भारतबाट नमुना मतपत्र !

काठमाडौं । भारतबाट नमुना मतपत्र भित्राउँदै गरेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधबार पर्साको सीमावर्ती गाउँ जानकी टोलबाट भारतीय नागरिक इजाजत अहमदलाई नियन्त्रणमा लिएको हो ।

बोराभित्र राखेर मोटरसाइकलमा ल्याउँदै गर्दा प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा मतपत्र फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश बस्नेतले दिए । भारत विहार घर भएका अहमद सवार भारतीय नम्बर प्लेटको बिआर २२ डब्लु ८००२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसपी बस्नेतका अनुसार, अहमदको साथबाट १५ हजार थान मतपत्र बरामद भएको छ । भारतमा छापिएको नमुना मतपत्र नेपाल भित्राउनु गैरकानुनी रहेकाले मतपत्रसहित अहमदलाई पक्राउ गरिएको जानकारी एसपी बस्नेतले दिए ।

कुन दल वा कुन उम्मेद्वारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् भन्ने विषियमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छ । प्रारम्भीक वयानमा अहमदले नेपालमा भन्दा भारतमा मतपत्र छपाइ सस्तो हुने भएकाले आफूले नेपाल ल्याएको बताएका छन् ।
‘निर्वाचन आयोगले शिलबन्दी गरेका मतपत्रबाहेक अन्य मतपत्र निर्वाचन स्थलमा पुग्न दिँदैनाँै,’ एसपी बस्नेतले भने, ‘मतदान कसरी गर्ने भनेर सिकाउन कुनै दलले पर्सा भित्राएको हुनसक्ने आँकलन हामीले गरेका छौँ ।’ उनले निर्वाचनको मुखमा पर्सा भित्रिने सबै सीमा नाकामा कडाइ गरिएको बताए ।

सीमा नाका कडाइ गरेकै कारण मतपत्रसहित अहमदलाई पक्राउ गरिएको बस्नेतले बताए । प्रहरीले मतपत्र बरामद गरेपछि बुधबार साँझ अहमदलाई छाडेको छ । मतदातालाई मतदान गर्न सिकाउने अभिप्रायले उक्त मतपत्र नेपाल ल्याएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया