काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनका स्थिर अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, आगामी चुनावका लागि मंसिर १ गते राती १२ बजेदेखि स्थिर अवधि सुरु भएको हो ।
स्थिर अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेद्वार वा कार्यकर्ताले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देशमार्फत स्थिर अवधिको बारेमा जानकारी दिएका छन् ।
स्थिर अवधि सुरु भएपछि राजनीतिक दल, उम्मेद्वार तथा दलका पदाधिकारीले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् । सञ्चार माध्यमले पनि प्रकारप्रसारका कुनै चुनावीसामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि स्थिर अवधि तोकिएको हो ।
मतदान नसकिएसम्म स्थिर अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थिर समय तोक्ने प्रचलन छ । स्थिर अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेद्वार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाविपरीत स्थिर अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेद्वारी रद्ददेखि एक लाख रुपैयाँसम्म जरिवानाको कारबाही हुनसक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ । स्थिर अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन ।
यसैगरी स्थिर अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । स्थिर अवधिमा अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न हुँदैन ।
यसैबीच, आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राती १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगका सहप्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिता बमोजिम स्थिर अवधि सुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेद्वारले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए ।
उनले आयोगले मंसिर १ गते राती १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेद्वारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेद्वारको पक्ष र विपक्षमा मत माग्न नपाउने बताए । भट्टराईले स्थिर अवधि सुरु हुनुअघि पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए ।
उनले उम्मेद्वार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता–२०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुने बताए । आयोगले राजनीतिक दल तथा उम्मेद्वारले सामाजिक सञ्जालमा पोस्ट गरेका प्रचार सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने पनि बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि नरहेको यसअघि नै बताएका थिए । मौन अवधि नराखिए पनि मतदानको ४८ घण्टा अघिदेखि कुनै पनि प्रकारको चुनावी प्रसारप्रचार गर्न नपाइने उनले बताएका थिए । मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई स्थिर अवधिका रुपमा व्यवस्थित बनाउने काम भइरहेको जानकारी पनि उनले दिए ।
यसैबीच, निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको बताउँदै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुनबमोजिम कारबाही हुने चेतावनी दिए ।
थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र गणना नहुने पनि बताएका छन् । उनले आफ्नो नाममा बाहेक अरूको नाममा मत हाल्न, पटकपटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न, जाली मतपत्रहरू ल्याएर मतपेटिकामा हाल्न र मतपत्रलाई बिगार्ने किसिमको कुनै पनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न नपाइने बताए । त्यस्तो गर्न खोजे कानुनबमोजिम कारबाही हुने चेतावनी पनि उनले दिए ।
‘निर्वाचन सफल पार्नु साझा दायित्व’
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको बताएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जहानियाँ राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको चरण पूरा गरिसकेको छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्नेछ ।’
उनले ०४६ सालपछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । ‘हाम्रा युवाहरू प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दैछन्, उनीहरूको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढनेछौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।
निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उनको भनाइ छ । उनले निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन पनि सबै मतदातालाई आग्रह गरेका छन् । उनले मतदानलाई लोकतन्त्रको उत्सवका रूपमा लिन पनि सबैसँग आग्रह गरेका छन् ।
मंसिर २२ अगावै परिणाम
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा मंसिर २२ गतेभित्र सबै निर्वाचन क्षेत्रको नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी भएको जानकारी दिए ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक मतसमेत गणना गरि विजयी हुनेहरूको नामावली मंसिर २२ गतेअघि नै तयार गरिनेछ । शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव गराउन आफू प्रतिवद्ध रहेको पनि उनले बताए । थपलियाले यसअघि गडबड देखिएका निर्वाचन क्षेत्रहरूमा हवाई गस्ती गरिने जानकारी पनि दिए ।
स्थिर अवधिमा घुम्ती टोली
निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ । आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरीलगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको जानकारी निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले दिए ।
‘मंसिर १ गते राती १२ बजेदेखि ४ गते मतदान नसकिँदासम्मको समय संवेदनशील मानिन्छ । त्यो बेलामा मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्नेलगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका थिए,’ उनले भने, ‘यी विषयमा स्थानीय सुरक्षाकर्मीसहित यहाँबाट पठाएको टोलीलेसमेत अनुगमन गर्नेछ ।’
उनका अनुसार, घुम्ती टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकारसमेत प्रयोग गर्नेछ । ‘अति संवेदनशील ठाउँहरू र हिजो विभिन्न कालखण्डमा भौगोलिक विकटता भएको ठाउँमा उहाँहरूलाई सम्पूर्ण अधिकार दिएर पठाउनेछौँ,’ पौड्यालले भने, ‘शान्ति सुरक्षा भंग गर्ने प्रयास भएमा गोली चलाउनसमेत आदेश दिनसक्ने गरी अधिकार प्रत्यायोजन भएको छ ।’
मौन अवधिमा गैरकानुनी र आचारसंहिता विपरीत काम गरेमा तत्काल कारबाही गर्न पाउने गरी घुम्ती टोली खटाउन लागिएको बताइएको छ । घुम्ती टोली काठमाडौं, ललितपुर महानगरपालिकालगायत सुगम र तुलनात्मक रूपमा शान्तिसुरक्षा भएको ठाउँमा जाने भने छैन ।
दुर्गम क्षेत्र, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरूलाई समेट्ने गरी घुम्ती टोली खटाउने तयारी भएको जानकारी उनले दिए । सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कनु भनी त्यो टोलीलाई म्यान्डेट दिइने आयोगले जनाएको छ ।
जवाफदेहीपूर्ण तरिकाले निर्वाचन गराउन आग्रह
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) ले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन इमान्दारी, जिम्मेवारी तथा जवाफदेहीपूर्णरूपमा सम्पन्न गराउन आग्रह गरेको छ । नियोगले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र उम्मेदवारलगायत सबैमा उक्त आग्रह गरेको हो ।
नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिँदै निर्वाचनबाट बन्ने भोलिको सरकारले देशको विकास र स्थायित्व दिनसक्ने हुनुपर्ने बताए । नियोगले गत असोजको अन्तिम सातादेखि नै निर्वाचनको पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ जिल्लामा तालिम दिएर पर्यवेक्षक खटाएको छ ।
नियोगले दीर्घकालीन पर्यवेक्षणको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाचनमा हिंसा तथा सुरक्षा लगायतका विषयमा नेपालमा पहिलोपटक एपोलो दु्रत रिपोर्टिङ प्रणालीको प्रयोग गरेको जनाएको छ ।
नियोगले ७७ जिल्लामा करिब २ हजार छोटो अवधिका लागि पर्यवेक्षक तयार गरेको छ । तीमध्ये १ सय ५० राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्रमा लक्षित गरेर तयार गरेको नियोगले जनाएको छ । नियोगले पर्यवेक्षक प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यफरक बनाउन राष्ट्रियस्तरको ‘डाटा सेन्टर’ स्थापना गरेर काम गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया