सीप सिकेर स्वरोजगार बनेका गुमानी

धनगढी । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको तुफानडाँडा बजारमा एउटा घरमा प्लम्बीङको काम गर्नमा व्यस्त थिए गुमानी सार्की । जिल्लाको अजयमेरु गाउँपालिका-२ हाट घर भएका गुमानी प्लम्बिङको काम गर्छन । उनलाई कामको व्यस्तताले अहिले अरुसँग कुराकानी गर्ने फुर्सद पनि खासै छैन । प्लम्बिङबाट राम्रो आम्दानी पनि गरिरहेका छ्न उनले ।

अनेकौं समस्यासँग जुझ्दै यहाँसम्म आइपुगेका उमेरले ४२ वर्षीय गुमानी मुक्त हलिया परिवारका हुन । २०६५ मा हलिया प्रथा त अन्त्य भयो तर हलियाको गरिबी भने अन्त्य भएन । त्यही गरिबीकै कारण गुमानीले जीवनका विभिन्न समयमा धेरै समस्या झेल्नु पर्यो। गुमानीले भने ‘हलियाबाट मुक्ति त मिल्यो समस्याबाट मुक्ति मिलेन’ । ‘न आफूसँग जग्गा जमीन थियो न त घर’ उनले भने ‘राष्ट्रिय मुक्त हलिया समाज महासंघले जग्गा खरिद गरेर घर त बनाइ दियो तर आफ्नो जग्गा नभएका कारण खाने गुजारा गर्न धौधौ पर्न थाल्यो ।’

परिवारको गुजारा चलाउन उनले मजदुरी गर्थे । उनले थपे ‘गुजारा चलाउन ज्यालादारी काम गरेर त्यसले पनि खान लाउन धौधौ पर्थ्यो त पर्थ्यो नै त्यसैमा कहिले काम गरेको पैसा नदिएर ठेकेदार भाग्ने गर्थे ।’ मजदुरीले परिवारको खर्च चलाउन समस्या पर्न थाल्यो उनले भने । त्यसपछि गुमानीमा केही न केहि सीप सिकेर आत्मनिर्भर हुने काम गर्नुपर्छ भन्ने मनसाय आयो । मनसाय आएर मात्रै भएन सीप सिक्न पैँसा चाहिने भयो आफै पैँसा खर्च गरेर सीप सिक्ने उनको क्षमता थिएन ।

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनको सीप सिक्ने इच्छा एउटा गैरसरकारी संस्थाले पूरा गरिदियो । उनले भने ‘केयर नेपाल र आस्था कार्यक्रमले मलाई २०६५ सालतिर प्लम्बिङको तालीम दियो, त्यसपछी मैले नेपालगञ्जबाट ३ महिना तालीम गरेर आए ।’

तालिम गरेपछि प्रमाणपत्र त गुमानीले पाए काम गर्ने औजार पाएनन् । उनी फेरि समस्यामा परे । उनले भने ‘काम गर्ने औजार किन्न पैँसा भएन सीप सिकेर पनि अरुसँगै काम गर्नु पर्ने भयो ।’ अरुको मातहतमा रहेर उनले ज्यालादारीमा काम गर्न थाले । ज्यालादारीमा काम गर्दा दिनमा ५००/६०० रुपैयाँ आउने भयो त्यसले घरखर्च धान्न मुस्किल हुन्थ्यो गुमानीले भने । उनी आफैं प्लबिङको काम गर्ने औजार खरिद गरेर काम गर्न चाहन्थे ।

उनको त्यो इच्छा अहिले आएर पूरा भएको छ । गुमानी अहिले आफ्नै काम गर्ने औजार लिएर काम गर्न थालेका छ्न । केही महिना अगाडि ELCA र LWF को आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालद्वारा संचालित साहस-२ परियोजनाले २७ हजार बराबरको प्लम्बिङको काम गर्ने औजार दिएको उनले बताए ।
लामो समयपछि उनको आत्मनिर्भर भएर काम गर्ने सपना पूरा भयो । ‘अहिले साहस परियोजनाबाट पाएको सामाग्रीले काम गर्न धेरै सजिलो भएको छ’ गुमानीले भने ‘अहिले त कमाई पनि राम्रो छ दिनमा एक हजारदेखि पन्ध्र सय सम्मको कमाइ हुन्छ ।’

अहिले घर व्यवहार चलाउन सहज भएको छ उनले भने । अहिले उनी आफू मात्रै स्वरोजगार भएका छैनन् दुई/ तीन जनालाई रोजगारी पनि दिएका छ्न । उनले भने अहिले मसँग २/३ जनाले काम गर्छ्न,आफ्नो पनि कमाइ राम्रो छ अरुलाई पनि काम दिन पाएको छु । ५ जनाको परिवार भएका गुमानी अहिले घरखर्च चलाउन समस्या नहुने बताउँछन् । कामका लागि अहिले त जिल्लाभित्र मात्र होइन जिल्ला बाहिर पनि जान्छु गुमानीले भने । नेपाल सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गरेपनि हलियाको उचित व्यवस्थापन नहुँदा धेरै मुक्त हलियाले अझैसम्म पनि समस्या भोग्नु परेको छ ।

प्रतिक्रिया