निर्वाचनलाई भयरहित बनाउन आयुक्त तुलाधरको निर्देशन

लमजुङ । निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले मंसीर ४ गते हुने निवार्चन भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । आइतबार लमजुङको वेशीशहरमा आयोजित प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ मतदान अधिकृत तथा सहायक अधिकृतको लागि सञ्चालन गरिएको एक दिने तालिकमको उद्घाटनका क्रममा तुलाधरले यस्तो निर्देशन दिएकी हुन् ।

तुलाधरले देशका एक सय ६५ क्षेत्रमा रहेका मदान केन्द्रहरुमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने अपेक्षा आयोगले गरेको बताइन् । मताधिकार सुनिश्चित गर्न मतदान व्यवस्थापनका लागि हरेक मतदान केन्द्रलाई अपाङग मैत्री, जेष्ठ नागरिक मैत्री, लैंगिक मत्री बनाउन आयोगले निर्देशन गरेको उनले बताइन् ।

निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, मतदाता सबैले कानुनको पालना गर्नुपर्नेमा उनले जोड दिइन् । साथै निर्वाचनको क्रममा मतदान केन्द्रमा हुने त्रुटीको भागिदार स्वयम् कर्मचारी हुनु पर्ने तुलाधरले चेतावनी दिइन् ।

प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यको अध्यक्षता भएको कार्यक्रममा, लमजुङका मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनाल, सुरक्षा प्रमुखहरु लगायतको सहभागीता थियो । सो एक दिने तालिममा जिल्लाका एक सय २८ मतदान स्थलका एक सय ८६ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु सहभागी भएका थिए ।

लमजुङको प्रदेश क मा ६३ हजार ५ सय ७५ मतदाता र प्रदेश ख ६९ हजार ९ सय ८४ मतदाता गरि कुल एक लाख ३३ हजार ५ सय ५९ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया