‘नमुना मतदानमा औँठा छाप’

खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आउन पाँच दिन मात्र बाँकी छ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । यसअघि संघीय संसद्कै निर्वाचन ६ पटक भइसकेको छ ।

यसका अतिरिक्त दलहरू पनि मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । उनीहरूले पनि मतदातालाई मत खसाल्न सिकाउला नै ! यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त झन चार वटा मतपत्र प्रयोगमा ल्याइने भएको छ ।

यसै परिवेशमा देशभर नमुना मतदान हुँदै आएको छ । मतदातालाई मतदान गराउन सिकाउने र सकेसम्म कमभन्दा कम मतपत्र बदर होस् भन्ने उद्देश्यले नमुना मतदान गराइएको हो । तर, देशव्यापी रूपमा हुँदै आएको नमुना मतदानको नतिजा पनि सन्तोषजनक देखिँदैन ।

जिल्ला निर्वाचन कार्यालय खोटाङले मंगलबार नौ वटा स्थानीय तहमा नमुना मतदानको आयोजना गरेको छ । १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ माटिकोरे खेलमैदानमा नमुना मतदान गरिएको हो ।

नमुना मतदानका क्रममा एकभन्दा बढी चुनाव चिन्हमा मत संकेत गर्ने, दुई वा दुईभन्दा बढी चुनाव चिन्हको बीचमा मत संकेत गर्ने, औँठा छाप लगाउने, चुनाव चिन्हको घेराभन्दा बाहिर मत संकेत गर्ने गरेको पाइएको छ ।

‘मतदातालाई सुसूचित गर्ने, मतदाता शिक्षा विस्तार गर्ने, मतदानका क्रममा आइपर्ने समस्या तथा चुनौतीको उचित विधिबाट हल गर्ने अभ्यासका रूपमा नमुना मतदान आयोजना गरिएको हो । तर, नमुना मतदानका क्रममा धेरै मतपत्र बदर भएको पाइएको छ’, जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले भने ।

मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजनाअन्तर्गत निर्वाचन कार्यालयले कात्तिक २० गतेदेखि स्थानीय तहका केन्द्रमा नमुना मतदान सञ्चालन गर्दै आएको हो । हालसम्म बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान भइसकेको छ ।

बाँकी रहेको हलेसी तुवाचुङ नगरपालिकामा बिहीबार नमुना मतदान गरिने गौतमले बताए । जिल्ला निर्वाचन कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । तर, नमुना मतदानका क्रममा देखिएको बदर मतको संख्याले मतदाता शिक्षाको आवश्यकता खड्किएको देखाएको छ ।

‘सदरमुकाम क्षेत्रभन्दा अलि टाढाटाढाका गाउँमा मत बदर बढी देखियो, तर मतदान गर्न सिक्नुपर्छ भनेर चासो राख्ने धेरै देखियो,’ गौतमले भने, ‘स्थानीय तहमा सात वटा चुनाव चिन्हमा मत संकेत गर्ने व्यवस्था थियो, त्यही सम्झिएर हुन सक्छ अहिले पनि बढी चिन्हमा मत संकेत गरेको पाइएको छ ।’

आसन्न निर्वाचनका लागि खोटाङमा १ सय ३६ मतदान स्थल, १ सय ९४ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मंगलबारदेखि निर्वाचन सामग्रीसहितका कर्मचारी मतदान केन्द्र पठाउन सुरु गरिएको छ ।

आगामी निर्वाचनमा जिल्लाका १ लाख ४२ हजार ७ सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताएका छन् ।

प्रतिक्रिया