बौलाहा कुकुरले टोक्दा ६ जना घाइते, कुकुर मारियो

रुकुम पूर्व । बौलाहा कुकुरले टोकेर जिल्लाको सिस्ने गाउँपालिका– ५ मा ६ जना घाइते भएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनको अवधीमा बौलाहा कुकरले टोकेर ६ जनालाई घाइते बनाएको छ ।

घाइते भएका सबैको रुकुम पुर्व अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी निरीक्षक सत्यकुमार बुढाथोकीले जानकारी दिए ।

घाइते हुनेमा ५ नम्बर वडाका ७ वर्षीय सुगम शाह, २६ वर्षीय पुर्ण बिसी, ५० वर्षीय धनबहादुर बिक, ७० वर्षीय टंकप्रसाद शर्मा, ४० वर्षकी पुतली दमाई रहेको रुकुम पूर्व अस्पतालकी ल्याब असिस्टेन्ट जीवन सुनारले जानकारी दिइन् ।

उनका अनुसार दाङ तुलसीपुरका ३८ वर्षीय वेदबहादुर विकलाई पनि सोही वडामा बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।

बौलाहा कुकुरलाई बुढाथोकीको कमान्डमा खटिएको सशस्त्र प्रहरी, गस्तीमा गएको नेपाल प्रहरी र स्थानीय युवाहरुको प्रयासमा नियन्त्रणमा लिएर मारिएको छ ।

गाउँमा भएका नागरिक र पशुचौपायालाई टोकेर आतंक मच्चाउन थालेपछि बौलाहा कुकुर मारिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए । उक्त कुकुरले दर्जनभन्दा बढी पशुचौपायालाई टोकेको स्थानीय बासीन्दाले जनाएका छन् ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया