आधा दर्जनलाई ५ देखि २५ हजारसम्म जरिवाना

आचारसंहिता पालना गराउन आयोगको कडाई

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेविरुद्ध कडाई गर्दैै गएको छ । आयोगले शनिबार मात्र आधा दर्जन जनप्रतिनिधि र उम्मेदवारलाई ५ देखि २५ हजारसम्म जरिवाना गरेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई ५ हजार जरिवाना लगाएको छ । आचारसंहिताविपरीत आफ्नो नाम अंकित सर्ट प्रयोग गरेको भन्दै आयोगले उनलाई ५ हजार जरिवाना लगाएको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा उम्मेदवार बमले निर्वाचन चिह्न अंकित टिसर्ट प्रयोग नगरिएको तर समर्थकहरूले टिसर्ट प्रयोग गरेको जवाफ दिएका थिए । उक्त जवाफ चित्तबुझ्दो नभएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

यस्तै आयोगले बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार जरिवाना लगाएको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै आयोगले उनलाई जरिवाना लगाउने निर्णय गरेको हो । आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्चबाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालय कलैयालाई लेखी पठाउने निर्णय गरेको छ ।

त्यसैगरी आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई ५ हजार जरिवाना लगाएको छ । दलको प्रचार प्रसार गरेको भन्दै उनलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । वस्तीलाई विभागीय कारबाही गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई निर्देशन दिएको छ । कारबाही गरेको जानकारी उपलब्ध गराउन आयोगले भनेको छ ।

अछामको राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई ५ हजार जरिवाना गरिएको आयोगले जनाएको छ । एमालेको चुनाव प्रचार गरेको भन्दै उनलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । आयोगले प्रधानाध्यापक कुवँरलाई विभागीय कारबाही गर्न पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई भनेको छ ।

सिरहाको जनता आधरभूत विद्यालयका शिक्षक जिवछ यादवलाई ५ हजार जरिवाना आयोगले लगाएको छ । उनले पनि दलको प्रचार प्रसार गरेको भन्दै आयोगले ५ हजार जरिवाना लगाएको हो । शिक्षक यादवलाई पनि विभागीय कारबाही गर्न आयोगले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई भनेको छ । यसअघि आयोगले काठमडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना लगाएको थियो ।

प्रतिक्रिया