उत्साही छन् नयाँ मतदाता

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदो छ । यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थुप्रै नयाँ मतदाता पनि थपिएका छन् । पहिलोपटक मतदान गर्ने मौका पाएका मतदाता आगामी मंसिर ४ गते हुने निर्वाचनलाई निकै लिएर उत्सुक देखिएका छन् ।

पहिलोपटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो कि भन्ने डर पनि नयाँ मतदातामा रहेको पाइएको छ । तर, शिक्षित र जागरूक भएको हुनाले आफूले इच्छा गरेको उम्मेद्वारलाई खसालेको मतको सही सदुपयोग हुनेमा अधिकांश नयाँ मतदाता ढुक्क देखिन्छन् ।

विराटनगर–४ कञ्चनबारी बस्ने नर्सिङ दोस्रो वर्षकी विद्यार्थी १९ वर्षीया विजेता दाहाल पनि पहिलोपटक मतदान गर्दैछिन् । उनी मंसिर ४ गते हुने मतदानमा भाग लिन आतुर देखिएकी छन् । चार मतपत्रमा छाप लगाउनुपर्ने भएकाले कतै अलमलमा परिने हो कि भन्ने चिन्ता पनि उनमा छ । मतपत्रमा छाप कसरी लगाउने र मतपेटिकामा मतपत्र पट्याएर कसरी खसाल्ने भन्ने बारेमा आफ्नी आमासँग सिकेको उनले बताइन् ।

विराटनगर महानगरपालिका–२ बस्ने २० वर्षीया सुशीला विसुङ्ले पनि मतदानलाई लिएर आफू निकै उत्सुक रहेको बताइन् । उनले नअत्तालिकन कुनै गल्ती नगरी मतपत्रमा छाप लगाउने र मत खसाल्नेमा आफू ढुक्क रहेको बताइन् । पहिलोपटक मतदानमा भाग लिए पनि त्रुटीरहित मतदान गर्न आफूमा आत्मविश्वास रहेको उनी बताउँछिन् ।
यसैगरी ग्रामथान गाउँपालिका–२ झोराहाट निवासी २० वर्षीया अनिषा बराइलीले पहिलोपटक मतदानको मौका पाउँदा खुसी लागेका बताइन् । उनले मत कसरी खसाल्ने भनेर अलि–अलि डर लागेको पनि बताइन् । उनले समाजमा पिछडिएर रहेका समुदाय र वर्गको विकासमा लागिपर्ने उम्मेद्वारलाई आफ्नो पहिलो मत खसाल्ने दाबी गरिन् ।

विराटनगर–३ कानुन क्याम्पसनजिकै घर भएका प्रेम घिमिरे पनि पहिलोपटक मतदानमा आफूले दिएको मत खेर नजाओस् भन्नेमा सजग देखिन्छन् । आफूभन्दा उमेरले धेरै पाका उम्मेद्वार घरैमा आएर हात जोडेर मत मागेको देख्दा रमाइलो लागेको घिमिरेको भनाइ छ । घिमिरेले मतदाता शिक्षालाई बृहत् र व्यापक बनाएको खण्डमा आफूजस्तो पहिलोपटक मत खसाल्ने मतदाता पनि मतदान प्रक्रियाका बारेमा पूर्ण जानकार हुने बताए ।

मोरङमा ३ सय ६ मतदानस्थलका लागि ८ सय ३९ मतदान केन्द्र स्थापना गरिएको छ । मोरङमा ३ लाख ७४ हजार ३ सय २६ पुरूष, ३ लाख ६१ हजार १ सय ९३ महिला र अन्य ६ गरी कुल ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेका छन् ।

प्रतिक्रिया