काठमाडौं । काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन मंसिर ४ गते बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
यद्यपि, निर्वाचन आयोगबाट सवारी साधन सञ्चालनसम्बन्धी जारी मापदण्ड अनुसारका अनुमति प्राप्त सवारी साधनलाई भने सञ्चालनमा नरोक्ने निर्णय बैठकले गरेको छ । आयोगले यसअघि नै अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारी साधनका लागि पास आवश्यक नपर्ने जनाइसकेको छ ।
बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र बोकेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पास आवश्यक नपर्ने आयोगले बताएको छ । खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार र केवल सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पनि पास आवश्यक पर्दैन ।
आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता र अनुगमनकर्ताको सवारी साधनले पनि पास लिनु पर्दैन । फोहोरमैला ओसारपसार गर्ने सवारी साधन र विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटको सवारी साधनले पनि पास लिनु पर्दैन । सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरूमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनलाई पनि पास आवश्यक छैन ।
सूचना तथा प्रसारण विभाग, प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण अथवा त्यस्तै प्रकृतिको नियामक निकायले जारी गरेको प्रेस पास, प्रचलित कानुन बमोजिम स्थापना भएर प्रेस काउन्सिलमा दर्ता भई सूचीकृत भएका सञ्चार निकायको परिचयपत्रको आधारमासमेत सवारी साधन सञ्चालन गर्न पाइनेछ । पूर्ण अपांगता भएका वा ‘क’ वर्ग र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूको हकमा पनि अवधि कायम रहेको परिचयपत्रको आधारमा सवारी साधन प्रयोग गर्दा अनुमति आवश्यक छैन ।
‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७९ मंसिर ४ गते विहान ४ बजेदेखि मतदान कार्य सम्पन्न भएपश्चात बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारी साधनहरू बाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी आवागमनमा रोक लगाइएको छ । यो सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले मदिरा विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । निर्णयअनुसार मंसिर १ गतेदेखि मतदानको दिन मंसिर ४ गते मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा विक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना हुने स्थानको आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।
प्रचार सामग्री हटाउन निर्देशन
निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगका सहप्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिता बमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेद्वारले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए ।
उनले आयोगले मंसिर १ गते राती १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेद्वारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेद्वारको पक्ष र विपक्षमा मत माग्न नपाउने बताए । भट्टराईले स्थिर समय सुरु हुनुअघि पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए ।
उनले उम्मेद्वार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता–२०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुने बताए । आयोगले राजनीतिक दल तथा उम्मेद्वारले सामाजिक सञ्जालमा पोस्ट गरेका प्रचार सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने पनि बताएको छ ।
यसैबीच, निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको बताउँदै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनी दिए ।
थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र गणना नहुने पनि बताएका छन् ।
उनले आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटकपटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न, जाली मतपत्रहरू ल्याएर मतपेटिकामा हाल्न र मतपत्रलाई बिगार्ने किसिमको कुनै पनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न नपाइने बताए । त्यस्तो गर्न खोजे कानुन बमोजिम कारबाही हुने चेतावनी पनि उनले दिए ।
प्रतिक्रिया