काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उमेदवारहरुलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुका कुनै पनि उमेदवार पराजित हुन नदिनका लागि बागी उमेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए ।
बैठकले बागी उमेदवारहरुलाई निस्क्रिय पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरुलाई पुनः ध्यानाकर्षणसमेत गराएको छ ।
‘जहाँ गठबन्धनको विरुद्ध गठबन्धनको उमेदवारी छ । त्यसलाई निस्क्रिय गराउनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरिएको छ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समितिका सदस्य आचार्यले भने, ‘र, त्यसका लागि आवश्यक्ताअनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ ।’
बैठकमा नेकपा (एमाले) नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उलंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।
प्रतिक्रिया