन्द्रको मतपेटिका खुल्लै रहने छ । समय सकिएपछि मात्र बाकस बन्द हुने प्रजिअ घिमिरेले बताए । उनका अनुसार जिल्लाभर शान्तपूर्वक मतदान भइरहेको छ ।

रुकुम पश्चिममा १३९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्ये अन्तिम मतदाता नामावलीमा ६६ जनाको नाम समावेश रहेको थियो ।

अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया