बेहोस नपारी गरियो शल्यक्रिया

नयाँ दिल्ली । भारतको बिहारस्थित खगरिया जिल्लाको एक स्वास्थ्य केन्द्रमा २८ जना महिलालाई बेहोस नै नपारी शल्यक्रिया गरेको खुलासा भएको छ । यो शल्यक्रिया महिलामा गर्भ रोक्नको लागि गरिएको शल्यक्रिया अर्थात् स्थायी बन्ध्याकरण थियो ।

बीबीसी हिन्दीका अनुसार नोभेम्बर १५ मा यो शल्यक्रिया गर्दा धेरै महिला पीडाले चिच्याइरहेका थिए । खगरियाका डीएम आलोक रञ्जन घोषले बीबीसीसँगको कुराकानीमा भने, ‘सबै महिलाहरूलाई स्थानीय एनेस्थेसिया दिइएको थियो । यो स्ट्यान्डर्ड प्रोटोकल हो । यो शल्यक्रिया पनि स्थानीय एनेस्थेसिया दिएर गरिन्छ । तर कतिपयलाई यो पर्याप्त मात्रामा नदिएको जस्तो देखिन्छ ।

अर्थात् उनीहरुको शरीरलाई थप स्थानीय एनेस्थेसिया चाहिएको थियो त्यसैले उनीहरुलाई समस्या भयो । जुन २८ महिलाको शल्यक्रिया गरियो तीमध्ये धेरैलाई कुनै कम्प्लिकेसन भएन । हामीले सिभिल सर्जनलाई यसबारे रिपोर्ट दिन भनेका छौँ ।’

अर्कोतर्फ खगरियाका सिभिल सर्जन अमरनाथ झाले भने, ‘हामीसँग कुनै पनि प्रकारको शल्यक्रिया गर्न सक्ने विशेषज्ञ चिकित्सकको ठूलो अभाव छ । हामीले यो कुरा धेरै पटक उठाएका छौँ । यो सिभिल सर्जनको कर्तव्य हो । घटनाको छानबिन गर्नुहोस् र यदि कोही दोषी छ भने उसलाई कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया