उम्मेदवार रावलद्वारा प्रहरीबाटै असुरक्षित भन्दै जीवन रक्षाको माग

रुकुम पूर्व । रुकुम पूर्वबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार बनेका केशव रावलले जीवन रक्षाको माग गरेका छन् ।

शुक्रबार राति रावल बसेको चाइनिज होटेलमा प्रहरीले अनावश्यक छापा मारेको र निर्वाचन प्रचारको लागि उक्त होटल नजिक बनाइएको सम्पर्क कार्यालयको ब्यानर च्यातेको रावलले बताए ।

‘म प्रदेशसभा सदस्यको उम्मेदवार हुँ,’ रावलले भने, ‘रुकुमकोटमा कतै नभएको सुरक्षा छापा म बसेकै होटेलमा भयो, सम्पर्क कार्यालयको ब्यानर च्यातेर निकालियो ।’

रावलले आफू प्रदेशसभा सदस्यको उम्मेदवार भएकै कारण प्रहरी प्रशासनबाट असुरक्षित भएको र राज्यशक्ति आफू विरुद्धमा लागेको आरोप लगाए ।

उम्मेदवार रावलले वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारले राज्यशक्तिको दुरुपयोग गरेर अन्य उम्मेदवारहरुलाई आतंकित बनाएको आरोप लगाए ।

उनले सामाजिक सञ्जालमार्फत मतदाता र मानव अधिकारवादी संघ संस्थासँग जीवन रक्षा र अधिकार रक्षाको लागि अपिल गरेका छन् ।

यस विषयमा उता जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले छापा हान्ने र ब्यानर फाल्ने काम नभएको बताए । उनीहरु बसेको ठाउँमा जाँदा सामान्य विवाद भने भएको उनले बताए । यस विषयमा उनीहरुको प्रतिनिधिसहित छलफल हुँदै गएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बेलुका अबेरसम्म केही युवाहरुले होटलमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचनापश्चात् प्रहरी त्यहाँ पुगेर सम्झाई–बुझाई गर्न खोज्दा सामान्य विवाद हुन पुगेको सूचना आफूलाई आएको बताए । त्यस क्रममा होटेल नजिकै रहेको सम्पर्क कार्यालयका ब्यानरमा असर पर्न गएको हुन सक्ने प्रजिअ सुनुवारले बताए ।

मादक पदार्थ सेवन, बिक्रि र ओसारपसार कार्य पूर्णरुपमा रोक लगाइएको बेला होटेल व्यवसायीहरु र सेवनकर्ता समेतले अटेरी गर्न नहुने प्रशासनले जनाएको छ ।

उम्मेदवारको सुरक्षाको विषयमा आफुहरु सचेत रहेको र यस घटनाको विषयमा उम्मेदवारले आफूलाई जानकारी नगराएको प्रजिअ सुनुवारले बताए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया