संघर्षले आत्मनिर्भर बनेका खडक

धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका–८ बकन्डेका खडक सार्की उमेरले ३२ वर्षका भए । उनी फर्निचर सम्बन्धी काम गर्छन् । अहिले फर्निचर बनाउने मिस्त्री नै हुन खडक । लामो संघर्ष पछि उनी सिकर्मी भएका हुन । उनी अहिले फर्निचरको काम गर्नमा व्यस्त छन् ।

मुक्त हलिया परिवारका खडकले जीवनमा धेरै उतार चढाव भोगे । उनले गरिबीकै कारण पढाइ पनि पूरा गर्न पाएनन् । ‘हलिया मुक्ती पछि बुवाले ज्यालमजदुरी गरेर कमाएको दुई छाक खानलाई ठिक्क हुने’ उनले भने ‘पढ्नलाई खर्च नपुग्ने भएपछि बीचैमा पढाइ छोडे ।’ उनको पढ्ने उमेरमा घरको जिम्मेवारी थपिदै गयो । ‘म घरको जेठो छोरा भएकाले मेरो जिम्मेवारी बढ्न थाल्यो’ खडकले भने ‘बुवा आमाले मजुदुरी गरेर कमाएको पैसाले घर खर्च चलाउनै धौधौ पर्ने भयो’, पढाइ खर्च नपुग्ने भएपछि १० कक्षा पास गरेपछि काम गर्न सुरु गरे ।

खडकले भने ‘मैले आफ्नो पढाइ खर्च आफै निकाल्नु पर्ने अवस्था आयो त्यस पछि मैले एउटा फर्निचर उद्योगमा काम गर्न थाले’ । कक्षा ११ मा पढ्दा उनले पढाइ सकेर फर्निचरमा दिउँसो काम गर्न थाले । ‘विहान स्कुल जान्थे दिउँसो फर्निचरमा काम गरेर बेलुका घर आउँथे’ खडकले भने । यो क्रम उनको दुई वर्ष चल्यो, कामसँगै पढाइ हुन नसक्ने भएपछि १२ कक्षा नसक्दै पढाइ छोडेको उनी बताउँछन् । पढ्ने रहर कसलाई हुँदैन र तर खडकले पढ्ने उमेरमै काम गर्नु पर्ने बाध्यता आयो । ‘आमा बुवा पनि विस्तारै कमजोर बन्दै गए काम गर्न नसक्ने भए उनले भने त्यस पछि भाइबहिनी लाई समेत पढाउनु पर्ने जिम्मेवारी मेरै काँधमा आयो ।’

उनका संघर्षका दिन झन बढ्दै गए । उनले आफ्नो पढाइलाई बिट मार्नु पर्ने समय आयो । यसै बीचमा घरेलु तथा साना उद्योग कार्यालयबाट फर्निचर सम्बन्धि तालिम लिने अवसर पनि पाएको खडकले बताए । फर्निचरमा काम सिक्दै आएका खडक विस्तारै ज्यालामा काम गर्न थाले । खडकले भने ‘मैले २०७० सालदेखि ज्यालामा काम गर्न सुरु गरे ।’ खडक काम सिकेर फर्निचर बनाउने मिस्त्री बनिसकेका थिए । मिस्त्री बने पनि उनीसँग काम गर्ने औजारको भने कमी भयो । उनले भने ‘आफूसँग काम गर्ने औजार भएनन्,औजार बिनाको कामले सोचे जस्तो कमाइ नहुने भयो’ । उनले भने ‘आफूसँग काम गर्ने पर्याप्त औजार नहुँदा खासै राम्रो कमाइ गर्न सकिदैन थियो मैले मासिक १५ हजार जती कमाउँथे ।’

केही महिना अगाडि ELCA र लुथरन विश्व फेडेरेशन (LWF) नेपालको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले संञ्चालन गरेको साहस–२ परियोजनाबाट फर्निचरको काम गर्ने औजार पाएको बताए । उनले भने मैले ‘साहस परियोजनाबाट राउटर मेसिन, कटर लगायतका औजार पाए,त्यसपछि सहजरुपमा काम गर्ने वातावरण बन्यो’ । उनी भन्छन् ‘मेरो संघर्ष र साहसले आत्मनिर्भर बनायो ।’

खडकले भने ‘अहिले मैले सहजरुपमा काम गर्न पाएको छु,आफैले ठेक्कापट्टा लिएर पनि काम गर्ने वातावरण बन्यो’ । अहिले उनको कमाइ पनि राम्रै छ । उनले भने ‘अहिले महिनामा २५ हजारदेखि २७ हजारसम्म कमाउँछु’ । ८ जनाको परिवार रहेका खडक अहिले घर खर्च धान्न धेरै सहज भएको छ बताउँछन् । उनले भने अहिले दैनिक घर खर्च चलाउन भाइबहिनीको पढाइलेखाइ लगायतको खर्च धान्न सहज भएको छ ।

प्रतिक्रिया