काठमाडाैं । निर्वाचन आयोगले चुनावका लागि निर्वाधरुपमा चल्न पाउने सवारी साधनबारे जानकारी दिएको छ । आगामी ४ मंसिरमा चुनाव हुँदैछ । सो दिन सार्वजनिक तथा निजी यातायात सेवा भने बन्द हुनेछ । त्यस दिन अत्यावश्यक सेवाका सवारीसाधनहरू भने चल्न पाउनेछन् । आयोगका अनुसार त्यसदिन बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, दूध बोक्ने सवारी साधन चल्न पाउनेछन् ।
यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन पनि चुनावका दिन चल्न पाउनेछन् ।
दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन पनि चल्न पाउनेछन् ।
यस्तै कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन पनि चल्न पाउनेछन् ।
प्रतिक्रिया